सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • संसद्मा तीन नेताको जुहारी

संसद्मा तीन नेताको जुहारी

3925
Shares
संसद्मा तीन नेताको जुहारी

जेठ २४, काठमाडौं । प्रधानमन्त्री चयनको मतदान हुनु अघि बसेको संसदको बैठकमा तीन पार्टीका प्रमुख नेताहरुबीच जुहारी चलेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै दुई घण्टा बढी भाषण गरे । झण्डै डेढ घण्टा बोलेका ओलीलाई देउवा र प्रचण्डले पालै पालो जवाफ दिए । सरकारको नेतृत्व, स्थानीय चुनावमा भएको भरतपुरको मतच्यात्ने काण्डदेखि राजनीतिक संस्कार र इमान जमानका कुरा उठाएर उनीहरु सवाल जवाफमा उत्रिए ।
सुरुमा बोल्ने समय पाएका एमाले अध्यक्ष ओलीले निर्वाचनमा अस्वस्थ क्रियाकलाप गरिएको भन्ने आरोपबाट भनाई प्रारम्भ गरे । सत्ता पक्षबाट केही स्थानमा धाँधलीपूर्ण काम भएको उल्लेख गर्दै ओलीले त्यस्ता क्रियाकलाप रोक्नुपर्ने धारणा राखे । त्यसपछि ओलीले प्रधानमन्त्रीबाट किन राजिनामा दिएको भन्दै प्रचण्डमाथि प्रश्न तेर्‍र्साए । ‘सरकारविहिनताको अवस्था किन सिर्जना गरियो, उहाँ (प्रचण्ड)ले किन छोड्नु भयो, सहयात्रीले काम गर्न दिएनन् कि, नीति तथा कार्यक्रम, बजेट आएपछि छोडेको भए पनि हुने, के खण्ड पर्‍यो त्यस्तो ?’ ओलीले प्रचण्डमाथि प्रश्न गरे । ओलीको यो प्रश्नको जवाफ प्रचण्डले पेचिलो ढंगले दिए । ‘विगतमा भएको समझदारी पालना गर्ने तोड्ने गरियो, त्यसैले राजनीतिक संस्कार स्थापित गर्न जरुरी थियो र मैले कांग्रेससंगको सहमति अनुसार राजिनामा दिएको हुँ’ विगतमा आफूसंगको समझदारी ओलीले पालना नगरेको संकेत गर्दै प्रचण्डले जवाफ दिए,‘संस्कार भनेको मुखले बोलेर होइन, व्यवहारमा देखाउने हो ।’
एमाले अध्यक्ष ओलीले उठाएको अर्को प्रसंग थियो–प्रधानन्यायाधिस सुशीला कार्कीमाथिको महाअभियोग । एक महिनापछि छोडेर जाने प्रधानन्यायाधिसप्रति अपमानित गर्नेगरी महाअभियोग प्रस्ताव ल्याएको भन्दै ओलीले कांग्रेस र माओवादीको नियतमाथि प्रश्न उठाए । ‘संसदको मर्यादामा आघात पार्ने, दलीय हैसियतको दुरुपयोग गर्ने ? लोकतन्त्रका मुल्य मान्यतालाई मजाक नबनाउनुहोस्’ ओलीले भने । प्रधानन्यायाधीश कार्की सोमबार पेन्सनपट्टा बनाउन अर्थ मन्त्रालयमा पुग्दा महाअभियोगकै अवस्था रहेको भन्दै मन्त्रालयबाट फिर्ता पठाएदिएको घटनाबारे ओलीले नै संसदमा खुलासा गरे । ‘पेन्सनपट्टा बनाउन गएको व्यक्तिमाथि यतिसम्मको असहिष्णु व्यवहार ? यो के गर्न खोजेको हो’ ओलीको प्रश्न थियो । यो प्रश्नको जवाफ देउवा र प्रचण्ड दुबैले दिए । ‘महाअभियोग प्रस्ताव फिर्ता गर्ने भनिएको थियो, तर त्यो प्रस्ताव फिर्ता गर्न समेत नदिने गरी संसद चल्न नदिने को हो ?’ कांग्रेस सभापति देउवाले ओलीलाई देखाउँदै भने,‘संसद चल्न दिएको भए महाअभियोग औपचारिक रुपमा अस्ती फिर्ता भइसक्थ्यो, पेन्सन पट्टा पनि बनिसक्थ्यो ।’
प्रधानन्यायाधिसपछि ओलीको प्रहार सुरु भयो भरतपुरको मतपत्र काण्डतर्फ । ओलीले योजनाबद्ध ढंगले मतपत्र च्यात्ने काम भएको र त्यसमा सत्तापक्ष संलग्न रहेको तथ्य पेश गरे । यसो गर्नका लागि कहाँ कहाँ के–के योजना बनाइयो भन्ने सबै खोलिदिदा प्रचण्डलाई अप्ठेरो पर्ने होकी ? भन्दै ओलीले भित्री रहस्यका कुरा आफूसंग रहेको संकेत गरे । ‘सत्ताको आडमा सत्तापक्ष हार्न तयार नहुने हो भने, हामीले कहाँ कहाँ र को को व्यक्ति उम्मेद्वार भयो भने हराउन नपाइने हो भनिदिए हुन्छ हामी त्यही अनुसार माइन्ड मेकअप गर्छौ’ ओलीले व्यङ्गात्मक शैलीमा भने,‘जनताको फैसला प्रकट भएको मत च्यात्नु भनेको जनमतलाई अस्वीकार गर्नु हो ।’
ओलीले भरतपुर प्रकरणमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन आयोग र सत्तारुढ दल तिनवटै पक्षले विवेकपूर्ण काम नगरेको आरोप लगाए ।
यो प्रकरणमा लोकतन्त्रप्रति विश्वास राख्ने कांग्रेसको धारणा के हो भन्दै आफूले प्रश्न गर्दा देउवा चुपचाप बसेको प्रसंग ओलीले सुनाए । ‘नेपाली कांग्रेस अहिले मुखमा पानी राखेको जस्तो धेरै कुरामा बोल्न छोडेको छ, मतपत्र च्यात्ने काम भएको यसमा तपाई के भन्नु हुन्छ भनेर मैले देउवाजीलाई सोधेको थिए, केही भन्नु भएन’ ओलीले भने, ‘लोकतन्त्रको उपहास भयो भन्न कांग्रेस किन सक्दैन ?’ ओलीले मतपत्र च्यात्ने आपराधिक कामप्रति माओवादीको दृष्टिकोण के हो भन्ने प्रश्न पनि गरे ।
ओलीले त तानाशाही व्यवस्था कसरी आउँछ भन्दै हिटलर लगायतका विश्वका तानाशाही शासकको उदाहरण दिदै न्यायालय, निर्वाचन आयोग लगायतलाई दबाएर, थर्काएर राख्ने खालको प्रबृति देखा परेको धारणा प्रस्तुत गरेका थिए । ओलीले भरतपुर प्रकरणमा सोधेका प्रश्न र घटनामाथि सबै भन्दा बढी जवाफ प्रचण्डले दिए । उनले एउटा घटनालाई जोडेर माओवादीको योगदान र लोकतन्त्रप्रतिको निष्ठाप्रति समान्यीकरण नगर्ने ओलीलाई चेतावनी दिए । ‘मतपत्र च्यात्ने घटना दु:खद र गलत हो । निर्वाचन आयोग र अदातलको बिषयमा त्यो प्रवेश गरेको छ’ प्रचण्डले भने,‘कुनै एउटा घटनालाई यति धेरै सामान्यीकरण नगरियोस्, राजनीतिक लाभ उठाउने कोशिस नगरियोस्, माओवादीले लोकतन्त्र र गणतन्त्रकाका लागि कति गरेको त्यसको हेक्का रहोस् ।’
अध्यक्ष प्रचण्डले दोस्रो संविधान सभामा अनपेक्षित रुपमा हार्दै गएको परिणाम आएपछि राती दुई बजे सबै मतपत्र च्यात्ने जलाउने योजना पार्टीकै एक नेताले अघि सार्दा आफूले रोकेको प्रसंग समेत खुलाउदै चुनावप्रतिको निष्ठा रहेको पुष्टी गर्ने कोशिस गरे । ‘हामीले अनपेक्षित रुपमा चुनाव हारेको परिणाम आएपछि पहिले हाम्रै पार्टी भएका एक बरिष्ठ नेताले मतपत्र च्यात्ने, जलाउने गरेर आफ्ना प्रतिनिधिहरुलाई मतगणनास्थलबाट बाहिर निकाल्ने योजना ल्याउनुभएको थियो । त्यस्तो गरियो भने शान्ति प्रक्रियाप्रतिको हाम्रो निष्ठा र अहिलेसम्मका सबै उपलब्धी गुम्ने खतरा हुन्छ भन्दै मैले नै त्यो काम गर्नुहुन्न भनेर रोके’ अध्यक्ष प्रचण्डले भने,‘अहिलेको घटनामा कुनै केही लुकीछिपी कुरा छैन, केही छ भने खुलस्त भनिदिनुहोस् म समाना गर्न तयार छु ।’
प्रतिपक्षी दल एमालेमा अघि बढी नै दभ्भी बन्दै हिडेको आरोप प्रचण्डले लगाए । भरतपुर प्रकरणमा ओलीले उठाएको प्रश्नको जवाफ देउवाले पनि फर्काए । ‘निर्वाचन आयोग संधिवान अनुसार बनाइएको हो उसको निर्णय सबैले मान्नुपर्छ’ सभापति प्रचण्डले भने,‘विगतमा पनि मतपत्र च्यातेको हामीले देखेका छौ त्यस्तो बेला पुन मतदान भएको थियो,। अहिले यो बिषय अदालतमा विचाराधिन छ, त्यसैले धेरै नबोलौ ।’
ओली एमाले मधेस विरोधी भन्दै सत्तारुढ दलहरुले लगाउने गरेको आरोपको खण्डन गर्न तथ्य सहित प्रस्तुत भए । उनले कांग्रेसले विभेद गर्‍यो भन्दै विद्रोह गरेर हिड्ने २००८ सालका बेदानन्द झादेखि महन्थ ठाकुर सम्मको प्रसंग अघि सारे । त्यस्तै कांग्रेसको नेतृत्वमा २०५० साल देखि पटक पटक मधेसी दल र नेताहरुसंग भएका सम्झौता र पलना नभएको फेहरिस्त ओलीले पेश गरे । लिखित तथ्यसहित रोस्ट्रममा उभिएका उनले एमाले कसरी मधेस विरोधी भन्दै अन्य दलको विभेदकारी गतिविधिको हिसाब देखाउन थाले ।
पछिल्लो गणतन्त्र दिवसको दिन सरकारले दिने तक्मामा मधेसीलाई सम्मान गरियो कि विभेद भन्दै तथ्यांक पेश गरे । ‘आधा जनसंख्या छ भन्नेहरुले नै ५सय १४ पदक दिदा मधेसीलाई ५४ वटा त्यो पनि हुल मुलका पदक दिए, अनि सम्मान कि अपमान भयो त ?’ ओलीले भने,‘आवेश र उत्तेजनामा भडाउने काम नगर्नुहोस् ।’ पदकको जवाफ देउवाले दिए । ‘पदक दिने व्यक्ति त मधेसकी थिए नी विमलेन्द्र निधि र विजयकुमार गच्छदार पदक दिने ठाँउमा हुनुहुथ्यो ।’ ओलीले १० महिना अघि आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोज्न लगाएका आरोपहरुमा कति प्रगति भयो भन्दै प्रचण्डलाई प्रश्न गरे । भुकम्पपीडित त्रिपालमै बस्नु पर्‍यो भन्नु हुन्थ्यो १० महिनामा के गर्नुभयो ? पक्की घरमा छिराईसक्नुभयो ?’ ओलीले भने,‘१० महिनामा एउटा सिइओ फेर्नुभयो, जनता जस्ताको तस्तै छन् ।’ शान्ति प्रक्रिया धरापमा पर्न लागेको भन्ने माओवादीको आरोप थियो । त्यसमाथि के प्रगति भयो भन्दै ओलीले अर्को प्रश्न अघि सारे । ‘शान्ति प्रक्रिया कति अघि बढ्यो ? काम त परै जाओस् सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यको बीच बन्द भएको बोलचाल समेत खुलाउनु सक्नु भयो ?’ ओलीले भने ।
ओलीले आफ्नै पालामा लोडसेडिङ अन्त्यको प्रयास भएको, ६ प्रतिशत भन्दा बढी आर्थिक बृद्धिको लक्ष्य राखेर बजेट ल्याएको, तराईको राजमार्ग फराकिलो पार्ने, हुलाकी राजमार्गमा स्मार्ट सिटी बनाउने योजना अघि सारेको प्रसंग ल्याए । तिनै काम अहिले प्रचण्डले गरेको भनेर ‘जुंगामा ताउ’ लगाइरहेको भन्दै ओलीले अभिनय सहित रोस्ट्रमा देखाए । ‘फास्ट ट्रयाक आफै बनाउने योजना लयएको थियो थियो त्यही अनुसार बजेटको व्यवस्था थियो त्यसैले अहिले दोस्रो पटक शिलान्यास गर्ने अवसर पाउनुभयो’ ओलीले प्रचण्डले फास्ट ट्रयाकको शिलान्यास गरेकोमा व्यंग गर्दै भने ।
फास्ट ट्रयाकको विगतमै एक पटक शिलान्यास भइसकेको थियो । ओलीले उठाएको यो प्रसंगको प्रचण्डले जवाफ दिए । ‘फास्टट्रयाकको जस तपाईं नै लिनुहोस् तर मुख्य कुरा बाटो बनोस्’ प्रचण्डले भने,‘अघिल्लो बजेटमा भनिएको ७ प्रतिशतको बृद्धि त्यतिकै आएको होइनहोला काम गरेरै आएको होला नि ?’
-कान्तिपुर

3925
Shares

ट्रेन्डिङ