सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

3215
Shares
चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ ।
विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका रहेका बहुमूूल्य र पुरातात्विक सामग्रीको अभिलेखीकरण सुरु भएको जानकारी दिँदै उहाँले मन्दिरको तल्लो भाग र छानोलाई एकै पटक जीर्णोद्धार गर्ने बताउनुभयो ।
भूकम्पले चाँगुनारायणको मूल मन्दिर नढले पनि नराम्ररी क्षति पु¥याएपछि टेकोमा अड्याइएको छ । चाँगुनारायण मन्दिर परिसरकै भत्किएको किलेश्वर मन्दिर यसअघि नै एक गैरसरकारी संस्थाले पुनःनिर्माण गरिसकेको छ ।
मन्दिर परिसरमै रहेको अन्य मन्दिर र चौघेरा सत्तल तथा अमात्य सत्तल भने पुनःनर्माण नै गर्नुपर्ने भएकाले केही समय अझै लाग्ने भएको छ ।
मन्दिरको जमिन तला र माथिल्लो तलामा परापूर्वकालदेखि रहेका पुरातात्विक वस्तुको जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चाँगुनारायण नगरपालिका, पुजारी, भडेल र सरोकारवालासहितको टोलीले लगत उतार्ने काम सुरु गरेका छन् ।
लगत राखिएका सामान गुठी संस्थान भद्रकालीले वर्षांै पहिलो राखेको लगतसँग मेल खाए÷नखाएको रुजु गरी दुरुस्त भए त्यसको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नै खटाएर मन्दिर परिसरमै सुरक्षाको व्यवस्थासहित राखिने भएको छ ।
मन्दिर जीर्णोद्धारका लागि वरिष्ठ इन्जिनियर ओम धरानन्द राजोपाध्याय र स्ट्रक्चर इन्जिनियर छविराज घिमिरेले बुझाएको प्रतिवेदन अनुसार मन्दिरको जीर्णोद्धार गरिने भएको हो ।
श्रेष्ठले भन्नुभयो – “चाँगुनारायण मन्दिरको माथिल्लो तलाको छानो निकाल्ने र नयाँ निर्माण गर्ने तथा मन्दिरको तल्लो भागबाटै गाह्रोलाई बलियो बनाउँदै लगेर जीर्णोद्धार गरिने छ ।”
जीर्णोद्धार कार्य २०७४ साल असार मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । जीर्णोद्धारका लागि कुल रु ९४ लाख ६५ हजार ८४८ मा ठेक्का प्रदान गरिएको छ ।
भूकम्पले भत्काएको चाँगुनारायण मन्दिर परिसरमै रहेको किलेश्वर मन्दिर भने यसअघि नै कल्चर हेरिटेज एन्ड इन्भारोमेन्ट फाउन्डेसनले पुनःनिर्माण गरिसकेको छ ।
मन्दिर परिसरको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर पनि सोही फाउन्डेसनले निर्माण गरिदिने सहमति भए पनि ढिलाइ गरेपछि अब विभागले अब फाउन्डेसनलाई नपर्खने भएको छ ।
“विश्वसम्पदा सूचीमा रहेको सम्पदा निर्माणमा ढिलाइ गर्न नहुने अवस्थामा फाउन्डेसनलाई विभागले कुरेर बस्दैन, विभाग आफैँले यी मन्दिर एवम् सत्तलको पुनःनिर्माण सुरु गर्छ”– इन्जिनियर श्रेष्ठले भन्नुभयो ।
पुनःनिर्माण तथा जीर्णोद्धारमा काम लाग्ने इँटा तथा काठ पुरानै प्रयोग गर्ने जानकारी दिँदै उहाँले ७५ प्रतिशत सामग्री भने नयाँ प्रयोग गरिने बताउनुभयो । रासस

3215
Shares

ट्रेन्डिङ