सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

3285
Shares
वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क

यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी वर्ष वैशाख १ गतेदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ ।
विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित अस्पतालबाट प्रत्यारोपण निःशुल्क गर्न लागिएको जानकारी दिनुभयो ।
रोगीका लागि आवश्यक औषधिका सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने मन्त्रालयले जनाएको छ । स्थानीय तहसम्म नसर्ने रोगको पहिचानका लागि यसै वर्ष एक हजार स्वास्थ्य चौकीमा सुरु गर्न लागिएको र आउँदो वर्षसम्म सबै स्वास्थ्य चौकीमा सुरु गरिने पनि मन्त्रालयको भनाइ छ ।
उहाँले भन्नुभयो, “अङ्ग प्रत्यारोपणसम्बन्धी ऐन बने पनि नियम नबन्दा समस्या थियो । अब भर्खरै नियम बनेको छ, अब अङ्ग प्रत्यारोपणमा सहजता भएको छ । अब यस विषयमा जनतालाई बुझाउन आवश्यक छ ।”
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले विश्वभरि नै तीव्र रुपमा बढिरहेको मोटोपनको समस्याले शरीरका अरू अङ्गसँगै मिर्गौलामा समेत असर पर्ने र मोटा व्यक्तिमा स्वस्थ व्यक्तिमा भन्दा पाँचदेखि सात गुणा बढी मिर्गौला खराब हुने जोखिम रहेको बताउनुभयो । केन्द्रले हाल मिर्गौला, कलेजो तथा मुटुको जटिल शल्यक्रिया गर्दै आएको छ ।

संसद् सचिवालयका पूर्वसचिव तथा मिर्गौला प्रत्यारोपण गर्नुभएका सोमबहादुर थापाले सरकारले मिर्गौला रोगीका लागि डायलासिस र प्रत्यारोपण सेवा निःशुल्क गरी बाँच्न पाउने आशा जगाएको बताउनुभयो । उहाँले अङ्ग प्रत्यारोपणसम्बन्धी कानुन बनिसकेको अवस्थामा प्रत्यारोपणसम्बन्धी विशेषज्ञको उत्पादनका लागि अङ्ग प्रत्यारोपण केन्द्रलाई शैक्षिक संस्थाका रुपमा विकास गर्न सरकारलाई आग्रह गर्नुभयो ।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा जोसले मिर्गौला रोगीले डायलासिसलाई लामो समय राखिराख्नु भन्दा जतिसक्दो छिटो प्रत्यारोपण गर्नुपर्नेमा जोड दिनुभयो । आरोग्य प्रतिष्ठानका अध्यक्ष आनीछोइङ डोल्माले सरकारले अङ्गदान प्रत्यारोपणसम्बन्धी लामो समयदेखि अड्किएको ऐनको नियम बनाएर जनताको हितमा काम गरेको उल्लेख गर्नुभयो ।
आज ‘मिर्गौला रोग र मोटोपना’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौैला विशेषज्ञले स्वस्थ जीवन शैली, सन्तुलित र स्वस्थ खाना, पर्याप्त पानी, सही तौल र सक्रिय शरीर राखी मिर्गौला बचाउन आग्रह गरेका छन् । नेपालमा हरेक वर्ष करिब तीन हजार व्यक्ति डायलासिस तथा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्ने गरेको तथा हरेक १० मध्ये एक व्यक्तिमा कुनै न कुनै प्रकारको मिर्गौलासम्बन्धी समस्या देखिन्छ ।
केन्द्रले आज टुँडिखेलमा सर्वसाधारणका लागि अपराह्न ४ बजेसम्म निःशुल्क मिर्गौला, मुटु, कलेजो तथा अङ्गदान शिविर सञ्चालन पनि गरेको छ । (श्रव्य सामग्री उपलब्ध छ )

3285
Shares

ट्रेन्डिङ