सबैको समाचार
शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मौरीपालनमा अनुदान बढाउन किसानको माग

मौरीपालनमा अनुदान बढाउन किसानको माग

275
Shares
मौरीपालनमा अनुदान बढाउन किसानको माग

नवलपरासी :– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।

गैँडाकोट नगरपालिकामा सञ्चालित आधारभूत मौरीपालन तालिममा सहभागी किसानले मौरीपालन व्यवसायमा तीन तहकै सरकारले दिने अनुदान बढाउनुपर्ने माग गरेका छन् । तालिममा सहभागी प्रदीप सापकोटाले घरायसी प्रयोजनका लागि मात्र मौरीपालन गर्दै आएको भन्दै तालिमका कारण मौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रेरणा मिलेको बताउनुभयो । पछिल्लो समय तोरी फुल्ने बेलामा किसानले विषादीको प्रयोग बढी मात्रामा गर्नाले मौरीपालक किसानलाई समस्या भएको उहाँले बताउनुभयो ।

“जिल्लामा मौरीपालनको वातावरण छ”, उहाँले भन्नुभयो, “मौरीले फूलको रसमात्रै सेवन नगरी बालीमा परागसेचनको कामसमेत गर्ने हुँदा यसबारे चेतना फैलाउन आवश्यक छ ।” जिल्लामा विभिन्न समयमा फलफूलखेती हुने गरेको र त्यसबाहेकको समयमा जङ्गली फूलबाट मौरीले मह उत्पादन गर्ने उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले मौरीपालक किसानका समस्या समाधान गर्दै मह आयातमा प्रतिबन्ध लगाउनुपर्ने सापकोटाले बताउनुभयो ।

व्यावसायिकरुपमा मौरीपालन गर्दै आउनुभएका किसान चन्द्रबहादुर केसीले आफूहरूको समस्या कुनै पनि सरकारले नसुनेको गुनासो गर्दै गैँडाकोट नगरपालिकालाई किसानको समस्या सुन्न र समाधानमा सहयोग गर्न आग्रह गर्नुभयो । “किसानले उत्पादन गरेको मह बजारीकरणमा समस्या छ”, उहाँले भन्नुभयो, “गुणस्तरहीन मह खुला रूपमा बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको छ ।” सरकारको गलत नीतिका कारण आफूहरूले उत्पादन गरेको मह बिक्री नभएको केसीले गुनासो गर्नुभयो ।

सागर मौरीपालन उद्योगका प्रबन्ध निर्देशक करुणासागर सुवेदीले मौरीपालनका समस्या समाधान गर्न सामाजिक सङ्घसंस्थासँग मिलेर वृक्षरोपण गर्न आवश्यक भएको बताउनुभयो । साथै उहाँले गैँडाकोट नगरपालिकाले नगरपालिकाको जम्मा बजेटको शून्य दशमलव ५८ प्रतिशत बजेटमात्र कृषिमा छुट्याउनु दुःखद भएको बताउनुभयो । आगामी वर्षको बजेटमा कृषि क्षेत्रको समग्र बजेट बढाउँदै मौरीपालक किसानका समस्या सम्बोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गैँडाकोट नगरपालिकाकी उपप्रमुख शान्ति कोइरालाले कृषि क्षेत्रमा कम रकम परेकामा आफू जानकार रहेको भन्दै आगामी वर्ष कृषिको बजेट बढाउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । मौरीपालक किसान लक्ष्यित कार्यक्रम सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो ।

275
Shares

ट्रेन्डिङ