सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सीजी सिमेन्ट उद्योगमा तालाबन्दी

सीजी सिमेन्ट उद्योगमा तालाबन्दी

845
Shares
सीजी सिमेन्ट उद्योगमा तालाबन्दी

पाल्पा | प्रदुषण नियन्त्रणको माग गर्दै पाल्पाको रैनादेवी छहरा–२, सोमादीस्थित सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दालले तालाबन्दी गरेका छन् । सर्देवा, भवानी, भर्ले, तान्सिंगल, सोमादी, जोगीथुप र देउराली लगायतका स्थानीयको भेलाले प्रदुषण नियन्त्रणमा लापरवाही गरेको भन्दै शनिबार कम्पनीमा तालाबन्दी गरेका हुन् ।

स्थानीयको तालाबन्दीपछि उत्पादनका काम ठप्प भएको कम्पनीले जनाएको छ । स्थानीय केशव पोखरेलका अनुसार पटक पटक सीजी सिमेन्ट उद्योगका प्रतिनिधिलाई अनुरोध गर्दा समेत आफ्ना माग पूरा नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उनले बताए । स्थानीय बासिन्दाले सीजी सिमेन्ट उद्योगको प्रशासनमा तालाबन्दी गरिदिएका हुन् ।

सीजी सिमेन्ट प्रालि संचालन गर्दा धुलोधूँवा, प्रदुशषणका कारण समस्या देखिएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको स्थानीयको आरोप छ । कम्पनीले आफ्ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दीमा उत्रिनु परेको स्थानीय बिजय ज्ञवालीले बताए । पशुचौपायामा रोग देखिएको, खेतबारीका घांस पशुचौपायाले नखाएको, कृषि, खेतबारीका अन्नमा विभिन्न खालका समस्या देखिएको स्थानीयले बताए । कम्पनी संचालन ऐन मापदण्ड पूरा नगरी जनताको नैसर्गिक अधिकार हनन हुनेगरी संचालन गरेको आरोप स्थानीयको छ ।

कम्पनी संचालन गर्दा कम्पनी संचालन ऐन पूर्णरुपमा पालना गरी आवश्यक मापदण्ड पूरा गरी संचालन गर्नुपर्ने स्थानीयको माग रहेको रैनादेवी छहरा गाउँपालिकाका–२, सोमादीका वडाध्यक्ष दान बहादुर पौडेलले बताए । वडाध्यक्ष, स्थानीय बासिन्दा र कम्पनीका प्रतिनिधिहरु बिच छलफल भए पनि सहमती हुन सकेको छैन ।

वडाध्यक्ष पौडेलले जनप्रतिनिधि, स्थानीय समाजसेवी, अगुवा बसेर समस्या समाधानको पहल भइरहेको बताए । स्थानीय सरकारले कम्पनीसंग समन्वय गरेर वातावरणीय प्रदूषण कम गराउने, धुलोधूवाले पारेको असर प्रति सजग गराएको उनले बताए । सीजीले स्थानीयको मागप्रति वेवास्ता गरेको आरोप लाग्दै आएको छ । सीजी सिमेन्टका प्रशासन प्रमुख पदम बहादुर सिंहले स्थानीय बासिन्दा, वडाध्यक्ष लगायतसंग बसेर तालाबन्दीका विषयमा छलफल भइरहेको बताए । ‘हामीले धुलोधूवा नियन्त्रणका लागि प्रयास गरिरहेका छौं,’ उनले भने, ‘स्थानीयको माग अनुसार नै हामीले कम्पनी संचालन गर्ने प्रयास गरेका हौं ।’

रैनादेवी छहरा, सोमादीको सर्देवामा सीजी सिमेन्ट उद्योगले झण्डै ५ सय रोपनी जग्गा रहेको छ । कम्पनी संचालनको सुरुवाती चरणमा यस्ता समस्या आइरहने र बिस्तारै समाधान हुने प्रशासन प्रमुख सिंहले बताए । ‘हामीले प्राबिधिकहरुको टोली ल्याएर समस्याको समाधान निकाल्दैछौं,’ उनले भने । कम्पनीले स्थानीयलाई रोजगारमा प्राथमिकता, धूलोधुवा हुन नदिन दैनिक पानी राख्ने, ढल निर्माण लगायतका काम गरेको उनले बताए ।

845
Shares

ट्रेन्डिङ