सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • इजलासले खोजेपछि राजपत्रमा सूचना

इजलासले खोजेपछि राजपत्रमा सूचना

4330
Shares
इजलासले खोजेपछि राजपत्रमा सूचना

काठमाडौं, माघ १०ः बहसका क्रममा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति कार्यालयबाट जारी सूचनाको विषयमा प्रश्न उठेपछि राजपत्रमा प्रकाशित गरी इजलासमा बुझाइएको छ । प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासबाट बिहीबार माग भएपछि सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो । सो सूचना महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबारको सुनुवाइमा इजलासमा बुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति कार्यालयबाट पुस ५ मा स्वीकृत भएको सूचना जारी गरिएको थियो । सूचना राजपत्रमा भने प्रकाशित गरिएको थिएन । इजलासले माग गरेपछि पुस ५ कै मिति राखेर राजपत्रमा सूचना माघ ९ को बिहान १० बजेर २९ मिनेटमा अनलाइन प्रकाशित भएको छ ।

सुनुवाइका क्रममा बिहीबार अधिवक्ता ओमप्रकाश अर्यालले विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित नहुनु अनधिकृत भएको टिप्पणी गरेका थिए । सूचना नै अनधिकृत भएकाले राष्ट्रप्रमुखले फिर्ता लिनसक्ने उनको दाबी थियो । त्यसपछि न्यायाधीश अनिलकुमार सिन्हाले सूचना प्रकाशित भएको राजपत्र महान्यायाधिवक्ताको कार्यालयमार्फत उपलब्ध गराउन आग्रह गरेका थिए । सर्वोच्चमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार नौजना कानुन व्यवसायीले बहस गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा शुक्रबार पनि कानुन व्यवसायीले राष्ट्रपति र प्रधानमन्त्रीको कदम संविधानविपरीत भएको तर्कसहित बहस गरे । वरिष्ठ अधिवक्ता नरहरि आचार्यले विघटनबाट अस्थिरता निम्तिएको दाबी गरे । ‘बहुमत आए नि विघटन, अल्पमत आए नि विघटन’, उनले भने, ‘संविधानमा व्यवस्था नभएको विषयमा पनि प्रधानमन्त्रीले विघटन गर्दा अस्थिरता बढेको छ ।’ वरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले संविधानमा दुईवटा परिस्थितिमा मात्र प्रतिनिधिसभा विघटन गर्न सकिने व्यवस्था भएको बताए । उनले संविधानको धारा ७६ को उपधारा १ र ७ मा मात्र विघटनको विकल्प भएको तर अहिलेको अवस्था त्यसअनुसार नभएको तर्क गरे ।

बहसमा सहभागी अधिवक्ता राजुप्रसाद चापागाईंले २०१५ सालको संविधानको उदाहरण दिएका थिए । उनले २०१५ सालको नेपाल अधिराज्यको संविधानको धारा २६ उपधारा २ ९ख० मा ‘श्री ५ बाट मन्त्रिमण्डलले प्रतिनिधिसभा विघटन गर्न चढाएको सिफारिस मौसुफको विचारमा विघटन गर्न पाउने अधिकारको दुरुपयोग लागेमा मौसुफको स्वविवेकमा सिफारिस अस्वीकार गर्न सक्ने’ व्यवस्था भएको प्रसंग सुनाए । ‘प्रतिनिधिसभा विघटनको सिफारिस सरासर स्वीकृत गर्नुको सट्टा त्यस बेला पनि राजाले अधिकारको दुरुपयोग गरेको लागेमा अस्वीकार गर्न सक्थे तर अहिले सजिलै स्वीकृत भयो’, उनले भने । संसद्को पहिलो काम सरकार दिने, त्यसपछि कानुन बनाउने भएको उनले बताए ।

न्यायाधीश सपना प्रधान मल्लले संसदीय अभ्यासको मोडलबारे प्रश्न गरेपछि जबाफमा चापागाईंले संसद् परीक्षण र सन्तुलनका आधारमा चल्नुपर्ने बताए । अधिवक्ता शालिकराम सापकोटाले प्रधानमन्त्री ओलीलाई राजा ज्ञानेन्द्रसँग तुलना गर्दै अहिलेको कदम ज्ञानेन्द्रको जस्तै भएको बताए । ‘ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका थिए । किन भएन चुनाव ? प्रतिनिधिसभा भंग गरेपछि ताजा जनादेश भनेको के’, उनले प्रश्न गरे । प्रतिनिधिसभा नै ताजा जनादेश भएकाले विघटन गरी चुनाव तोक्नुको अर्थ नभएको तर्क उनको थियो ।

शुक्रबार अधिवक्ताहरू उमेशप्रसाद, गुणराज घिमिरे र ताराप्रसाद तिमल्सेनाले पनि बहस गरेका थिए । आइतबारदेखि एक सातासम्म लगातार सुनुवाइ चलिरहेको मुद्दामा शुक्रबारसम्म ३५ जना कानुन व्यवसायीले बहस गरेका छन् । बहसमा कानुन व्यवसायीले संविधानमा नभएको धारामा टेकेर प्रधानमन्त्रीले विघटन गरेको दोहोर्‍याएका छन् ।

कानुन व्यवसायीले बहसमा उही कुरा दोहोर्‍याउने र समयलाई ख्याल नगरेका कारण इजलासले नै वरिष्ठ अधिवक्ता र अधिवक्तालाई हेरी समय छुट्याएको छ । बहस समयमै सक्न इजलासले बारम्बार आग्रह गरिरहेको छ । यस मुद्दामा रिट निवेदकका तर्फबाट १ सय ८८ जना, प्रधानमन्त्रीका तर्फबाट ४० जना, सभामुखलगायतका तर्फबाट गरी २ सय ५० जनाभन्दा बढी कानुन व्यवसायीको वकालतनामा परेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

4330
Shares

ट्रेन्डिङ