सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

4565
Shares
लोकतान्त्रिक फोरमको घोषणापत्र सार्वजनिक

काठमाडौँ, २४ वैशाख । नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ । स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।
विश्व प्रविधिमा आएको परिवर्तनसँगै स्थानीय तहलाई उच्च प्राविधिक सुविधा सम्पन्न बनाई जनताका सेवा चुुस्त र दुरुस्त बनाउने नीति लिएको फोरमले स्थानीय तहको कर्मचारी प्रशासनलाई समानुपातिक, समावेशी बनाउने घोषणापत्रमा उल्लेख छ । लोकतान्त्रिक समाजवादलाई मूल राजनीतिक दर्शन मानेर सङ्घीय र प्रदेशको जातीय जनसङ्ख्याको अनुपातमा समानुपातिक समावेशी शासन प्रणाली अवलम्बन गर्दै समानतामा आधारित समृद्ध आधुनिक नेपालको निर्माण गर्ने अठोट लिएको छ ।
“सङ्घीय र समानुपातिक समावेशी लोकतन्त्रको सुनिश्चितता–अधिकार, विकास र भ्रष्टाचारमुक्त प्रशासन हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित ल्याइएको घोषणापत्रमा तराई, मधेस, महाड र हिमाललाई जोड्न र भावनात्मक एकतालाई अझ बलियो र विश्वासिलो बनाउने तथा भ्रष्टाचारमुक्त जनमुखी प्रशासन बनाउने लक्ष्य लिइएको छ ।
सत्ताइस बुँदे घोषणापत्रमा उत्पादनमूलक विकास गरी रोजगारीको सिर्जना गर्ने, विदेश पलायनलाई निरुत्साहन, विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह, वैदेशिक लगानीको प्रोत्साहन, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको विकासका लागि अवधारणा समेटिएको छ ।
त्यस्तै सडक सुविधा नपुगेको हिमाली र पहाडी क्षेत्रमा रञ्जुमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने सुरुङमार्ग निर्माणका लागि स्थानीय पूर्वाधार निर्माणमा लोकतान्त्रिक फोरमले प्रतिबद्धता जनाएको छ ।
उक्त घोषणापत्र सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तीन ठूला राजनीतिक दलले मुलुकको राजनीतिलाई बिगारेको भन्दै निर्वाचनबाट आफ्नो पार्टी ठूलो बनेर नेतृत्वदायी भूमिका खेल्ने दाबी गर्नुभयो ।
मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा दिन आफ्नो पार्टीको नेतृत्वको आवश्यकता औँल्याउँदै उहाँले लोकतान्त्रिक फोरमले कुनै एउटा क्षेत्र, भू–भाग, जाति विशेष नभई तराई–मधेस, पहाड र हिमालका सबै जनताको आस्था बोक्ने पार्टीका रुपमा उदाउने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय जनता पार्टी, नेपाल पिपल्स पार्टी, युनाइटेड नेपाल रिपब्लिकन पिपुल्स पार्टी र शान्ति पार्टी नेपालका अध्यक्ष, पदाधिकारीसहितका नेता कार्यकर्ता नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए । चारवटै पार्टीका अध्यक्ष क्रमशः नेत्रबहादुर लिम्बू, शेरबहादुर कार्की, धीरेन्द्र झा र देवीप्रसाद आचार्यले एकल जातीय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने लक्ष्य लिएर गरिएको पार्टी एकीरणले हिमाल, पहाड र तराईलाई एक सूत्रमा बाँध्ने अठोट लिएको बताउनुभयो । रासस

4565
Shares

ट्रेन्डिङ