सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शालिन मृत्यु प्रकरण : प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा

शालिन मृत्यु प्रकरण : प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा

330
Shares
शालिन मृत्यु प्रकरण : प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतनकी छात्रा शालिन पोखरेल मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित तीनै जना धरौटीमा रिहा भएका छन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै धरौटी बुझाएर उनीहरु रिहा  भएका हुन् ।

शालिन मृत्यु प्रकरणमा पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा तीन लाख र सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा ५/५ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

१२ फागुनमा शालिन छात्रावासमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि शालिनका बाबुले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी पछि शिशु निकेतनका प्रधानाध्यापक, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा  लाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरी अनुसन्धान पोस्टमार्टम रिपोर्ट, भिसेरा परीक्षण लगायतबाट शालिनको हत्या नभई आत्महत्या भएको पुष्टि भएको प्रहरीको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्रीराम भण्डारीका अनुसार आत्महत्याका लागि विभिन्न वातावरण सिर्जना भएको देखिएपछि आत्महत्या दुरुत्साहनको मुद्दा चलाइएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख गरिएअनुसार होस्टल वार्डेन कमलप्रसाद शर्माले प्रश्ना भट्टराई नाम गरेका अर्का छात्राको बाकसबाट दुई वटा चाउचाउ हराएको जानकारी पाएका थिए । उक्त चाउचाउ शालिनको बाकसमा भेटिएको पनि होस्टल वार्डेन शर्मालाई थाहा थियो ।

उक्त कुरा होस्टल वार्डेन शर्माले तत्कालै शालिनका अभिभावकलाई नभनेको र आफू स्वयंले समेत शालिनलाई गल्ती गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

प्रधानाध्यापक बालहरि र सहप्रधानाध्यापक किरणबहादुरले छात्रा होस्टल सञ्चालन जस्तो संवेदनशील विषयलाई गम्भीरताका साथ नलिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

330
Shares

ट्रेन्डिङ