• होमपेज
  • अब मोबाइल एपबाटै ट्याक्सी बुकिङ सेवा

अब मोबाइल एपबाटै ट्याक्सी बुकिङ सेवा

अब मोबाइल एपबाटै ट्याक्सी बुकिङ सेवा

चाहिएकै समयमा आफ्नो एरियामा ट्याक्सी नपाउने समस्या सामान्यजस्तै भइसकेको छ । झन मिटरमा जानै नमान्ने र बढी भाडा असुल्ने प्रवृत्तिबाट यात्रुहरु दिक्क छन् । तर, अब भने तपाईले आफूलाई ट्याक्सी चाहिएकै बेला अनलाइन स्मार्ट एपमार्फत बुकिङ गर्न सक्नुहुने छ ।
नेपालमा अहिले ‘अन्भर स्मार्ट ट्याक्सी’ मोबाइल एप प्रचलनमा आएको छ । यसबाट जोसुकैले ट्याक्सीलाई आफू भएको स्थानमा बोलाउन सक्छन् । यी ट्याक्सीले अरुले जस्तो किच(किच गर्ने छैनन् र मिटरकै आधारमा उठेको रकम लिनेछन् ।
एपमार्फत सेवा दिन २ सय वटा स्वरोजगार ट्याक्सी चालक अन्भरमा दर्ता भएका छन् । यी ट्याक्सीले एपमार्फत आएको अनुरोधअनुसार तपाईंलाई सेवा दिनेछन् । अन्भरमा संस्थापक ओम खड्काका अनुसार यसमार्फत सेवा दिने ट्याक्सीहरुलाई जीपीएस ट्रयाकिङ गरिएको छ ।
उनीहरुले सेवा दिइरहेको समयमा त्यसलाई ‘अन’ राख्छन् । एपमार्फत यात्रुले अनुरोध गरेपछि उनीहरु म्यापका आधारमा सेवाका यात्रु भएकै स्थानमा पुग्छन् ।
कसरी प्रयोग गर्ने ?
यो एप डाउनलोड गरेपछि यसमा यात्रुले एकपटक मोबाइल नम्बर, इमेल र पासवर्ड राखेर रजिष्टर गर्नुपर्छ । त्यसपछि आफूलाई ट्याक्सी चाहिएका बेला आफ्नो स्मार्टफोनबाट एप खोल्नुपर्छ ।
एप खुल्नासाथ आफू रहेको स्थान देखाउँछ । र, ट्याक्सीमार्फत आफू कुन गन्तब्यमा पुग्ने हो, त्यसमा क्लीक गर्नुपर्छ । आफू जाने गन्तव्यलाई अक्षरमा टाइप गर्ने सुविधा पनि छ । त्यसपछि अन्भर एपले त्यो गन्तब्यमा पुग्ने सबैभन्दा छोटो रुट जानकारी दिन्छ ।
त्यसपछि सँगै देखिने ‘फाइण्ड ट्याक्सी’ अप्सनमा क्लिक गर्नुपर्छ । यसमा क्लिक गरेपछि तपाईं रहेको क्षेत्र वरपर अन्भरको सेवा दिने गरी दर्ता भएका ट्याक्सी देखाउँछ । ट्याक्सी आफू बसेको क्षेत्रबाट कति परको दूरीमा छ भन्ने पनि एपमै देखिन्छ ।
सबैभन्दा नजिक देखिएको ट्याक्सीलाई तपाईंले सेवाका लागि अनुरोध गर्न सक्नुहुन्छ । तपाईंले आफ्ना केही कुरा भए ट्याक्सी चालकलाई एपमार्फत नै म्यासेज गर्न सक्नुहुन्छ । ट्याक्सीले तपाईंको ‘रिक्वेष्ट’ स्वीकारेपछि तपाईं सेवाको लिनका लागि तयार बन्न सक्नुहुन्छ ।
नेपालीभन्दा विदेशी यात्रुको आकर्षण
अन्भरका संस्थापक खड्का अनुसार यो यो प्रविधिबाट ट्याक्सी बुकिङ सुरु भएको ४ महिना बितेको छ । तर, यसमा नेपाली यात्रुको भन्दा विदेशबाट आएका पर्यटकको बढी चासो देखिएको छ । विदेशमा यस्तो प्रविधि निकै प्रचलनमा छ । धेरै ट्याक्सी कम्पनीहरुले आफ्नै ट्याक्सीलाई यो सिस्टमबाट चलाउँछन् । तर, नेपालमा भने यो प्रविधि बिल्कुलै नयाँ रुपमा आएको छ ।
सेवा विस्तार हुँदै
धेरैजसो स्वरोजगार ट्याक्सी चालकहरुले यसलाई बुझेका पनि छैनन् । त्यसैले अन्भरलाई यसबारे बुझाउनै समस्या परेको छ । यात्रुमा पनि यसप्रति विश्वास जागिसकेको छैन । ‘नेपाली यात्रुभन्दा बढी विदेशी पाहुनाले अन्भरको प्रयोग गरिरहेका छन् । उनीहरु गुगलमा खोजेर पनि यो एप डाउनलोड गरिरहेका छन् र एपमार्फत ट्याक्सी सेवाको बुकिङ गरिरहेका छन्’ खड्का भन्छन् ।
अन्भरमा अब झण्डै थप ४ सय ट्याक्सी जोडिने प्रक्रियामा आइसकेका छन् । २ सय मात्रै ट्याक्सी यसमा आएकाले सेवा विस्तारै प्रभावकारी हुँदै जाने अन्भरको विश्वास छ ।
‘हाम्रो आफ्नै ट्याक्सी नभएकाले चालकले आफूलाई पायक पर्दा मात्रै जीपीएस अन गर्छ । नेपालमा सकेसम्म चालकहरुले अनलाइन बुकिङ लिन चाहेको देखिँदैन’ खड्काले भने,’अब विस्तारै यो प्रविधिमा नगई सुख छैन ।’ अनलाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका