सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

2475
Shares
बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक, २१ वैशाख: काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाएपछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ ।

विशेषगरी हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि यो जात्रामा भक्तजनको ठूलो सहभागितामा धुमधामसँग मनाउने गरिन्छ । नगरको मुख्य बजार बनेपामा चण्डेश्वरी जात्रा आउँदो आइतबारसम्म मनाइने भएको हो । विशेष पर्वझैंँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिगारिएको छ ।

बनेपालीका लागि यो जात्रा महान पर्व दसैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सवले भरिएको देखिन्छ । जात्रा व्यवस्थापन समिति र स्थानीयवासीले जात्रामा रथोरोहणका लागि ठूलाठूला काठको खट आज तयार गरिसक्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । सरकारी पूजाआजको प्रतिनिधिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकोमा गर्व गर्छन् । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् ।

आजदेखि चण्डेश्वरी मन्दिर, सडक, बस्ती–गल्लीमा भीडभाड हुन्छ । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजागर्न टाढादेखि भक्तजन आउने स्थानीय बृद्ध जगतबहादुर मानन्धरले बताउनुहुन्छ । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्ने गर्छन् । बनेपा नगरपालिका कार्यालयले बर्सेनि जात्रामा आर्थिक सहयोग गर्नेगर्दछ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएको छ ।

बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । जात्राअन्तर्गत पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिन्छ । बनेपाको तीनधारामा आज बनाइने पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरुले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पु¥याउँछन् । यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको बध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बली दिने परम्परा रहेको छ ।

जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पु¥याइ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोकालाई बलिदिने र ती मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिँदै आइन्छ ।

कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने गरेको बताइन्छ । किंबदन्ती अनुसार २५ सय वर्ष अगाडि धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने बरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाईसमेत चण्डासुरले जितेपछि देवताको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेवरी माइ (माता)को जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ । रासस

2475
Shares

ट्रेन्डिङ