सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एमालेको अभियान तीन दिनका लागि स्थगित

एमालेको अभियान तीन दिनका लागि स्थगित

2860
Shares
एमालेको अभियान तीन दिनका लागि स्थगित

(प्रकाश सिलवाल)
सप्तरी, २३ फागुन । यहाँ आज भएको हिंसात्मक घटनापछि नेकपा (एमाले) को मेची–महाकाली अभियान तीन दिनका लागि स्थगन भएको छ ।
सो घटनापछि यहाँ आज स्थायी कमिटीको आकस्मिक बैठकले स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै तीन दिनका लागि अभियान सार्ने निर्णय गरेको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
यही फागुन २४, २५ र २६ गते तीन दिन स्थगनपछि फागुन २७ गतेदेखि अभियान पूर्ववत् सञ्चालन हुनेछ । एमालेको पूर्वघोषित अभियानअन्तर्गत आज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधबीच जनसभा सकिएपछि नेताहरु फर्कने क्रममा हिंसात्मक घटना भएको थियो ।
मेची–महाकाली राष्ट्रिय अभियान प्रभावकारी र शान्तिपूर्ण ढङ्गले अगाडि बढिरहेको र जनता उत्साहपूर्वक सहभागी भइरहेकामा आजको घटनाबाट पार्टी दुःखी भएको जनाउँदै एमालेले आज जारी गरेको विज्ञप्तिमा कार्यक्रममा सहभागी हुन हिँडेका सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गर्ने, र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेसी मोर्चाका कार्यकर्ताले हिंसात्मक गतिविधि प्रदर्शन गरेको आरोप लगाइएको छ ।
यही फागुन २१ गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको सो १५ दिने अभियानअन्तर्गत मङ्गलबार सिरहा र जनकपुरमा कार्यक्रम तय गरिएको थियो । रासस

2860
Shares

ट्रेन्डिङ