सबैको समाचार
मङ्लबार, मंसिर १२, २०८०
  • होमपेज
  • संगठन निर्माणका लागि साझा पार्टीको राष्ट्रिय अपील

संगठन निर्माणका लागि साझा पार्टीको राष्ट्रिय अपील

संगठन निर्माणका लागि साझा पार्टीको राष्ट्रिय अपील

रबिन्द्र मिश्रको साझा पार्टीले तल्लो तहबाट संगठनको थालनी गर्ने भएको छ। अपिल जारी गर्दै साझा पार्टीले केन्द्रबाट नभई गाउँबाट संगठन निर्माण थाल्ने जनाएको छ।
उक्त पार्टी निर्माण गरेको जानकारी केन्द्रलाई दिए पुग्ने जनाइएको छ। राष्ट्रिय चुनावमा सामान्य बहुमत ल्याउनेगरी स्थानीय तहबाट तयारी थाल्नुपर्ने अपिलमा उल्लेख छ।
अपिलको पूर्णपाठः-
 साझा पार्टीको अत्यन्तै जरूरी राष्ट्रिय अपील
विभिन्न तहका इकाईहरूको द्रुत निर्माण पार्टीको रणनीतिको एउटा सबैभन्दा महत्वपूर्ण हिस्सा हो, किनभने तपाईंको सहभागिता बिना हाम्रो साझा सपना पूरा हुन सक्दैन। हामी ‘माध्यम’ मात्र हौं, परिवर्तनको वास्तविक वाहक तपाईं नै हो। त्यसैले संगठन निर्माणका लागि पार्टीले माथिबाट तल(Top-Down) होइन, मूलत: तलबाट माथि (Bottom-Up) को नीति अख्तियार गरेको छ। सो कार्यका लागि हामीले निम्न लिखित बाटो अवलम्बन गर्ने निर्णय गरेका छौं।
— तपाईं आजका मितिसम्म राजनीतिकरूपले स्वतन्त्र हुनुहोला या अन्य पार्टीसँग सक्रिय या निष्क्रिय रूपमा आबद्ध हुनु होला। स्वतन्त्र हुनुहुन्छ भने समस्यै भएन। तपाईं कुनै पार्टीमा आबद्ध हुनुहुन्छ या कुनै पार्टीलाई समर्थन गर्नुहुन्छ तर तपाईंलाई भित्री मनमा ‘म अहिले आवद्ध रहेको या मैले समर्थन गरेको पार्टीबाट कुनै पनि हालतमा यो देश बन्दैन’ भन्ने लाग्छ भने तपाईं जहाँ भए पनि इमानका साथ छाती खोलेर साझा पार्टीको इकाई निर्माणमा सक्रिय हुन हामी हार्दिक अपील गर्दछौं। पार्टीगत आस्थाभन्दा ठूलो देश हो। पार्टी साधनमात्र हो, साध्य होइन। इमान बेच्नु हुँदैन तर वस्तुगत स्थितिहरु बदलिएपछि इमान बोकेरै आस्था बदल्नु गलत हुँदैन भन्ने हाम्रो मान्यता हो।
— कुनै पनि गाउँ या टोलमा १८ वर्ष उमेर पुगेका, साझा पार्टीको मूल्य-मान्यताप्रति विश्वास भएका ७ जना एकजुट भएमा उनीहरूले पार्टीको समिति गठन गर्न सक्नेछन्। त्यस्तो समूहलाई संभव भएसम्म समावेशी बनाउन हामी हार्दिक आग्रह गर्दछौं। यो देश हाम्रै जीवनकालमा समृद्ध बनाउने हो भने साझा पार्टीले राष्ट्रिय चुनाव कम्तीमा सामान्य बहुमत लेराएर जित्नैपर्छ र त्यसका लागि देशभरका हरेक गाउँ या टोलमा तपाईंले सक्दो छिटो समितिहरू गठन गर्नुभएन भने हाम्रो सामूहिक सपना साकार हुनेछैन।
— तपाईंले सबभन्दा तल्लो समिति गठन गर्नु भएपछि मात्र त्योभन्दा माथिका समितिहरु निर्माण हुँदै जानेछन्, किनभने हरेक तल्लो निकायबाट चुनिएका प्रमूख प्रतिनिधिहरू त्यो भन्दा माथिल्लो निकायका सदस्य हुनेछन्। यद्दपि हामी पार्टी निर्माणको प्रारम्भिक चरणमा हुनाले, आवश्यक परेको खण्डमा, पार्टीको संक्रमणकालीन विधानले पार्टी नेतृत्वलाई निश्चित निर्णयहरु लिने अधिकार प्रदान गरेको छ।
— पार्टीको केन्द्रीय संयोजन समितिको निर्णयका आधारमा जिल्ला संयोजन समिति गठन गर्ने पर्याप्त सांगठनिक आधार तयार नहुँदासम्म प्रदेश संयोजन समिति निर्माणका लागि जिल्ला सदरमुकामहरूमा ‘साझा नागरिक समाज’ निर्माण गरिनेछ। साझा पार्टी निर्माणार्थ सहयोगका लागि यदि स्वतस्फुर्त रुपमा यस्तो नागरिक समाजले कुनै समिति निर्माण गरेर साझा पार्टीको केन्द्रीय कार्यालयमा जानकारी गराएमा त्यसलाई मान्यता प्रदान गरिनेछ। साझा नागरिक समाजकै सदस्य पनि, चाहेको खण्डमा, पार्टीमा औपचारिकरूपमैं संलग्न हुन सक्नेछन्। तर त्यो अनिवार्य हुनेछैन।
— त्यसरी निर्माण भएका समितिहरूको संरचना, काम, कर्तव्य र अधिकार विधानले निर्दिष्ट गरे अनुरूप हुनेछ, जसलाई सार्वजनिक गर्न केही समय लाग्नेछ।
— इकाई निर्माण गर्ने वित्तिकै त्यसको औपचारिक जानकारी ९८५१२५३००१ मा फोन गरेर साझा पार्टी, केन्द्रीय कार्यालयको संगठन विभागलाई गर्न हुन अनुरोध गर्दछौं। त्यसका साथै त्यस्तो इकाईमा संलग्न साथीहरुको सामूहिक फोटो, ठाउँको नाम, सो इकाई या समूहको संयोजकको नाम, इमेल र टेलिफोन नम्बर साझा पार्टीको फेसबुक पेज www.facebook.com/sajhaparty मा इनबक्स गरिदिन हार्दिक अनुरोध गर्दछौं। ती फोटोहरु हामी क्रमश: साझा पार्टीको फेसबुक र ट्विटर पेज (www.twitter.com/Sajha_Party) मा प्रकाशित गर्दै जानेछौं।
पुनश्च: हाम्रो फेसबुक पेज र ट्वीटर पेज क्रमश: लाइक र फलो गरिदिन पनि हामी हार्दिक अनुरोध गर्दछौं।

ट्रेन्डिङ