सबैको समाचार
शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • कुनै पनि बैंकले राम्रो सेवा नदिईकन नाफा कमाउन सक्दैन

कुनै पनि बैंकले राम्रो सेवा नदिईकन नाफा कमाउन सक्दैन

4560
Shares
कुनै पनि बैंकले राम्रो सेवा नदिईकन नाफा कमाउन सक्दैन


माछापुच्छ्रे बैंकको समग्र अवस्था अहिले अत्यन्त सुदृढ रहेको छ । बैंकले आफूलाई देशको एक सबल र सक्षम बैंकको रुपमा स्थापित गरिसकेको छ । बैंकले शेयरधनीहरुलाई राम्रो रिटर्न दिइरहेको छ । गत आर्थिक वर्षमा बैंकले रु. ८९ करोड खुद मुनाफा कमाएको थियो भने यस वर्षको अघिल्लो छ महिनामा रु. ५७ करोड खुद मुनाफा कमाएको छ र बैंकको प्रति शेयर आम्दानी करिब रु २५ रहेको छ । बैंकको खराब कर्जा ०.३५ प्रतिशत मात्र रहेको छ ।
माछापुच्छ्रे बैंक बनाउने तपाइँका योजना कस्तो छ त ?
बैंकको आन्तरिक कन्ट्रोल सिस्टम, रिस्क म्यानेजमेन्ट र सुशासन पक्षलाई बलियो बनाउने, चुस्त राख्ने र दीगो (सस्टेनेबल) बिजनेज ग्रोथ हासिल गरी शेयरधनीलाई उच्चतम प्रतिफल दिने नै मुख्य योजना हो ।
त्यसको लागि कर्मचारीको मनोबल र क्षमता वृद्धि गर्नु पहिलो आवश्यकता हो ।
सेवाको गुणस्तरमा वृद्धि गर्नु, सेवाको दायरा (ग्राहक, क्षेत्र आदि) वृद्धि गर्नुलगायतका काम गरी समग्रमा एक सबल, उत्कृष्ट र विश्वसनीय बैंकको रुपमा बैंकको पहिचान अझ मजबूत गर्ने योजनाका साथ हामी अगाडि बढिरहेका छौं ।
पूँजी वृद्धि गर्ने योजना अब मर्जर हो की बोनस सेयर र राइट सेयर कसरी अगाडि बढ्ने योजना छ ?
गत वर्ष घोषणा भएको राइट सेयर जारी कार्य लगभग सम्पन्न हुने चरणमा रहेको छ । साथै, गत पौषमा बसेको बैंको साधारण सभाले निर्णय गरे बमोजिम २०.७५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत राइट शेयर पनि जारी गर्ने प्रक्रिया शुरु भइसकेको छ । यी सबै बोनस र राइट शेयर जारी भइसक्दा यसै आर्थिक वर्षमा बैंकको चुक्ता पूँजी रु. ७ अर्ब ३९ करोड पुग्नेछ ।
८ अर्बको लागि नपुगरु. ६१ करोड यस बर्षको मुनाफाबाट बोनस सेयर जारी गरी पुर्याउने योजना छ । त्यै पनि, मर्जर वा प्राप्तिको लागि केही वित्तीय संस्थाहरुको समेत हामी अध्ययन गर्दैछौं ।
माछापुच्छ्रे बैंकका पुराना बिग्रेका दर्जनौ कर्जा र फसेका पैसा उठाउने काम के भइरकेको छ ?
कतिपय पुराना बिग्रेका कर्जाहरु हामीले उठाइसकेका छौं भने बाँकी कर्जाहरुलाई राइट अफ गरिसकेका छौं । राइट अफ गरिसकेका कर्जाहरु पनि उठाउन ऋण असुली न्यायाधिकरणमा प्रक्रियामा रहेका छन् । पुराना खराब कर्जाको असर अब बाँकी छैन ।
माछापुच्छ्रे बैंक लार्इ देशकै महत्वपूर्ण बैंक बनाउने तपाइँको योजनाहरु के के छन् त ?
हामी बैंकलाई एग्रेसिभ ग्रोथ गरेर ठूलो बैंक मात्र बनाउने पक्षमा छैनौं । सुशासनमा सम्झौता नगरी, आन्तरिक कन्ट्रोल सिस्टम र रिस्क म्यानेजमेन्टलाई चुस्त बनाइ कुनै पनि पक्षमा सम्झौता नगरी बिजनेज ग्रोथ गर्ने रणनीति लिएका छौं ।
हामी बैंकलाई ब्यालेन्स सिटको साइजले मात्र ठूलो बनाउने हैन, ब्यालेन्स सिटको गुणात्मक पक्षलाई बढी फोकस गरिरहेका छौं । बैंकका समग्र इन्डिकेटरमा अगाडि रहने रणनीति लिई बैंकलाई अब्बल बैंक बनाउने दिशामा हामी उन्मुख छौं ।
ग्राहकवर्गको भरोसा जितेर हामी ठूलो बैंक बन्ने लक्ष्यका साथ अगाडि बढेका छौं । त्यसैले आगामी केही वर्ष भित्रै माछापुच्छ्रे बैंक देशकै महत्वपूर्ण बैंकको रुपमा स्थापित हुने विश्वास लिएका छौं ।
अहिले बजारमा तरलता अभाव रहको भनिन्छ नि के कुरा सत्य हो ?
तरलता भन्दा पनि बजारमा अहिले “लोनेबल फण्ड”को अभाव हो । निक्षेपकर्तालाई पैसा फिर्ता दिन नसक्ने अवस्था हैन । त्यस्तै आफ्ना ग्राहकका नियमित कर्जा आवश्यकता पूरा गर्न नसकिने अवस्था पनि होइन । केवल ठूलो परिमाणमा थप कर्जा प्रदान गर्न कठीन अवस्था मात्र हो ।
समस्त बैंकिंग क्षेत्रमा यस आ.व.को पहिलो त्रैमासमा कर्जामा उल्लेख्य वृद्धि हुनु र सोही अनुपातमा निक्षेप वृद्धि हुन नसक्नुले बजारमा यस्तो अवस्था आएको हो । हाल बैंकहरुले कर्जा प्रवाहमा नियन्त्रण गरीसकेको हुनाले र क्रमिकरुपमा निक्षेपमा वृद्धि हुदै जानाले यो अवस्थामा बिस्तारै सुधार आउँदै गएको साथै अपेक्षा गरिए अनुसार आउँदो महिनाहरुमा सरकारको पूँजीगत खर्चमा उल्लेख्य वृछि भएपछि थप सहज अवस्था हुनेछ ।
घर जग्गा कर्जामा लगानी हुनु र बैंकको पूँजी वृद्धिका कारणहरु तरलता अभाव भएको कुरा बाहिर आएको छ नि ?
बैंकहरुको पूँजी वृद्धिका कारणले बैंकहरुलाई लगानीमा प्रतिफल मेनटेन गर्न प्रेसर परेको र सोही कारणले एग्रेसिभ बिजनेस ग्रोथ गर्न खोजेको कारणले पनि केही हदसम्म यो समस्या निम्त्याउन भूमिका खेलेको छ जस्तो लाग्छ ।
गत वर्ष प्रतिकूल राजनैतिक परिस्थिति थियो जसले गर्दा उल्लेख्य मात्रामा कर्जा विस्तार हुन सकेको थिएन । जसले गर्दा यो वर्ष शुरु देखि नै कर्जा विस्तार उल्लेख्य भयो । आयात ह्वात्तै बढ्यो । तर सरकारी खर्च, रेमिटयान्स आदिमा आशातीत वृद्धि हुन सकेन ।
बैंक, वित्तीय संस्थाहरुमा सभासद सञ्चालक हुन नपाउने वाफिया पारित भएको छ यसले के कस्ता क्षेत्रमा असर पार्ला ?
कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नहोस् भनेर यो नियम आउन लागेको बुझाइ छ । कानून लागू भए पश्चात त्यसको अक्षरसः पालना सबैले गर्नैपर्छ । उक्त व्यवस्थाले त्यसै पनि सुशासनमा चलेको बैंकको सञ्चालनमा कुनै ठूलो प्रभाव पार्दैन जस्तो लाग्छ ।
एटिएम कार्ड, चोरी काण्ड बढेको छ । यसको सुरक्षाको लागि के गर्नु पर्ला ?
म्याग्नेटिक भन्दा चिप कार्ड बढी सुरक्षित हुन्छ । हामीले पनि चिप कार्ड जारी गर्न सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौं । छिटै नै ग्राहकहरुलाई चिप कार्ड प्रदान गछौं । साथै, एटीएम तथा एइक् मेशिनहरुपनि EMV कम्प्लायन्ट हुनु जरुरी छ ।
यसले एक तह सम्म एटीएम कार्ड सँग सम्बन्धित चोरी नियन्त्रण गर्छ । यस बाहेक ग्राहकहरु पनि आफ्नो कार्डको सुरक्षामा सचेत हुनुपर्छ । यसको लागि ग्राहक सचेततना कार्यक्रमहरु सञ्चालन गर्न जरुरी हुन्छ ।
कर्जा प्रवाहमा लिने र दिने दुवैको दायित्व हुन्छ तर लिने कारवाहीमा पर्ने दिनेको कुर्सीमा रहिरहनुको रहस्य के होला ?
मेरो विचारमा कर्जा लिनेको भन्दा कर्जा दिनेको बढी दायित्व हुन्छ । यदि बदनियतपूर्ण ढंगले कर्जा दिने र लिने कार्य भएको हो भने त्यो सरासर ठगी हो, गैह्र कानूनी कार्य हो र यस्तो अवस्थामा संलग्न सबैलाई कडा कारवाही हुनु पर्छ चाहे त्यो ग्राहक होस् वा बैंकर । धेरै बैंकरहरु कारवाहीमा पनि परेका प्रसस्त उदाहरणहरु हामीका छन् । त्यसैले कसूर अनुसार दिने र लिने दुवै कारवाहीमा परिरहेका छन् जस्तो लाग्छ ।
बैंकहरु नाफामुखी रहेको सामाजिक उत्तरदायित्वमा नआएको गुनासो जनता छ नि ?
कुनै पनि वाणिज्य बैंक नाफामूखी छैन भन्नु त सरसर झूठ बोल्नु हुन्छ । स्वाभाविक रुपमा अन्य कुनै पनि व्यापार व्यवसाय सरह बैंक पनि नाफामूखी हुन्छ ।
तर यसो भन्दैमा बैंकहरुले जथाभावी किसिमले नाफा कमाउछन् भन्ने चाँहि होइन । विद्यमान नियम कानून, नियमन निकायको निर्देशन तथा सुपरीवेक्षण, बैंकको आफनै आन्तरिक नियमहरु लगायत बजारको प्रतिस्पर्धा आदिको परीधिभित्र रहेर अत्यन्त पारदर्शी किसिमले बैंकले आय आर्जन गरेको हुन्छ । नाफा कमाउनुका साथै हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने प्रायः सबै बैंकहरुले आ–आफ्नै किसिमले विभिन्न सामाजिक उत्तरदायी कार्यहरु गर्दै आएका छन् ।
हाम्रो बैंकले पनि सामाजिक उत्तरदायित्वलाई पनि अत्यन्त महत्व दिएका छौं । उल्लेख्य बजेटको व्यवस्था गरी सम्पूर्ण शाखाहरुलाई आफू रहेको समुदायमा सामाजिक योगदान गर्न परिचालन गरेको छौं । सोही अनुरुप देशै भर विभिन्न सामाजिक कार्यहरु बैंकको अगुवाइमा सम्पन्न भएका छन् ।
साथै, हालै नेपाल राष्ट्र बैंकले पनि बैंकहरुलाई आफ्नो खुद मुनाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्न निर्देशन दिइसकेको हुनाले आगामी वर्षदेखि यो अझै उल्लेख्य रुपमा बढ्नेछ र सामाजिक उत्तरदायित्वका कार्यहरु अझ विस्तृत र व्यवस्थित हुन्छ भन्ने लाग्छ ।
बैंक सेवामुखी संस्था कि नाफामुखी प्रष्ट भनिदिनोस् न ?
दुवै हुन् । यी एक अर्काका पूरक हुन् । कुनै पनि बैंकले राम्रो सेवा नदिईकन नाफा कमाउन सक्दैन ।
बैंकिंग क्षेत्रका चुनौती के कस्ता छन् ?
अस्थिर राजनैतिक वातावरण,उच्च प्रतिस्पर्धा, सीमित बजार/वृद्धि, सूचना प्रविधिको विकास, जनशक्तिको सीप र क्षमताको वृद्धि, जनशक्तिको रिटेन्सन, सम्पत्तिको गुणस्तरलाई स्वस्थ कायम राख्नु, सेवाको गुणस्तरमा निरन्तर वृद्धि, गाउँ गाउँमा पुग्न नसक्नु, मनी लाउण्डरिंग आदि चुनौती छन् ।
नेपाल राष्ट्र बैंकले के कस्ता कुरामा ध्यान दिई निर्देशन गर्नु जरुरी होला ?
नेपाल राष्ट्र बैंकले समयानुकूल आवश्यक नीति निर्देशनहरु जारी गर्ने गरेकै छ । तर पनि कुनै कुनै कुरामा चाँहि बैकहरुसँग पनि पूर्व छलफल गरिदिए अझ सहज र प्रभावकारी हुने थियो जस्तो लाग्छ ।
बैंकहरु किन शहरमुखी मात्र भएका होलान् ?
एउटा बैंकलाई आफू सस्टेन भएर ग्राहकलाई सेवा प्रदान गर्न निश्चित मात्रामा बिजनेशको सम्भावना भएको ठाउँ आवश्यक पर्छ । जहाँ जनसंख्या धेरै छ, आर्थिक गतिविधिहरुको सम्भावना छ, त्यस्तो ठाउँ बैंकको प्राथमिकतामा परेको हो, चाहे त्यो शहर होस् या गाउँ ।
साथै, न्यूनतम पूर्वाधार पनि बैंक खोल्नलाई आवश्यक हुन्छ, जस्तै, सुरक्षा, यातायात, बिजुली आदि । तर नेपाल राष्ट्र बैंकले काठमाण्डौं उपत्यकाभित्र शाखा खोल्न दुर्गममा अनिवार्य खोल्नु पर्ने व्यवस्था गरेपछि बैंकहरु धेरै दुर्गम गाउँहरु सम्म पुगेका छन् । साथै, हाल प्रत्यक्ष विपन्न वर्ग कर्जा लगानी गर्नै पर्ने व्यवस्था पछि बैंकहरु अझै ग्रामीण भेगमा पुग्ने सम्भावना देखिन्छ ।
६० प्रतिशत जनताले बैंक र वित्तिय संस्थाको पहुँच कहिले पाउलान ?
जसरी नेपाल राष्ट्र बैंकले शाखा खोल्ने सम्बन्धी नीति लिएको छ र बैंक तथा वित्तिय संस्थाहरु पनि देशका विभिन्न ग्रामीण भेगहरुमा शाखा खोलिरहेका छन् तथा खोल्न उत्प्रेरित भएर लागेका छन् । मलाई लाग्छ निकट भविष्य मै अधिकांश जनताको पहुँचमा बैंकको सेवा तथा सुविधाहरु पुग्नेछ ।
अब व्यक्तिगत जीवन तिर जाऊँ ।
तपाइँ आस्तिक कि नास्तिक ?
आस्तिक
जीवनमा अति दुःखी भएको दिन ?
त्यस्तो खासै अनुभव भएको छैन ।
जीवनमा अति नै खुसी भएको दिन ?
छोरी जन्मेको दिन ।
जीवनमा के कस्ता सामाजिक उत्तरदायित्वका काम गर्नुभएको छ ?
व्यक्तिगत रुपमा केही बालबालिकाहरुको पढाई तथा अनाथालयमा सक्दो सहयोग गर्ने गरेको छु ।
परिवारमा कति सदस्य हुनुहुन्छ ?
३ जना
विश्वको मन पर्ने देश कुन हो ?
नेपाल
नेपालको मनपर्ने ठाउँ कहाँ हो ?
पोखरा
मदिरापान कत्तिको लिनुहुन्छ ?
संयमित ढंगले पिउँने गर्छु ।
चलचित्र कत्तिको हेर्नुहुन्छ ?
कहिलेकाँहि मात्र (२–३ महिनामा एक पटक जसो)
तपाइँको आफ्नो विचारमा देश बनाउन के गर्नुपर्ला ?
माथिबाट नै सुध्रिनु सुधार्नु पर्छ । सकारात्मक सोच लिएर अगाडि बढ्दै गर्नुपर्छ ।
तपाइँलाई गणतन्त्र, राजतन्त्र र प्रजातन्त्र कुन मन पर्छ ?
जुनसुकै तन्त्र भएपनि आम नागरिकले सुख शान्तिसँग बाच्न पाउनुपर्छ । भ्रष्टाचार, व्यथिति, अन्यौलता, अराजकता आदिको अन्त्य हुनुपर्छ । काम तथा व्यापार–व्यवसाय गर्न सहज वातावरण हुनुपर्छ ।
यदि तपाई देशको गभर्नर पाए कसरी चलाउनु हुन्थ्यो ?
गभर्नर बन्ने सोच, सपना बोकेको छैन ।
अन्त्यमा केही भन्नु छ ?
बैंकिंग व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र हो जसमा विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले राखेको निक्षेपको पूर्ण रुपमा सुरक्षा प्रदान गर्दै विभिन्न क्षेत्रहरुमा सुरक्षित लगानी गर्नुपर्ने दायित्व हुन्छ । नेपालमा आजको दिनमा बैंकिंग क्षेत्र पूर्ण रुपले जिम्मेवार, पारदर्शी (Transparent) र व्यवसायिक (Professional) ढंगले चलेको छ र देशको आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउदै आएको छ ।
तसर्थ, यस क्षेत्रबारे बेला बेलामा Generalize गरी गरिने नकारात्मक टिका टिप्पणीले सुशासनमा चलेका बैंकहरुलाई अलिकति पक्षपात (Unfair) भयो कि जस्तो लाग्छ । यस प्रति सरेकारवालाहरु सबै सम्वेदनशील भइदिनुहुनेछ भन्ने आशा गर्दछु ।

4560
Shares

ट्रेन्डिङ