सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा ‘लम्पी स्किन’ संक्रमण, धुलिखेलमा २ वटा गाई मरे

काभ्रेमा ‘लम्पी स्किन’ संक्रमण, धुलिखेलमा २ वटा गाई मरे

2145
Shares
काभ्रेमा ‘लम्पी स्किन’ संक्रमण, धुलिखेलमा २ वटा गाई मरे

काभ्रे : पछिल्लो केही समययता काभ्रेका विभिन्न स्थानमा गाईवस्तुमा देखिने लम्पी स्किन रोगको संक्रमण जोखिम बढ्दो छ । तीन महिनादेखि काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ र २ मा गाईवस्तुमा लम्पी स्किन संक्रमणको जोखिम बढ्दै गएको छ ।

धुलिखेल नगरपालिका वडा नं २ स्थित रविवपीका कुमार लामिछानेले सञ्चालन गरेको भवानी एग्रिकल्चर एण्ड लाइभस्टक फार्ममा रहेका गाईमा तीन महिनाको अवधिमा २० वटा गाईमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । उक्त रोगको संक्रमणका कारण २ साताअघि फार्मका २ वटा गाई मरेको उनले बताए ।

‘गाईको शरीरमा फोका आउने, फोका फुट्ने, घाउ हुने, ज्वरो आउने लगायत लक्षणहरु देखियो,’ उनले भने, ‘गाईलाई के भयो भन्ने लागेर प्राविधकसँग सरसल्लाह मागेँ, प्राविधिकले जिल्लादेखि केन्द्रसम्म बुझ्दा लम्पी स्किन रोग भनेर पुष्टी गर्‍यो, लगत्तै उपचारतर्फ लाग्यौं, तर उक्त रोगको तत्कालै उपाचार गर्न नमिल्ने रहेछ, त्यसकारण पनि जोखिम बढ्यो, उपचार गर्न नपाएरै २ वटा गाई मरे ।’

फार्मका अधिकांश गाईको अवस्था सुधारन्मुख भएको उनले बताए । उनका अनुसार यो रोगलाई तत्कालै उपचार गर्न नमिल्ने भएर यसको जोखिम उच्च हुनसक्छ । अहिले गाईमा देखिएको लक्षणको आधार उपचार कार्य अघि बढाइएको उनले बताए ।

गत वर्षको मंसिर महिनामै उक्त रोगको संक्रमण वडा नं २ मा रहेको रविवपिको एक फार्ममा देखिएको वडा नं २ का पशु प्राविधिक सुमित्रा थिङले जानकारी दिइन् । उनका अनुसार तराईबाट ल्याएको गाईबाट उक्त रोगको संक्रमण फैलिएको बुझिएको छ । त्यस समययता रविवपि क्षेत्रका किसानका गाईहरुमा लम्पी स्किन रोगको संक्रमण देखिएको हो । केही किसानको गाईको अवस्था सुधारोन्मुख अवस्थामा रहेको उनले बताइन् ।

‘यो रोगको संक्रमण गाईमा मात्रै देखिने र जुन गाईमा रोगप्रति प्रतिरक्षा शक्ति बलियो हुन्छ, त्यसलाई रोगको जोखिम नहुने रहेछ,’ उनले भनिन्, ‘रोगप्रति प्रतिरक्षा शक्ति कमजोर भएका गाईमा रोगको जोखिम भएको पाइएको छ, यो रोगको संक्रमण गाईमा मात्रै फैलिने, अरु पशुमा फैलिँदैन ।’ उनका अनुसार यो रोग लागेको गाईलाई खोप लगाउन मिल्दैन, लक्षणको आधारमा उपचार भने गर्न सकिन्छ । यो रोग लाग्न नदिन रोग नलागेका गाईलाई भने रोगविरुद्धको खोप लगाउन सकिने उनले जानकारी दिइन् ।

धुलिखेल नगरपालिका वडा नं २ का ६० प्रतिशत किसानका गाईमा लम्पी स्किन रोगको संक्रमण देखिएको वडा नं २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । उनका अनुसार वडा नं २ लाई अहिले यो रोगको संक्रमणको जोखिम क्षेत्रको रुपमा देखिएको छ । यसको जोखिमलाई मध्यनजर गर्दै वडा कार्यालयले बुधबारबाट लम्पी स्किन रोग विरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले बताए । त्यस्तै, उक्त रोगको संक्रमण धुलिखेल नगरपालिका वडा नं १ का वडा अध्यक्ष सन्त बहादुर लामाले जानकारी दिए । उनका अनुसार, वडा नं १ मा रोगको पहिचानका लागि अभियान सञ्चालन गरिएको छ । जोखिम हेरेर वडा नं १ मा लम्पी स्क्नि रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने योजना उनले सुनाए ।

केही समययता काभ्रेको बनेपा नगरपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिका र चौंरीदेउराली गाउँपालिकाका विभिन्न स्थानमा लम्पी स्किन रोगको संक्रमण देखिएको भेटेनरी अस्पताल तथा पशु सेव विज्ञ केन्द्रले जानकारी दिएको छ । जिल्लाका विभिन्न स्थानमा देखिएको लम्पी स्किन रोगको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार स्थानीय तहका पशु शाखाका प्रमुख र भेटेनरी अस्पताल तथा पशु सेव विज्ञ केन्द्रसँग छलफल गरेको छ ।

लम्पी स्किन रोग र यसको जोखिमलाई नियन्त्रण गर्न खोप तथा उपचार कार्यक्रम सञ्चालन गरिने, रोगका बारेमा किसानलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने लगायतका विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए । उनका अनुसार यो समस्याको निराकरण गर्न स्थानीय तह र भेटेनरी अस्पताल तथा पशु सेव विज्ञ केन्द्रसँग विशेष योजना बनाएर कार्यक्रम सञ्चालन गरिनेछ ।
साभार : कान्तिपुर

2145
Shares

ट्रेन्डिङ