सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आज महाशिवरात्री पर्व पशुपतिनाथमा महादेवको दर्शन कसरी गर्ने

आज महाशिवरात्री पर्व पशुपतिनाथमा महादेवको दर्शन कसरी गर्ने

7635
Shares
आज महाशिवरात्री पर्व पशुपतिनाथमा महादेवको दर्शन कसरी गर्ने

आज फागुन १३ गते शुक्रबार कृष्ण त्रियोदयी अर्थात हिन्दुहरुको पर्व महाशिवरात्री । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने भनाइ छ ।
आज देशभरको महादेव शिव (भोलेनाथ) मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । हिन्दु धर्मावलम्वीहरुले शिवरात्रीलाई विशेष आस्थापूर्वक मनाउने गर्दछन् । शिवरात्रीलाई पर्वहरुको राजा पनि भन्ने गरिन्छ । यस पर्वमा विभिन्न देशका हिन्दु धर्मवलम्बीहरु नेपालको पशुपतिनाथ मन्दिर आउने गर्दछन् ।
आजैका दिन ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन भनी हिन्दु धर्मवलम्बीहरुमा जनविश्वास रहेको छ । आजको दिन हिन्दुधर्मालम्बिहरु विहानैदेखि निर्जल व्रत बसि रात्री जागरण, चार प्रहारको पूजा, बेलपत्र चढाई, पञ्चामृत शिवलिङ्गमा अर्घ चढाई रातभर भजन कीर्तन गरी ब्रत बस्ने गर्दछन् । शिवरात्रीको पालनाले भोग र मोक्ष दुबै प्राप्त हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको हिन्दु धार्मिक ग्रन्थहरुलाई वर्णित छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्व्सिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।
विहिबार साँझ देखिनै पशुपात क्षेत्रमा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको छ । पूजा अर्चनाका लागि शिवरात्री विशेष शुक्रबार बिहान ३ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको छ ।
यसका साथै महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई भगवान शिवको दर्शन गराउन यस वर्ष चारवटा लाइनको व्यवस्था गरिएको छ ।
यस वर्ष पशुपतिनाथ मन्दिरमा विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।
टन्डनका अनुसार १३ लाख भक्तजनमा साढे छ लाखले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गर्ने र साढे छ लाखले बाहिरबाटै दर्शन गरेर फर्कने छन् । भने, सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच हजार र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी मेला सुरक्षाका लागि खटिने छन् ।
यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । पशुपतिनाथमा जाने भक्तजनहरुका लागि विभिन्न संघ संस्थाहरुले निःशुल्क भोजन, स्वास्थ्य सेवा, पानी तथा फल वितरण लगायतका सेवाहरु प्रदान गरिरहेका छन् ।
बाबासँग तस्बिर खिँचाउनेको तँछाडमछाड
भारतबाट साधुसन्त पशुपति परिसर आइसकेका छन् भने ती साधुसन्तलाई हेर्नेहरूको भिड निकै रोचक देखिन्थ्यो । विशेष गरी नागा बाबाहरूलाई हेर्नेको आज दिनभर नै भिड लागेको थियो । बाबाहरूसँग तस्बिर खिंचाउनेहरूको तँछाडमछाड देखिन्थ्यो ।
सेना दिवस पनि मनाइँदै
नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति विद्या भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेपाली सेनाका विभिन्न टोलीद्वारा मार्चपास, हातहतियार, तोपखाना लगायत विकास निर्माण सम्बन्धी गतिविधिबारे कलाकौशल प्रदर्शन देखाइने छ ।
नेपालमा वि.सं. २०४७ देखि नेपाली सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।
यस्तो छ पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने व्यवस्था
दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले बताए ।
बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको छ ।
पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ ।
दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ ।
आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।
साथै पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ ।
मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ ।
मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ ।
दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ ।
 

7635
Shares

ट्रेन्डिङ