सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • १० लाख कोरोना खोप आज आइपुग्ने

१० लाख कोरोना खोप आज आइपुग्ने

5385
Shares
१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं, माघ ८ः नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण संकलन गरिसकेको छ । पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डा. श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।

उनले भने, ‘प्रत्येक व्यक्तिलाई दुई मात्रा कम्तीमा चार हप्ताको फरकमा लगाउनुपर्छ । एकपटकमा ०.५ एमएल मात्रा लगाउनुपर्ने हुन्छ ।’ यो खोप व्यक्तिको पाखुरामा लगाइन्छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ । खोप लगाउने ठाउँमा खोप लगाइसकेपश्चात् सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ । अवाञ्छित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ ।

डा. उप्रेतीले भने, ‘खोप लगाएपश्चात् कुनै घटना घटिहाले निष्पक्ष जाँचबुझ हुन्छ । अवाञ्छित घटना घटेपछि त्यसको जाँचबुझ गर्ने समिति छ । समितिले अध्ययन गर्छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप लगाउँदा कुनै समस्या देखिए उपचार खर्च सरकारले बेहोर्ने बताए । उनले भने, ‘खोप लगाउँदा कुनै समस्या देखिए उपचार सरकारले गर्छ । त्यसका लागि हामी तयारी अवस्थामा छौं ।’ नेपालको कानुनमा खोप लगाएपछि खोपकै कारण कुनै घटना घटे क्षतिपूर्तिको व्यवस्था छ ।

खोपलाई दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ । खोप लगाउन कसैलाई पनि बाध्य नपारिने र फराम भर्न लगाएर मात्रै खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गर्भवती, सुत्केरी, पहिलो मात्रा दिँदा समस्या देखिएका व्यक्तिलाई (दोस्रो मात्रा नदिने), १८ वर्ष उमेर समूह मुनिकालाई खोप दिन नमिल्ने खोप विज्ञहरू बताउँछन् । यस्तै, सिकिस्त बिरामीलाई अवस्था हेरेर केही दिनपछि पनि खोप उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

हालसालै भारतमा सेरम इन्स्टिच्युटको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्स खोप प्रयोगमा आएको छ । सो खोप एक जनाले दुई डोज लगाउनुपर्नेछ । पहिलो चरणमा ५ लाख नागरिकलाई खोप उपलब्ध गराइनेछ । नेपालको कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउनेछ । कानुनी, प्रशाशनिक, आर्थिक र प्राविधिक समस्या हल भइसकेको र खोप लगाउन सम्पूर्ण तयारी सम्पन्न भएको छ ।

थप खोप खरिद प्रक्रियासमेत सरकारले अगाडि बढाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा बुथ राखेर खोप कार्यक्रम सञ्चालन गरिनेछ । प्रत्येक बुथबाट खोप उपलब्ध गराइनेछ । खोप अभियानलाई सफल बनाउन ८ हजार स्वास्थ्यकर्मी परिचालन गरिँदै छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जिल्लामा तालिम भइरहेको छ । गत शुक्रबार नेपालले भ्याक्सिन आयातमा आपतकालीन स्वीकृति दिएको थियो ।

आज १० लाख डोज आउँदै
नेपाल सरकारको पहलमा भारत सरकारले नेपाललाई अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप १० लाख डोज (मात्रा) उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने खोप आज ९बिहीबार०नै नेपाल आइपुग्ने जानकारी दिए । नेपालमा आउने खोप कोभिसिल्ड हो ।

खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले नेपाल र भारतबीच मित्रताको अनुपम उदाहरण भएको भन्दै आगामी दिनमा खोप खरिदमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । उनले खोप ल्याउन आर्थिक, प्रशासनिक र प्राविधिक जटिलता नभएको बताए ।

बुधबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी अनुदानमा खोप उपलब्ध गराउनेबारे जानकारी गराइएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

 

5385
Shares

ट्रेन्डिङ