सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • उपप्रधानमन्त्री महरा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री महरा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता

2940
Shares
उपप्रधानमन्त्री महरा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने विषयमा भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग छलफल गर्नुभएको छ ।
दोस्रो लगानी सम्मेलनमा भाग लिन आज मात्रै यहाँ आइपुग्नुभएका जेट्लीसँग आज भएको भेटवार्तामा अर्थमन्त्रीले व्यापार घाटा घटाउन र लगानी अभिवृद्धिका विभिन्न आयामका बारेमा द्विपक्षीय कुराकानी गर्नुभएको हो ।
संविधान निर्माणपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेको र लगानीमैत्री वातावरण सिर्जना भएको भन्दै अर्थमन्त्री महराले नेपालको आर्थिक विकासका लागि भारत सरकारसँग मिलेर काम गर्न आफूहरु तयार रहेको बताउनुभएको उहाँका प्रेस विज्ञ त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।
अर्थमन्त्री महराले भारतीय मुद्राका कारण नेपाली लगानीकर्ता र आम नागरिकमा परेको समस्याको गाँठो तत्काल फुकाइदिनसमेत भारतीय समकक्षी जेट्लीलाई आग्रह गर्नुभएको थियो ।
अर्थमन्त्री महराको जिज्ञासाको जवाफमा भारतीय वित्तमन्त्री जेट्लीले व्यापार घाटा कम गर्न नेपालमा नै उद्योग स्थापना गर्न आग्रह गर्नुभयो ।
नेपाल र भारतका उद्योगी तथा व्यवसायीले संयुक्तरुपमा पनि उद्योग तथा व्यवसाय सञ्चालन गर्नसक्ने र त्यसमा आफूहरुका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भारतीय मुद्राका कारण परेको समस्याप्रति भारत सरकार जानकार रहेको भन्दै उहाँले नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकका उच्च अधिकारीले समस्या समाधान गर्ने विश्वास दिलाउनुभएको थियो ।
गैरकानुनी गतिविधि नहोस् भन्नेतर्फ मात्रै भारत सरकारको चासो रहेको भन्दै शीघ्र समस्या समाधान गर्ने वचनसमेत भारतीय वित्तमन्त्रीले दिनुभएको थियो । भेटमा नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदीलगायत अर्थमन्त्रालयका उच्च अधिकारीको सहभागिता रहेको थियो ।

2940
Shares

ट्रेन्डिङ