सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

1300
Shares
दुई पाइलटबीच युनिफर्ममै कुटाकुट

काठमाडौँ | रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको छ । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको काठमाडौंस्थित नागरिक उड्डयन प्राधिकरणका एक उपनिर्देशकले बताए ।

कुटाकुटको कारण भने खुलेको छैन । ‘घटनाको जाँच विवरण लिँदैछु,’ रामेछाप विमानस्थल प्रमुख अशोक थापाले भने,‘बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन सन्तोष साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जाने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच झगडा परेको हो ।’

प्राधिकरणका उपनिर्देशकका अनुसार, दुवै जना क्याप्टेनको ड्युटी अदलीबदलीको समय थियो । ‘क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए,’ ती उपनिर्देशकले भने,‘सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले । उनी लडेपछि दुई जनाले हानाहान गरे ।’ घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गर्न जान लागेको कान्तिपुरलाई प्रतिक्रिया दिए । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।

‘सञ्जीवले हाम्रो आपसी मामिला हो । जहाज उडाउन सक्छु भनेर गए,’ रामेछाप विमानस्थल प्रमुख खड्काले भने,‘अहिले त्यो जहाज र क्याप्टेन श्रेष्ठलाई लुक्ला विमानस्थलले उतै ग्राउन्डेड गरेको छ भने क्याप्टेन साहलाई रामेछापमै ग्राउन्डेड गरिएको छ ।’ घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।

यस घटनाका बारेमा तारा एयरलायन्सका प्रवक्ता सुर्दशन बर्तौलाले कम्पनीबाट इन्क्वायरी भइरहेको बताए । ‘यो झगडा उनीहरूको व्यक्तिगत विषयमा भएको देखिन्छ । एयरलायन्स र उडानसँग सम्बन्धित होइन,’ उनले भने, ‘यसबारेमा कम्पनी अनुसन्धान अघि बढाइसकेको छ ।’

1300
Shares

ट्रेन्डिङ