सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • दाप्चाको सास्कृतिक विकासको लागि मन्त्री श्रेष्ठको प्रतिवद्धता

दाप्चाको सास्कृतिक विकासको लागि मन्त्री श्रेष्ठको प्रतिवद्धता

4225
Shares
दाप्चाको सास्कृतिक विकासको लागि मन्त्री श्रेष्ठको प्रतिवद्धता

काभ्रे : नमोबुद्ध नगरपालिकाको माथिल्लो भेग दाप्चा क्षेत्रको सास्कृतिक र पर्यटकीय विकासको लागि वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नमोबुद्ध नगरपालिकाको निमन्त्रणामा कृष्णजन्माष्टीको रथ यात्रा र भिमसेन जात्रा अबलोकन गर्न आएका मन्त्री श्रेष्ठले पर्यटकीय र सास्कृतिक सम्पदाले भरिपुर्ण ऐतिहासिक नगरी दाप्चाको विकासको लागि आफू र प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । ‘यसअघि पनि प्रदेश सरकारले दाप्चा कोटकालिका मन्दिर क्षेत्रमा केही पूर्वाधारको लागि सहयोग गरेको थियो,’ उहाँले भन्नुभयो, ‘अब पनि विभिन्न क्रमागत योजना मार्फत यो क्षेत्रको धार्मिक, सास्कतिक, पर्यटकीय क्षेत्रको विकासको लागि म आफू र प्रदेश सरकार प्रतिवद्धता व्यक्त गर्दछु ।’

नगरप्रमुख कुन्साङ लामाले आफूले सपथ ग्रहण गरेको भोलिपल्ट हेटौंडा पुगेर संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठलाई भेटेर दाप्चामा पर्यटन क्षेत्रको विकासको लागि प्रस्ताव पेश गरेको जानकारी दिनुभयो । ‘नगरप्रमुख पदमा सपथ ग्रहण गरेको भोलिपल्ट नै म हेटौंडा पुगेर मन्त्रालयमा दाप्चा क्षेत्रको विकासको लागि योजना पेश गरेका हौं,’ नगरप्रमुख लामाले भन्नुभयो, ‘सबै तह, क्षेत्रको सहयोगमा दाप्चा क्षेत्रको सास्कृतिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकासको लागि नगर प्रतिवद्ध छ ।’

काठमाण्डौँबाट नजिक रहेको दाप्चामा प्रशस्त पर्यटकीय सम्भावना छन् । पुरानो ऐतिहासिक सम्पदाले भरिपुर्ण दाप्चामा विभिन्न कलात्मक घर, मठमन्दिर समेत छन् । पर्यटकीय क्षेत्र नमोबुद्ध हुँदै पुगिने दाप्चालाई पर्यटकीय क्षेत्र बनाउन कोटकालिका एकिकृत विकास तथा मन्दिर सरक्षण समिति समेत गठन भएको छ । यहाँका युवाले पनि यस क्षेत्रको पर्यटकीय विकासको लागि योजना बनाइरहेका छन् ।

मन्त्री श्रेष्ठले दाप्चा तल्लो हटिया र माथिल्लो हटियामा हुने कृष्णरथ यात्रा र भीमसेन जात्रा समेत अवलोकन गर्नुभयो । उहाँले जात्राको निरन्तरताको लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।

चार सय १५ बर्ष पुरानो जात्रालाई दाप्चाका स्थानीयले प्रत्येक घरधुरीबाट पैसा उठाएर निरन्तरता दिइरहेका छन् । श्रीकृष्णजन्माष्टमी नवदुर्गा जात्रा समिति, तल्लोहटियाका अध्यक्ष शिव श्रेष्ठ गुठियारबाट उठाएको पैसाले जात्रा चलाउन कठिन भएकोले सहयोगको अपेक्षा गर्नुहुन्छ ।

माथिल्लो हटियाका स्थानीय युवा जीवन श्रेष्ठले संस्कृतिक संरक्षण र प्रवद्र्धनको लागि स्थानीय, प्रदेश र संघ सरकारले समेत सहयोग गर्नुपर्ने बताउनुभयो । दाप्चाका पुरानो जात्रा सञ्चालन र संरक्षणको लागि स्थानीय तहले सहयोग गरेपनि त्यो पर्याप्त छैन । नगर प्रमुख कुन्साङ लामाले सकेको सहयोग र पहल गर्ने बताउनुभयो ।

दाप्चाका दुई बजारमा ऐतिहासिक कृष्णजन्माष्टमीको विशेष जात्रा हुन्छ । तल्लो हटियामा १६६४ सालदेखि र माख्लो हटियामा १९६० र कोट हटियामा २००० सालदेखि जात्रा शुरु हुँदै आएको शिलालेखहरुमा उल्ल्खेख छ ।

नवदुर्गा सहित गणेश, महादेव, पार्वती, विष्णु, लक्ष्मी, वाराही, देवी, भैरव, महाकालीका साथै राजारानी नाच, कुकुर नाच, हंशभारत नाच, लाखे नाच हुन्छ । सुम्व निसुम्व, महिशासुर, चण्डमुण्ड लगायतका राक्षसले देवताहरुलाई दुख दिएपछि देवीको शरणमा पर्दा देवीले उनीहरुको बध गरेको खुशीयालीमा यो जात्रा देखाउने गरिएको छ । जात्रा गर्दा घरपरिवार र शरिरमा भएको कुनै पनि समस्या भए नाश हुने धार्मिक मान्यता छ ।

 

पञ्चमीको दिनमा भिमसेन र हिले जात्रा, षष्ठीको दिनमा देवी भैरव नाँच, सप्तमीको दिनमा भोजको लागि तयारी गरिन्छ । कृष्णाजन्माष्टमीको दिनभर ब्रत बसेर कृष्ण मन्दिरमा पुजा गर्ने, नाँचगान गर्ने र रातभर जाग्राम बस्ने गरिन्छ ।

नवमीको दिनमा कृष्ण जन्मेको खुशीयालीमा रथजात्रा गरेपछि जात्रा सकिन्छ । तल्लो हटियामा विहान र माख्लो हटियामा दिउँसो रथजात्रा निकाल्ने गरिन्छ । माथ्लो हटियामा कोट र बजारबाट गरी दुई स्थानबाट कृष्णको रथ निकाल्ने गरिएको छ ।

रथयात्रा गर्दा बाजागाजा सहित अविर खेलेर कृष्ण जन्मेकोमा खुशीयाली साटासाट गर्ने गरिएको छ । जात्राको अवसर पारेर यहाँ मेला नै लाग्ने गरेको छ । विभिन्न स्थानमा गएका परिवारका सदस्य र आफन्त समेत जात्रामा आउने गरेका छन् ।

पढाइ, व्यापार, रोजगारीका लागि स्थानीयहरु काठमाडौं, बनेपा, धुलिखेल लगायतका शहरमा बसोवास गर्न थालेकोले जात्राको निरन्तरताबारे चिन्ता हुन थालेपनि स्थानीय युवाहरु यसको संरक्षणमा लागेका जुटेका छन् ।

केही युवाहरु परम्परागत नृत्य सिकेर यसलाई पछिल्लो पुस्तासम्म विस्तार गर्ने क्रममा छन् । दाप्चाको सास्कृतिक तथा पर्यटकीय विकासको लागि ‘दाप्चाका ५ जात्रा’ नामक लघु वृत्तचित्र निर्माण, भिन्तुना ¥याली आदी गरिएका थिए ।

पञ्चमीको दिन देखि ५ दिन सम्म चल्ने दाप्चामा चल्ने कृष्णजन्माष्टमीको विशेष जात्रा सकिएको छ । विभिन्न जात्रा तथा नाँच गरेर जात्रा सकिएको हो ।
मन्त्री श्रेष्ठसंगै नमोबुद्ध नगर प्रमुख कुन्साङ लामा, उपप्रमुख रत्न लामा, वडा नं १ का वडाअध्यक्ष प्रेमबहादुर तामाङ, वडा नं ८ का शेरबहादुर तामाङ, ९ का विरबहादुर तामाङ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी लगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठलाई माथिल्लो हटिया, तल्लो हटिया, नमोबुद्ध नगरपालिका वडा नं ८ मा स्वागत समेत गरिएको थियो ।

 

 

 

4225
Shares

ट्रेन्डिङ