सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विद्यालयको लापर्बाहीले परीक्षा दिन वञ्चित

विद्यालयको लापर्बाहीले परीक्षा दिन वञ्चित

3470
Shares
विद्यालयको लापर्बाहीले परीक्षा दिन वञ्चित

नयाँ बानेश्वरको शान्तिनगरस्थित एभरेष्ट फ्लोरिडा उच्च माविमा कक्षा ११ मा विज्ञान विषयमा अध्ययनरत उषा चौधरीको एक वर्षको पढाइ खेर जाने भएको छ ।
सप्तरीको राजविराजबाट पढ्नकै लागि काठमाडौँ आएकी चौधरीले गत वर्षको प्रवेशिका परीक्षामा ल्याएको ग्रेड विज्ञान विषयमा भर्ना हुन योग्य नहुँदा नहँुदै विद्यालयले भर्ना गरेर ८० प्रतिशत कोर्स पूरा भइसकेपछि मात्र उनले त्यो विषयमा परीक्षा दिन नमिल्ने थाहा भएको हो । भर्नाको समयमा विद्यालयको लापर्बाही र रजिस्ट्रेसन फारम बुझाउँदा राष्ट्रिय परीक्षा बोर्डले पनि ध्यान नदिँदा विद्यार्थी अलपत्र परेकी हुन् ।
सो विद्यालयमा यस्ता विद्यार्थी तीन जना छन् भने अन्य विद्यालयमा यस्तो समस्या देखिन थालेको छ । प्रवेशिकामा चौधरीले विज्ञान र गणित विषयमा सि ग्रेड मात्र ल्याएकी थिइन् । विज्ञानमा भर्ना हुन ती विषयमा कम्तीमा सि प्लस ल्याउनुपर्ने मापदण्ड तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गरेको थियो ।
अभिभावक सम्झना कार्कीले आफूहरुले विज्ञानमा भर्ना गर्न मिल्दैन होला भन्दाभन्दै केही फरक पर्दैन भनेर भर्ना गराइएको र हाल आएर यो वर्ष विज्ञानमा परीक्षा नदिने वा व्यवस्थापनमा परीक्षा दिने भन्ने अन्योल उत्पन्न भएको गुनासो गर्नुभयो । व्यवस्थापनमा परीक्षा दिने भने पनि रजिस्ट्रेसन फारम सच्याउन एक सातामात्र अवधि बाँकी छ ।
यस वर्षको कक्षा ११ को परीक्षा आउँदो चैतको मसान्तमा हुनेछ । विद्यालयका प्रिन्सिपल शिशिर उप्रेतीले आफ्ना कर्मचारीको कमजोरीका कारण प्राविधिक त्रुटि भएकाले त्यस्ता विद्यार्थी व्यवस्थापनमा परीक्षा दिलाउन ट्युसन र अन्य तयारी गराउन परामर्श भइरहेको बताउनुभयो ।
त्यसमध्ये एक विद्यार्थी विज्ञान छाडेर प्राविधिक तथा व्यावसायिक धारमा गएका छन् भने दुई जना अन्योलमा छन् । उप्रेतीले विज्ञानबाट व्यवस्थापनमा जाँदा लेखा र अर्थशास्त्र मात्र नयाँ विषय पर्ने भएकाले त्यसको अलग्गै ट्युसन पढाएर उत्तीर्ण गराउने आश्वासन दिइएको राससलाई बताउनुभयो । ग्रेडमा नतिजा आएपछिको पहिलो कक्षा ११ को भर्ना भएकाले समस्या आएको जनाउँदै उहाँले विज्ञानबापत लिइएको शुल्क फिर्ता गर्न पनि आफू तयार भएको बताउनुभयो ।
छानबिन टोली गठन
राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड नपुगेका विषयमा भर्ना भएका र अन्य प्राविधिक समस्याका बारेमा स्थलगत अनुगमन गरी प्रतिवेदन दिन टोली गठन गरेको छ । टोलीमा बोर्डका उपसचिव भाष्कर पन्त र परीक्षा नियन्त्रण कार्यालयका उपनिर्देशक गेहनाथ गौतमलगायत हुनुहुन्छ ।
प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने बोर्डका सदस्य सचिव डा डिल्लीराम रिमालले जानकारी दिनुभयो । बोर्डले कतिपय त्यस्ता मापदण्ड नपुगेका रजिष्ट्रेसन फारम अस्वीकृत गरेको छ । चर्चा अनलाइन

3470
Shares

ट्रेन्डिङ