सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • काभ्रेमा अब हरेक महिना ‘फुड फेस्टिभल’

काभ्रेमा अब हरेक महिना ‘फुड फेस्टिभल’

1850
Shares
काभ्रेमा अब हरेक महिना ‘फुड फेस्टिभल’

काभ्रेपलाञ्चोक, १८ भदौ । काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा जिल्लाका विभिन्न स्थानमा फुड फेस्टिबल गर्ने जनाएका हुन् ।

 

बनेपामा आज आयोजित पत्रकार सम्मेलनमा परम्परागत खाना, संस्कृति, वेषभूषा तथा स्वच्छ ‘हाईजेनिक’ परिकार प्रबर्द्धन गर्ने उद्देश्यले यही भदौ २२ र २३ गते जिल्लाको मुख्य सहर बनेपामा वृहत ‘काभ्रेपलाञ्चोक फुड फेस्टिबल, नेवारी सुकुल भोज तथा साँस्कृतिक कार्यक्रम’ आयोजना गर्नेसमेत जानकारी दिइयो । “बनेपापछि आगामी असोजमा जिल्लाको अर्को स्थानमा सोही कार्यक्रम गर्न संयुक्तरुपमा योजना बनाउनेछौँ”, होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका जिल्लाध्यक्ष श्यामकुमार भालुले भने ।

 

उनका अनुसार दुई दिन बनेपास्थित अरनिको पार्टी प्यालेसमा नेवारी सुकुल भोज तथा रेडक्रस चोकदेखि भीमसेनस्थानसम्मको मार्गमा फुड फेस्टिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । जिल्लाको अन्य स्थानमा गरिने फेस्टिबलमा बनेपामा गरिएकै प्रकृतिको कार्यक्रम गरिने छ । विशेषतः जिल्लाका मुख्य सहर तथा बजारमा गरिने कार्यक्रममा स्थान विशेष मौसम, तापक्रमका एवं मागका आधारमा रैथाने खाद्य परिकारको व्यवस्था गरिने सो अवसरमा बताइएको थियो । सङ्घमा जिल्लाका दुई सय होटल तथा रेष्टूरेन्ट र ७० पार्टी प्यालेस आबद्ध छन् ।

 

यसैगरी आउँदो असोज १९ गतेदेखि १६ दिन बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौँथो संस्करण आयोजना गरिने गरिने पनि सो अवसरमा जानकारी दिइयो । बनेपा ब्वाइज क्लबद्वारा आयोजना गरिने मेलामा आन्तरिक पर्यटनलाई आकर्षित गर्न, विभिन्न कृषि, धार्मिक, र साँस्कृतिक कार्यक्रम, औद्योगिक तथा हस्तकलाका सामग्री प्रबर्द्धन र खेलकुदको विकास गर्ने उद्देश्य रहेको सो अवसरमा बताइएको थियो ।

 

मेलामा कृषि, घरेलु सामग्रीलगायत एक सय स्टल रहने जनाइएको छ । मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको ब्यवस्था गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराएर सांस्कृतिक कार्यक्रमका साथै महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता गरिने जनाइएको छ । रासस

1850
Shares

ट्रेन्डिङ