सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाली सेना भू.पू. सैनिक सम्मेलन सम्पन्न

नेपाली सेना भू.पू. सैनिक सम्मेलन सम्पन्न

4490
Shares
नेपाली सेना भू.पू. सैनिक सम्मेलन सम्पन्न

कैलाली जिल्लाको धनगढी स्थित तेघरी व्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (सुदूर पश्चिम)–२०७३ एक विशेष समारोहकाबीच प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगतको नौ वटा जिल्लाका करिव दुई हजार भूतपूर्व सैनिक तथा निबृत्तभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७३ माघ १४ गतेबाट ऐ. २१ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव २३ सय जनालाई स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेकृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण तथा सुदूर पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।
सम्मेलनकै क्रममा सुदुरपश्चिम पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी तथा पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिक तथा पारिवारिक निवित्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको मार्च पाष्ट तथा लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।
प्रधान सेनापति क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनामा कार्यरत रही राष्ट्र हितको रक्षार्थ वीरगती प्राप्त गरेका सकलदर्जाको आत्माको चिरशान्तिको कामना गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते, अशक्त तथा बिरामी भई उपचार गराई रहेका सकलदर्जाको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।
सम्बोधन कै क्रममा वहाँले राज्य संकटमा पर्दा हिजो नेपाली सेनाले बगाएको रगत पसिनाको कारण यो देशको राष्ट्रिय अखण्डतामा आँच नआएको र देशलाई संकट परेको बखतमा भुतपूर्व सैनिकहरुले पुर्याएको योगदानलाई देशको ईतिहासमा सुनौलो अक्षरमा लेखिएको बताउनु हुँदै समयकालमा भूतपूर्व सैनिकहरुको सेवाको आवश्यकता पुनः खट्किएको अवस्थामा राष्ट्रको माग अनुसार राष्ट्र सेवाको लागि भूतपूर्व सैनिकहरु सदैव तयार हुने कुरामा आफु विश्वास रहेको बताउनु भयो । साथै नेपाली जनताले गरेको सेना माथीको अगाध विश्वास, आस्था र भरोसा नै नेपाली सेनाको लागि हौसला र उर्जाको स्रोतहरु भएको समेत बताउनु भएको थियो ।
सोही क्रममा प्रधान सेनापति क्षत्रीले सैनिक कल्याणकारी कोषको सम्बन्धमा जानकारी दिनु हुँदै उपलव्ध स्रोत साधनको परिधि भित्र रही हिताधिकारीहरुको हित र कल्याणको लागि अधिकतम सङ्ख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यहरुलाई सहयोग तथा सुविधा प्रदान गर्ने सम्बन्धमा थप चिन्तन र अध्ययनका अतिरिक्त कल्याणकारी सेवा सुविधाहरुमा अभिवृद्धि गरिनुको साथसाथै कल्याणकारी कार्यक्रमहरुलाई विकेन्द्रित गर्दै हिताधिकारीहरुको घरदैलोसम्म पुर्याउन ठोस कदमहरु चालिएको बताउनु हुँदै वहाँले, प्राप्त सुझावहरुलाई समेत मध्य नजर राखि ‘शिक्षा, स्वास्थ्य र स्वःरोजगार’ भन्ने मुल भावलाई केन्द्रविन्दु मानी कल्याणकारी कार्यहरु अघि बढी रहेको बताउनु भयो ।
मन्तव्य कै क्रममा भुतपूर्व सैनिक सम्मेलन आयोजना गर्नको लागि सहयोग गर्नु हुने सम्पूर्ण सैनिक एवं गैर सैनिक व्यक्तिहरु लगायत सङ्घ सस्थाहरुलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।
कार्यक्रम पश्चात सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनुभएकाहरुसँग सामुहिक छलफल तथा अन्तक्रिया समेत गर्नु भएको थियो ।

4490
Shares

ट्रेन्डिङ