सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • निक साइमन्स पुरस्कार जनस्वास्थ्य निरीक्षक श्रेष्ठलाई

निक साइमन्स पुरस्कार जनस्वास्थ्य निरीक्षक श्रेष्ठलाई

5230
Shares
निक साइमन्स पुरस्कार जनस्वास्थ्य निरीक्षक श्रेष्ठलाई

ग्रामीण स्वास्थ्यको समग्र गुणस्तर तथा पूर्वाधार विकासमा उत्कृष्ट योगदान दिएबापत सन् २०१६ को निक साइमन्स पुरस्कार प्युठान जिल्ला, बरौला स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक बालगोपाल श्रेष्ठले प्राप्त गर्नुभएको छ ।
निक साइमन इन्स्टिच्युटद्वारा स्थापित सो पुरस्कार हरेक वर्ष देशभरका स्वास्थ्यकर्मीमध्ये एक जनालाई प्रदान गरिन्छ । यस पटक सो पुरस्कारका लागि ६३ जिल्लाका एक सय १८ स्वास्थ्यकर्मीको आवेदन परेको थियो । इन्स्टिच्युटका संस्थापक डा जिम साइमन्स र उहाँकी पत्नी मेरिलिनले आफ्ना पुत्र निक साइमन्सको स्मरणमा स्थापित सो पुरस्कारको राशि रु एक लाख र साथमा सम्मानपत्र छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा श्रीकृष्ण भट्ट, अधिकृत सविन चौधरी र इन्स्टिच्युटका प्रशासकीय अधिकृत नवराज श्रेष्ठको छनोट समितिले सो छनोट गरेको हो । केन्द्र र इन्स्टिच्युटद्वारा संयुक्त रुपमा आयोजित आठौँ स्वास्थ्यकर्मी सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज यहाँ श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका समस्यालाई केन्द्रीय तहसम्म ल्याउने तथा समाधानसमेत गर्ने र चिकित्सक शिक्षा तथा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्न आयोजित सो सम्मेलनमा ६० जिल्लाका ९८ स्वास्थ्यकर्मी, पाँच विकास क्षेत्रका क्षेत्रीय निर्देशक एवम् मन्त्रालय र विभागका उच्च अधिकृतको सहभागिता छ ।
मन्त्री थापाले ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको पूर्वाधार तथा गुणस्तर विकासमा मन्त्रालयले प्राथमिकता दिएको जानकारी दिनुभयो । स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले संविधानप्रदत्त स्वास्थ्य अधिकारलाई पूरा गर्न मन्त्रालयले ध्यान दिएको र सङ्घीयताअनुरुप स्वास्थ्य सेवाका लागि संरचना तयार भएको जानकारी दिनुभयो ।
इन्स्टिच्युटका संस्थापक डा साइमन्स र उहाँकी पत्नी मेरिलिनले आगामी दिनमा नेपाललाई दिँदै आएको सहयोगमा थप गरिने जानकारी दिनुभयो । इन्स्टिच्युटले विशेष गरी ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई तालिम, स्वास्थ्य संस्थाको पूर्वाधार विकास, जनशक्ति विकास तथा उपकरणको व्यवस्थालाई आर्थिक एवम् प्राविधिक सहयोग दिँदै आएको छ ।
कार्यक्रममा इन्स्टिच्युटका नेपाल प्रमुख डा भेषबहादुर थापा, कार्यकारी निर्देश डा अनिल श्रेष्ठ र प्रशासन प्रमुख नवराज श्रेष्ठले इन्स्टिच्युटका बारेमा जानकारी दिनुभएको थियो । पुरस्कृत व्यक्तित्व जनस्वास्थ्य निरीक्षक श्रेष्ठले आफूले ग्रामीण क्षेत्रमा आफूले जानेका ज्ञान र सीप जनतालाई प्रदान गर्नाका साथै आफ्नो स्वास्थ्य चौकीको पूर्वाधार विकास तथा गुणस्तरका सेवामा काम गरेको जानकारी दिनुभयो ।

5230
Shares

ट्रेन्डिङ