सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • तीन हजार एकसय पशुको स्वास्थ्य परीक्षण

तीन हजार एकसय पशुको स्वास्थ्य परीक्षण

3265
Shares
तीन हजार एकसय पशुको स्वास्थ्य परीक्षण

कोलडाँडा गाविस पाल्पामा सञ्चालन भएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट तीनहजार एकसय २८ पशुको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ ।
जिल्लाकै दुर्गम र विकटमा पर्ने कोलडाँडाका वडा नं ४, ७, ८ र ९ का किसानले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुखुराको स्वास्थ्य परीक्षण गराई निःशुल्क उपचार सुविधा लिएका छन् ।
सोमबार चलेको शिविरमा सातसय बाख्रा, ६ सय ६२ गाई र गोरु, ९९ भैँसी, ८९ बङ्गुर, सातसय पाँच कुखुराको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । शिविरमा सातसय बाख्रामा पिपिआरविरुद्ध खोप, ८० बोका र १३ गोरुमा बन्ध्याकरण सेवा प्रदान गरिएको पशु सेवा केन्द्र मदनपोखराका पशु स्वास्थ्य प्राविधिक शेरबहादुर रानाले जानकारी दिनुभयो ।
जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सञ्चालित शिविरमा पशुको स्वास्थ्य परीक्षण गरिनुका साथै परजीवीसम्बन्धी औषधि, मिनरल, भिटामिन गरी रु ८० हजार बराबरको औषधि किसानलाई निःशुल्क वितरण गरिएको छ । शिविरमा जिल्ला पशु सेवा कार्यालयमा पशु चिकित्सक उत्तम आचार्यसहित ६ जना पशु स्वास्थ्य प्राविधिकको टोलीले सेवा दिएका हुन् ।
यस क्षेत्रका ७३ घरधुरीका किसान यहाँ चलेको पशु स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् । यहाँका किसानलाई पशुको स्वास्थ्य उपचार तथा परीक्षणका लागि पशु सेवा केन्द्र मदनपोखरामा ४ घन्टादेखि ५ घन्टाको बाटो पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ ।
गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा निकै खुसी लागेको कोलडाँडा–८ का अगुवा किसान चन्द्रा आलेले बताउनुभयो । व्यावसायिक रुपमा बाख्रा पाल्दै आउनुभएकी आलेले बाख्रा बिरामी परे औषधि उपचारका लागि एक दिनको समय बिताएर सेवा केन्द्रमा जाने गरेको बताउनुभयो ।
गाउँमा नै चलेको शिविरबाट धेरै सेवासुविधा लिन पाएको अर्का अगुवा किसान रुपा आले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नजिक सेवा केन्द्र नहुँदा पशु बिरामी परेमा पनि झट्ट उपचार गर्न नपाउँदा अकालमै मृत्यु हुने गरेको छ”,
“भौगोलिक अवस्थाको कठिनाइले समयमा नै उपचार नपाउँदा किसानले ठूलो नोक्सानी बेहोर्नु परिरहेको छ”, उहाँले भन्नुभयो । यसरी नै समय–समयमा नै दुर्गमका गाउँमा पशु स्वास्थ्य कार्यालयले शिविर सञ्चालन गरेर किसानलाई सेवा दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यालयले भूकम्प प्रभावित र दुर्गमका किसानलाई लक्षित गरेर सञ्चालन गरेको यस शिविरबाट यहाँका किसानलाई ठूलो राहत मिलेको कार्यालयका पशु चिकित्सक आचार्यको भनाइ छ । रासस

3265
Shares

ट्रेन्डिङ