सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पहिलो चरणको सबै मतपत्र छापियो, दोस्रो चरणको छाप्न सुरु

पहिलो चरणको सबै मतपत्र छापियो, दोस्रो चरणको छाप्न सुरु

2610
Shares
पहिलो चरणको सबै मतपत्र छापियो, दोस्रो चरणको छाप्न सुरु

काठमाडौं, कात्तिक २१ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएको छ । छापिएका मतपत्रलाई निर्वाचन आयोगले धमाधम सम्बन्धित जिल्लामा पठाउन थालेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिने बताए ।

सर्वोच्च अदालतको आदेशपछि आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको अलगअलग मतपत्र छाप्ने निर्णय गरेको थियो । एउटै पानामा तल र माथि दुवै मतपत्र छाप्ने तयारी भएका बेला उक्त निर्णयलाई परिवर्तन गरी आदेशअनुसार आयोगले अलगअलग मतपत्र छापेको हो ।

कात्तिक १० बाट एउटै पानामा मतपत्र छाप्ने कार्यतालिका थियो तर सर्वोच्चको आदेशका कारण १२ गतेबाट अलगअलग मतपत्र छाप्न थालिएको थियो । अलगअलग छाप्नुपर्ने भएपछि थप समय लाग्ने अनुमानविपरीत एक दिनअगावै सबै मतपत्र छापिएको छ । पहिलो चरणको मतपत्र २० गतेसम्म छापिसक्ने र दोस्रो चरणको २१ गतेदेखि छाप्ने कार्यतालिका थियो तर एक दिनअगावै पहिलो चरणको छाप्ने काम सकिएपछि दोस्रो चरणको छाप्न थालिएको छ ।

आयोगले कात्तिक २० गते जनक शिक्षा सामग्री केन्द्रलाई दोस्रो चरणको सुर्खेत, दैलेख, सल्यान, अछाम, डोटी, डडेलधुरा र कञ्चनपुर ७ जिल्लाका प्रतिनिधिसभातर्फका १२ र प्रदेशसभातर्फका २४ वटा निर्वाचन क्षेत्रको मतपत्र छाप्न निर्देशन दिइसकेको छ । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको गरी ७५ लाख मतपत्र छापिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् । प्रत्येक सभाका लागि १२ प्रतिशतका दरले बढी संख्यामा मतपत्र छापिएको उनले बताए । पहिलो चरणका लागि छापिएका मतपत्र २२ जिल्लामा पठाइसकिएको छ ।

‘उम्मेदवार कम भएकाले सानो आकारका मतपत्र हुँदा छपाइ छिटो भएको हो,’ आयुक्त दाहालले भने, ‘दोस्रो चरणमा पनि काठमाडौं र तराईका केही जिल्लाबाहेकका मतपत्र पहिलो चरणकै जस्तै आकारमा हुनेछन् ।’ पहिलो चरणमा २ देखि बढीमा १७ जना उम्मेदवार छन् । अधिकांश निर्वाचन क्षेत्रमा १० जनाभन्दा कम उम्मेदवार छन् । त्यसअनुसार ‘ए फोर’ पानाभन्दा पनि केही सानो आकारका मतपत्र तयार भएका छन् । पहिलो चरणमा तेर्सोमा चारवटा र ठाडोमा पाँचवटा लहर हुने गरी २० वटा चिह्न अट्न सक्ने गरी मतपत्र छापिएको छ । प्रत्येक निर्वाचन क्षेत्रको फरकफरक मतपत्र हुनेछ । मतपत्रमा कम उम्मेदवार भएका स्थानमा थोरै र बढी भएका स्थानमा त्यही संख्यामा निर्वाचन चिह्न छन् ।

दोस्रो चरणमा प्रतिनिधिसभातर्फ ३१ र प्रदेशसभातर्फ ३५ जनासम्म उम्मेदवार छन् । दोस्रो चरणमा प्रतिनिधिसभातर्फ २० जनाभन्दा बढी उम्मेदवार भएका निर्वाचन क्षेत्र १४ छन् । प्रदेशसभातर्फ २० बढी उम्मेदवार हुने क्षेत्रको संख्या पनि त्यही हाराहारीमा छ । २० भन्दा बढी उम्मेदवार भएका निर्वाचन क्षेत्रमा त्यहीअनुसार ठाडोमा निर्वाचन चिह्नको लहर थपिनेछ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाको २ सय ५६ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । दोस्रो चरणमा धेरै मतदाता र निर्वाचन क्षेत्र छन् । आयोगले सबै मतपत्र छापेर मंसिर ११ भित्र जिल्ला पठाइसक्ने लक्ष्य राखेको छ ।

मतदाताले तीन थरी मतपत्र पाउनेछन् । सेतो कागजमा हरियो मसीले चिह्न रहेको प्रतिनिधिसभाको र सेतो कागजमा कालो मसीले चिह्न छापिएको प्रदेशसभाको मतपत्र हुनेछ । सेतो कागजमा रातो मसीले चिह्न छापिएको समानुपातिकतर्फको मतपत्र हुनेछ । एक मतदाताले तीनवटा मतपत्रमार्फत चारवटा मतदान गर्न पाउने प्रवक्ता ढकालले बताए । समानुपातिकतर्फ एउटै पानामा दुवै सभाको मतपत्र छापिएको छ ।
-कान्तिपुर

2610
Shares

ट्रेन्डिङ