सबैको समाचार
आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बन्चरो हानी भाउजूको हत्या

बन्चरो हानी भाउजूको हत्या

725
Shares
बन्चरो हानी भाउजूको हत्या

काठमाडौँ | सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ४ सखुवा गाउँमा देवरले बन्चरो प्रहार गरी भाउजूको हत्या गरेका छन् ।

स्थानीय करिब २५ वर्षीय मो. जियाउल राइनले सोमबार बिहान १० बजेतिर आफ्नै जेठी भाउजू अन्दाजी ३२ वर्षीया तञ्जिला खातुनलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

घरको आँगनमा रहेको हातेकलबाट पानी थापेर जाँदै गर्दा पछाडिबाट देवरले बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएका उनलाई तत्काल छिमेकीहरूले उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

मृतक तञ्जिलाको शव लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी सोमबार नै दाहसंस्कारका लागि परिवारलाई बुझाइएको उनले बताए।

लागूऔषध सेवन गरेर लठ्ठ परेका जियाउलले सुरुमा भाइ अताबुल र बुहारीलाई आक्रमण गर्न खोजेका थिए। उनीहरू भागेपछि कलबाट पानी लिएर जाँदै गरेकी जेठी भाउजूलाई बन्चरो प्रहार गरी गम्भीर घाइते बनाएको छिमेकीहरूले बताएका छन्।

बन्चरो प्रहारबाट भाउजू आँगनमै ढलेपछि जियाउल राइन गाउँदेखि पूर्वपट्टि पर्ने बलान खोला हुँदै भागेर सप्तरीको सुरुंगा नगरपालिकाको थलहा टिकुलिया पुगेका थिए। उनलाई इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी र गाउँलेको सहयोगमा बिहान ११ बजेतिर पक्राउ गरिएको लहान प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए।

मृतकको श्रीमान् सलिम राइन वैदेशिक रोजगारीको क्रममा पछिल्लो करिब आठ वर्षदेखि कुवेतमा रहेकाले तञ्जिलाले सात वर्षका छोरा र पाँच वर्षीया छोरीको साथमा घर–व्यवहार चलाउँदै आएकी थिइन्।

गाउँलेका अनुसार लागुऔषध अत्यधिक सेवन गर्दै आएका जियाउलले यसअघि पनि परिवारका सदस्यलाई पटकपटक आक्रमणको प्रयास गर्दै आएका थिए।

725
Shares

ट्रेन्डिङ