सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

आज शहिद दिवस

2750
Shares
आज शहिद दिवस

प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद दिवस मनाउने गरिन्छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै वि.सं २०१२ देखि देशभर सहिद दिवस मनाइन्छ । यस दिन नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।
नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ ।
सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
उनीहरुकै संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
माघ १६ गते सहिद दिवसका दिन विभिन्न कार्यक्रमको आयोजना गरी मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण सहिदको सम्झना गरिन्छ । मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको गुनासा बढ्न थालेको छ ।
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ । तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन ।
संविधानसभाबाट नयाँ संविधान जारी भएपछि पनि त्यसप्रति असन्तुष्टि जनाउँदै भएको आन्दोलनमा थुप्रै व्यक्तिले ज्यान गुमाइसकेका छन् । सरकारले पछिल्लो मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिलाई सहिद घोषणा गर्न गठन गरेको आयोगले काम गरिरहेको छ ।
महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आज बिहान रत्नपार्क्स्थित शान्तिवाटिकाबाट बिहान ८ः१५ बजे प्रभातफेरी सुरु गरी ९ बजे लैनचौरस्थित सहिद स्मारकमा गएर विशेष कार्यक्रम गर्ने कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिनुभयो ।

2750
Shares

ट्रेन्डिङ