सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • संविधान कुल्चेर संसद भंग गर्दैनौं : प्रधानमन्त्री

संविधान कुल्चेर संसद भंग गर्दैनौं : प्रधानमन्त्री

2295
Shares
संविधान कुल्चेर संसद भंग गर्दैनौं : प्रधानमन्त्री

सुर्खेत/ दैलेख : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनले मात्र संविधान र संसद जोगाउने दाबी गरेका छन्। संविधानको रक्षा र स्थायित्वका लागि सत्ता गठबन्धन बनेको भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याएमात्र संविधान र संसद जोगिने दाबी गरेका हुन्।

 

मंगलबार सुर्खेतको मेहलकुना र दैलेखको दुल्लूमा भएका चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूहरूले संविधानलाई कुल्चेर संसद भंग नगर्ने बताए। ‘पाँच दलीय गठबन्धन संविधानको रक्षा, देशमा स्थायित्व र दिगो शान्ति कायम गर्न बनेको हो’ प्रधानमन्त्री देउवाले भने,‘गठबन्धनले जितेमात्र देशमा संविधानको रक्षा हुन्छ, विकासको गति बढ्छ। हामी संविधान कुल्चेर अवधि नपुग्दै संसद भंग गर्दैनौं, पाँच वर्षसम्म नै संसद चल्छ।’

विगतमा संसदमा सरकारको विरोध हुने वित्तिकै दुई-दुई पटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको बताउँदै देउवाले आफूहरू संविधानको मर्म र भावनाअनुसार अगाडि बढ्ने बताए।

संसदलाई सरकारको आलोचना र विरोध गर्ने हक हुने बताउँदै उनले भने,‘तपाईंहरू ढुक्क हुनुस्, हामी संविधान कुल्चदैनौं। गठबन्धनले संविधान जोगाउँछ, संसदले पुरै अवधि काम गर्ने वचन दिन्छौं।’

संविधानको रक्षा, दिगो शान्ति, आर्थिक विकास र शान्ति कायम गर्न पनि आफूहरूले जित्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ। यस्तै दैलेखको दुल्लूमा भएको सभामा देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनले दुई तिहाइ सिट जित्ने दाबी गरे।

संविधान र संसद जोगाएकाले जनताले आफूहरूलाई नै जिताउने उनको दाबी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि पाँच पटक प्रधानमन्त्री हुँदासमेत केही काम नगरेको भन्दै झुटो प्रचार गरिरहेको देउवाको प्रतिक्रिया थियो।
ओलीले संसद विघटन गरेको र संसदलाई चल्नै नदिएको भन्दै देउवाले आगामी निर्वाचनमा गठबन्धनले दुईतिहाइ बहुमत ल्याएर देशमा विकास र सम्मृद्धिलाई तीव्रता दिने बताए।

गठबन्धनले जितेमात्र संविधानको रक्षा हुने भन्दै उनले लोकतन्त्रको स्थायित्वका लागि पनि गठबन्धनले जित्नुपर्ने बताए। वर्तमान सत्ता गठबन्धन अबको १० देखि १५ वर्षसम्म कायम रहने देउवाको भनाइ छ।

‘यो गठबन्धन सत्ता प्राप्तिका लागि होइन, संविधानको रक्षा गर्न बनेको हो’ देउवाले भने, ‘कसैले शंका गर्नु पर्दैन, गठबन्धनलाई जिताउनुस्।’ यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको अहंकारका कारण वर्तमान सत्ता गठबन्धन बनेको बताए। ओलीकै दम्भका कारण विगतमा बाम गठबन्धन टुटेको आरोपसमेत लगाए।

साथै उनले संविधान विरोधी ओलीसँग अब सहकार्य हुन नसक्ने बताए। संविधानको रक्षा र शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि पाँच दलीय गठबन्धनले जित्नुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहाल गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्न कर्णाली आएका हुन्। कर्णालीको विकासका लागि आफूहरू सकारात्मक रहेको भन्दै दाहालले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रहसमेत गरे।

2295
Shares

ट्रेन्डिङ