सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

आयो हिमालयको नयाँ विमान

2420
Shares
आयो हिमालयको नयाँ विमान

अन्तर्राष्ट्रिय उडान भर्दै आएको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एअरलायन्सले थप नयाँ विमान भित्र्याएको छ ।  जर्मनीमा बनेको ३२०–२१४ सिरिजको उक्त विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । हिमालयका पाइलट फ्रेन्च नागरिक क्याप्टेन ओल्ट्राले उडाएर ल्याएको उक्त विमानको विमानस्थलमा भव्य स्वागत गरिएको छ । योसँगै कम्पनीको विमान सङ्ख्या दुई पुगेको छ । यसअघि सन् २०१६ मार्चमा यही सिरिजको विमान ल्याइएको थियो ।
हाल कतारको दोहा र श्रीलङ्काको कोलम्बो उडान भर्दै आएकामा यही माघको अन्तिम सातादेखि मलेसियाको क्वालालम्पुर र म्यानमारको याङ्गुनमा उडान भर्ने कम्पनीका महाप्रबन्धक (बजार व्यवस्थापक) राजु केसीले राससलाई जानकारी दिनुभयो ।
‘९एन–एएलभी’ नेपाली रजिस्ट्रेसन नम्बर रहेको उक्त नयाँ विमानमा १५८ सिट छ । तिब्बत एअरलायन्सको पनि संयुक्त लगानी रहेको हिमालयले सन् २०१७ भित्र दुईवटा विमान थप गर्ने योजना रहेको जनाएको छ ।
आगामी मार्च २० तारिखसम्म अर्को विमान आइपुग्ने महाप्रबन्धक केसीले बताउनुभयो । उक्त विमान साउदी अरबको दमाम र भारतका गन्तब्यमा उडाउने योजना छ, यद्यपि, भारतका लागि उडान अनुमतिको पहल भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार माघ २८ देखि क्वालालम्पुर र फागुन १३ गतेदेखि याङ्गुनमा उडान सुरु हुनेछ । हप्ताको पाँच दिन क्वालालम्पुर र दुई दिन याङ्गुनमा उडान सञ्चालन गर्ने योजना छ ।
एअरलायन्सले काठमाडौँ–क्वालालम्पुर–काठमाडाँै (राउन्ड ट्रिप)का लागि सुरुवाती टिकट दर रु २५ हजार ३७५ र क्वालालम्पुर–काठमाडौँ–क्वालालम्पुर (राउन्ड ट्रिप)का लागि मलेसियन रिङ्गेट नौ सय २८ तोकिएको छ ।
त्यसैगरी काठमाडौँ–याङ्गुन–काठमाडौँका लागि २९ हजार ६ सय रुपैयाँ (राउन्ड ट्रिप) र याङ्गुन–काठमाडौँ–याङ्गुनको (राउन्ड ट्रिप)का लागि ३२० अमेरिकी डलर कायम गरिएको कम्पनीले जनाएको छ ।
हिमालयको दुई विमानसँगै हाल नेपाल वायु सेवा निगम (एअरलायन्स)को तीनवटा गरी अब पाँच विमानले अन्तर्राष्ट्रिय उडान भर्नेछन् । निगमले आगामी २०७४ सालभित्रै थप दुई वाइड बडी भित्र्याउने तयारी गरेको बताइएको छ । रासस

2420
Shares

ट्रेन्डिङ