सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्लाष्टिकका भाँडाले कुमाल समुदाय संकटमा

प्लाष्टिकका भाँडाले कुमाल समुदाय संकटमा

3820
Shares
प्लाष्टिकका भाँडाले कुमाल समुदाय संकटमा

जिल्लामा परम्परादेखि चलनचल्तीमा हातले कुदेका कलात्मक माटाका भाँडा अहिले लोप हुँदै गएको छ ।
माटाकै भाँडा बनाएर राम्रो पहिचान बनाउँदै आएका कुमाल समुदायले निर्माण गर्ने परम्परागत हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुकेलगायतका भाँडा अहिले पाइन छाडेका छन् ।
बजारमा आधुनिक प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै गएकाले घरायसी उपयोगका लागि प्रयोग हुँदै आएका यी माटाका भाँडाको चलन घटदै जाँदा कुमालेको पेसा नै लोप हुन पुगेको हो ।
रामपुर–१५ गेझाका तल्लो र माथिल्लो गाउँ नै कुमाल समुदायले ढाकेको छ । यिनीहरुले विगतमा माटाका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले सो पेसा नै लोप हँुदै गएको स्थानीय दामोदर तिमिल्सिनाले
बताउनुभयो ।
यहाँका ३०० घरपरिवारमध्ये अहिले दुई÷चार घरपरिवारले मात्र माटाको भाँडा बनाउने काम गर्छन् । महेन्द्र कुमालले बजारको अभाव र गाउँमा उत्पादित माटाको भाँडाको सट्टा प्लाष्टिक र स्टिलका भाँडाका प्रयोग बढ्दै जाँदा पेसा नै लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो ।
उहाँले परम्परा जोगाउनका लागि अझै पनि माटाको भाँडा बनाउनुहुन्छ । “हाँडी, घँैटो, खुत्रुकेलगायतका माटाका भाँडा बनाए पनि बिक्री गर्न बजारको समस्या छ”– कुमालले भन्नुभयो ।
यहाँ उत्पादित एउटा हाँडी, घैँटोको आकार हेरी रु २०० देखि ५०० सम्म मूल्य पर्ने गरेको अर्का व्यावसायी मनबहादुर कुमालले बताउनुभयो । लागतअनुसारको मूल्य पनि पाइँदैन, हिजोआज माटाको भाँडा कमैले मात्र खरिद गरेको उहाँले बताउनुभयो ।
जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटाको भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले लोप हुँदै गएको छ । वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले चौकीदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल नहुँदा सामग्री उत्पादन भए पनि बजार अभावका कारण उनीहरुको पेसा सङ्कटमा परेको हो ।
सस्तो र हल्का खालका प्लाष्टिकका भाँडा गाउँगाउँसम्म पुग्न थालेपछि पेसा नै लोप हँुदै गएको कुमाल जाति बताउँछन् ।

3820
Shares

ट्रेन्डिङ