सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ९ वर्षमा पौने १० लाख नेपाली पुगे कतार, के हुन्छ नेपालीको रोजगारी ?

९ वर्षमा पौने १० लाख नेपाली पुगे कतार, के हुन्छ नेपालीको रोजगारी ?

3750
Shares
९ वर्षमा पौने १० लाख नेपाली पुगे कतार, के हुन्छ नेपालीको रोजगारी ?

काठमाडौं, २३ जेठ । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०६२-६३ पछि गत आर्थिक वर्ष ०७२-७३ सम्म कामका लागि नेपालबाट नौ लाख ७१ हजार नेपाली कतार गएको उल्लेख छ । तीमध्ये गत वर्ष मात्रै एक लाख २९ हजार नेपाली कतार पुगेको विभागको तथ्यांकमा उल्लेख छ । अहिले पाँच लाख नेपाली त्यहाँ रहेको सरकारी अधिकारीको अनुमान छ । कतारमा समस्या हुँदा नेपालको श्रमबजार सबैभन्दा धेरै प्रभावित हुनेछ ।
कतारमा काम गरिरहेका नेपालीहरू समस्यामा पर्ने सम्भावना छ । कतारको अर्थतन्त्र कमजोर हुँदै जाँदा उनीहरूले रोजगारी गुमाउने र नेपाल फर्कने सम्भावना छ । कतारमा लगानी गरेका विदेशीको कम्पनी वा अन्य देशमा गई लगानी गरेका कतारी कम्पनीको भविष्य अन्योलमा परेपछि निश्चय नै नेपालीहरू प्रभावित हुनेछन् । नेपालबाट कतार जाने तयारीमा रहेका र बिदामा नेपाल फर्किएका कामदार पनि मनोवैज्ञानिक त्रासमा हुनेछन् ।
कतारका व्यवसायीले ती देशमा सञ्चालन गरेको कम्पनीमा नेपाली पनि कार्यरत हुन सक्ने भएकाले नेपालीहरू प्रभावित हुने अनुमान सरकारको छ । यस्तै, कतारले साउदी अरेबियाको बन्दरगाह प्रयोग गरेर व्यापार गर्ने भएकाले त्यस क्षेत्रमा कार्यरत नेपाली प्रभावित हुन सक्ने आँकलन गरिएको छ ।
मलेसियापछिको दोस्रो श्रम गन्तव्य नेपालको विप्रेषणको दोस्रो ठूलो स्रोत कतार हो । ‘कतारमा अन्य देशको तुलनामा कम पारिश्रमिक रहेकाले कामदारको तुलनामा रेमिट्यान्स कम आउँछ,’ रेमिटर्स एसोसिएसनका अध्यक्ष राजगोपाल राजभण्डारीले भने । कतारसँग नेपालको उल्लेखनीय व्यापार छैन । त्यसकारण यो निर्णयले द्विदेशीय व्यापारमा भने असर गर्दैन ।
छिमेकीले सम्बन्धविच्छेद गरेपछि कतारका लागि खाद्य संकटको समस्या पर्न सक्छ । प्राकृतिक र भौगोलिक कारण कतारले खाद्यान्न उत्पादन गर्न सक्दैन । उसलाई खाद्यान्न आयातका लागि साउदी अरेबियाले आफ्नो सिमानाका उपलब्ध गराएको थियो । साउदीको रुट हुँदै कतारमा उपभोग हुने ४० प्रतिशत खाद्यान्न आयात हुने गरेको छ । साउदीले यो ढोका पनि बन्द गरिदिनेछ ।
सूक्ष्म रूपमा हेरिरहेका छौँ : परराष्ट्र मन्त्रालय
खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, काएरो, रियादमा रहेका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।
-नयाँ पत्रिका

3750
Shares

ट्रेन्डिङ