सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • भागरथी बलत्कार पछि हत्या प्रकरणः गाउँ नै शोकमा, परिवारले शव बुझेन

भागरथी बलत्कार पछि हत्या प्रकरणः गाउँ नै शोकमा, परिवारले शव बुझेन

7125
Shares
भागरथी बलत्कार पछि हत्या प्रकरणः गाउँ नै शोकमा, परिवारले शव बुझेन

काठमाडौं, माघ २५ः दोगडा–केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा उनको शव फेला परेको थियो ।

मृतकका बुबाको दुई महिनाअघि मृत्यु भएको थियो, दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन् । काखको छोरी गुमाउँदा मृतककी आमा द्रोपती पीडामा छिन् । श्रीमान् बितेको पीडामै रहेका द्रोपतीलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ ।

भागरथी बीभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशंका आफन्तको छ । कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनांगमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए ।

चडेपानीका केशव भट्टले अकल्पनीय घटना भएको बताए । गाउँकी छोरीको हत्या भएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शंकरदत्त भट्टको भनाइ छ । ‘विद्यालयबाट फर्किने वेला घटना भएको छ, यस घटनाले आफ्नो छोरीचेलीलाई विद्यालय पठाउनसमेत मुस्किल भएको छ,’ उनले भने ।

परिवारले शव बुझेको छैन । ‘अपराधी पत्ता लागेको छैन, शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ,’ उनले भने । मृतकको शव परीक्षणको रिपोर्ट एक–दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।

बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिँडडुल गर्नेलाई सोधपुछ गरिरहेको छ । घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार र बिहीबार कुन–कुन सवारीसाधन सञ्चालन भएका थिए, ती सवारीसाधनमा आवतजावत गर्ने व्यक्तिलाई पनि सोधपुछ भइरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मोती बमले बताए । ‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीलाई पनि सोधपुछ गरिरहेका छौँ,’ इन्चार्ज मोती बमले भने ।

घटनालाई गम्भीर रूपमा लिएकाले अनुसन्धान पनि तीव्र बनाएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।

अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली पनि परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई खटाई अनुसन्धानमा प्राविधिक सहयोगका लागि छुट्टै टोली खटाइएको हो ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

7125
Shares

ट्रेन्डिङ