सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’

काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’

2305
Shares
काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’

काभ्रे : जिल्लामा कृयाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।
शनिवार बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानून व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका बौद्धिक समूहको भेलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक–बाम गठबन्धनका ‘स्वच्छ छवि भएका, उर्जाशिल, अनुभवी तथा विकासप्रेमी’ उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको हो ।

प्रजातन्त्रवादी प्राध्यापक संघ बाग्मती प्रदेशका सहसंयोजक माधवप्रसाद तिमल्सिना, काभ्रे जिल्ला अध्यक्ष भोला केसी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरीले हस्ताक्षर गरी जारी गरेको अपिलमा लोकतान्त्रिक शक्ति र बामपन्थी दलहरुको सक्रिय संलग्नताले सात दशकको अथक प्रयासको परिणाम स्वरुप संविधानसभामार्फत प्राप्त संविधान पटक–पटक मिचेर निहित स्वार्थ पूरा गर्ने दुष्प्रयासका विरुद्ध लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुबीच गठबन्धन हुनुपर्ने समसामयिक आवश्यकतालाई मध्य नजर गर्दै बृहत एकताका साथ अघि बढिरहेको गठबन्धनप्रति बौद्धिक समूहको समर्थन रहेको जनाइएको छ ।

 

२०७४ सालमा निर्वाचित सरकारले करिब दुइतिहाइको हाराहारी मत प्राप्त गरेता पनि २/२ पटक प्रतिनिधि सभा भंग गर्ने प्रयास गरी जनमतको अपमान गरेको समेत बताए । काभ्रेली मतदाताले अपार भरोसा गरी नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यले मतदाताको शीर झुक्ने गरी भ्रष्टाचारको मिलेमतो (सेटिङ्ग) मा संलग्न भएको सुन्नुपर्दा बौद्धिक वर्ग लज्जित भएको उल्लेख गरेका छन् ।

लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्न सक्छ भन्ने अपेक्षा सहित लोकतान्त्रिक समाजवाद उन्मुख सम्मुनत नेपाल निर्माण गर्ने तर्फ देशलाई अघि बढाउन गठबन्धन सक्षम हुनेछ विश्वास समेत व्यक्त गरिएको छ ।

दलीय व्यवस्थामा दलको विकल्पमा दल नै मात्र हुन सक्ने तर्क गर्दै उनीहरुले स्वतन्त्र भएर विजयी सांसदले संसदीय व्यवस्थामा खासै भूमिका खेल्न नसकेको विगतका अनुभवलाई आधार मान्दै मतदान गर्दा विशेष ध्यान दिनुहुन समेत अनुरोध गरिएको छ । बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनाका लागि बलिदानी र संघर्षमा खरो रुपमा प्रस्तुत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनीहरुले अनुरोध गरेका छन् ।

भेलामा उपस्थित गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाईले आफूलाई सबै क्षेत्रको साथ, सहयोग भएको भन्दै बौद्धिक समूहको समर्थनले थप उत्साहित भएको बताए । बौद्धिक समूहले अनियमितता, भ्रष्ट्राचारमा संलग्नलाई समर्थन नगर्ने भन्दै आफू निर्वाचित भएपछि काभ्रेली मतदाताको शिर उच्चो राख्ने गरी काम गर्ने बताए ।

प्रदेश सभा क्षेत्र नं २ (क) का उम्मेदवार लक्ष्मण लम्साल, २ (ख) का उम्मेदवार कञ्चनचन्द्र बादे, नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपाल, नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत, प्राध्यापक भोेला केसी, क्याम्पस प्रमुख केजी बैदार, इश्वरी ओझा, माधवप्रसाद तिमल्सिना, राजेशराज महत, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरी लगायतले संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे ।

 

काभ्रेका बौद्धिक समूहको अपील
सात दशकको अथक प्रयासका परिणाम स्वरुप नेपाली जनताले संविधान सभा मार्फत संविधान प्राप्त गरेका छन् । लोकतान्त्रिक शक्ति र बामपन्थी दलहरुको सक्रिय संलग्नताले उक्त महत्वपूर्ण उपलब्धि हाँसिल भएको हो ।

यस संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वब्यापी मान्यतालाई आत्मसात गरेको छ । लामो समयदेखि बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, राजनीतिक र धार्मिक स्वतन्त्रता, भय र गरीबीबाट मुक्त समाज निर्माण गर्ने दलहरुको बिचार र संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको छ ।

यो उपलब्धिप्रति गर्व गर्दै लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले अब संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्न सक्छ भन्ने अपेक्षा हामीले राखेका छौैं । लोकतान्त्रिक समाजवाद उन्मुख सम्मुनत नेपाल निर्माण गर्ने तर्फ देशलाई अघि बढाउने कुरामा यो गठबन्धन सक्षम हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।

जारी भएको संविधानलाई पटक–पटक मिचेर निहित स्वार्थ पूरा गर्ने दुष्प्रयासका विरुद्ध लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुबीच गठबन्धन हुनुपर्ने समसामयिक आवश्यकतालाई मध्य नजर गर्दै बृहत एकताका साथ अघि बढिरहेको गठबन्धनप्रति हाम्रो समर्थन रहेको छ । पूर्ववर्ति सरकारले संविधानलाई मनोमानि तरिकाले दलाल पूँजीवादी वर्गको रक्षाको लागि निरंकुश ढंगले प्रयोग गरेको सर्वविदितै छ ।

यो गठबन्धन आसन्न २०७९ मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनको यस महत्वपूर्ण घडीमा विगतदेखि प्रारम्भ भएका लोकतान्त्रिक र सामाजिक रुपान्तरणका कार्यक्रमहरुलाई निरन्तरता दिंदै थप नयाँ सामाजिक नीति र कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सवै क्षेत्र, वर्ग, धर्म, लिंग जातजातिका विपन्न, पिछडिएका सिमान्तकृत समुदायहरुको क्षमता विकासमा सघाउ पु¥याउने एवम् राज्यका स्रोत, साधन र अवसरमा तिनको पहुँच अभिबृद्धि गर्ने दिशातर्फ अगाडि बढ्न सक्ने हाम्रो ठम्याई छ । अतः लोकतान्त्रिक बाम गठबन्धनलाई मन र मत सहित विजय गराउन हामी हार्दिक अपील गर्दछौं ।

२०७४ सालमा निर्वाचित सरकारले करिब दुइतिहाइको हाराहारी मत प्राप्त गरेता पनि २, २ पटक प्रतिनिधि सभा भंग गर्ने प्रयास गरी जनमतको अपमान गरेको हामी माझ ताजा रहेको छ । यति मात्र होइन काभ्रेली जनताले अपार भरोसा गरी विजयी गराएका ने.क.पा.एमाले प्रतिनिधि सभाका सांसदले मतदाताको शीर झुक्ने गरी भ्रष्टाचारको सेटिङ्गमा संलग्न भएको कुरा सुन्नु पर्दा हामी बौद्धिक वर्गसमेत लज्जित भएका छौं ।

दलीय राजनीतिक व्यवस्थामा दलको विकल्पमा दल नै मात्र हुन सक्छ । स्वतन्त्र भएर विजयी सांसदले संसदीय व्यवस्थामा खासै भूमिका खेल्न नसकेको विगतका अनुभवलाई आधार मानी मतदान गर्दा विशेष ध्यान दिनुहुन समेत आग्रह गर्दछौं ।

बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनाका लागि बलिदानी र संघर्षमा खरो रुपमा प्रस्तुत काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष तथा समानुपातिक तर्फ प्रतिस्पर्धामा उत्रिनु भएका लोकतान्त्रिक बाम गठबन्धनका स्वच्छ छवि भएका, उर्जाशिल, अनुभवी तथा विकासप्रेमी उम्मेदवारहरुलाई अत्याधिक मतले विजय गराउन समेत हामी सम्पूर्ण काभ्रेवासी मतदाताहरुमा हार्दिक अपील गर्दछौं । धन्यवाद ।
–०–

 

 

2305
Shares

ट्रेन्डिङ