सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर

भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर

3155
Shares
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर

चितवन, जेठ ५ । भरतपुर महानगरपालिकाको मेयरका लागि भइरहेको मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालका वीच तीब्र प्रतिस्पर्धा सुरु भएको छ । शुरुवाती लिड गरेका ज्ञवाली वडा नः ६ मा पुग्दा कमजोर देखिएका छन् भने रेणु दाहालले आफ्नो अवस्थामा सुधार गरेकी छिन् ।महानगरको वडा नः ५ मा प्रवेश गर्दा देवी ज्ञवालीले ७३४७ मत ल्याएका थिए भने रेणुले ५७३४ मत मात्रै पाएकी थिइन् । त्यस्तै वडा नं ४ बाट ५ मा जाँदा ज्ञवाली र दाहालको मतान्तर १६१३ थियो ।
वडा नम्वर ५ कांग्रेसको बलियो प्रभाव भएको क्षेत्र हो । तर, यो वडामा एमाले वडाध्यक्षका उम्मेदवार पदमपाणि सुवेदीले ९३ मतान्तरले कांग्रेसका उम्मेदवार भक्ति तिमिल्सिनालाई हराए । यो वडामा सुवेदीले आफुले मात्रै जितेनन्, ज्ञवालीलाई १६१३ को अग्रतामा १६६ मत थपेर पठाइदिए । महानगरको वडा नः ६ पनि कांग्रेस र माओवादीको बलियो प्रभाव क्षेत्र हो । यो वडामा कांग्रेसका वडाध्यक्षका उम्मेदवार हरीबिलास कोइरालाले २३१९ मत पाए । माओवादी केन्द्रका भागिरथ तिमिल्सिनाले १४८० मत प्राप्त गरे । यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार बेदप्रसाद लामिछानेले ९०४ मत मात्रै पाए ।
यो वडाको गणितलाई हेर्दा एमाले वडाध्यक्ष उम्मेदवार लामिछाने भन्दा मेयरका उम्मेदवार ज्ञवालीले ५८४ मत बढी प्राप्त गरेका छन् । वडा नम्बर ६ बाट ज्ञवालीले १४८८ मत थपे । वडा नम्बर ६ बाट रेणुले २४५४ मत थपिन् । माओवादीले ल्याएको मतभन्दा रेणुले यहाँबाट ९९४ कांग्रेसको मत आफ्नो पक्षमा पारिन् ।वडा नः ६ पार हुँदासम्म देवी र रेणुको अग्रतान्तर ९७६ मा कमी आयो । यहाँबाट देवीले ७९३ मतको मात्रै अग्रता कायम गरे । वडा नं ६ बाट कांग्रेसको ४२ प्रतिशत मत रेणुले पाएको देखिन्छ । ६८०४ मतदाता रहेको यस वडामा ५१६५ मत खसेको थियो । रेणुलाई माथि उकास्न सहयोग गरेकोमा माओवादी वडाध्यक्ष उम्मेदवार भागिरथ तिमिल्सिनाले नेताहरुको वधाइ समेत खाएका छन् ।
एमालेले चुनौतीका रुपमा लिएको वडा नः ६ पार गरेर वडा नः ७ मा प्रवेश गर्दा देवीको मत १०६९० र रेणुको मत ९८९७ थियो । वडा नः ७ मा एमालेका देवीले १२३६ मत ल्याउँदा माओवादीकी रेणुले १८८० मत थपिन् । वडा नं ७ मा माओवादी केन्द्रका उम्मेदवार शिव भट्टराई ८५० मत ल्याएर तेस्रो भएका छन् । दोस्रो भएका कांग्रेसका उम्मेदवार श्याम लामिछानले १४८० मत ल्याए । यस वडाबाट कांग्रेसको १०३० मत माओवादीलाई गएको देखिन्छ । यहाँबाट कांग्रेसको झण्डै ७० प्रतिशत मत माओवादीकी रेणु दाहालले पाएको देखिन्छ । र, यही कारणले एमालेका देवीको अग्रता ७९३ बाट घटेर ५२९ कायम भयो ।
वडा नं ७ मा एमाले उम्मेदवार राजेन्द्रमणि काफ्ले १४९४ मत ल्याएर जित्दा देवीले एमालेभन्दा बाहिरको १२२ मत मात्रै अत्तिरिक्त प्राप्त गरे । जुन मत एमालेले अपेक्षा गरेको भन्दा धेरै कम हो । वडा नम्वर ७ बाट माओवादी उम्मेदवार रेणु दाहाललाई सन्तोषजनक मत आएको छ । अहिले वडा नः ८ को गणना जारी छ । यहाँ कांग्रेस र एमालेकै बीचमा नै प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसको अपेक्षाकृत मत वडा नः ७ मा नआएजस्तै वडा नं ८ मा पनि नआए एमालेलाई समस्या हुने देखिन्छ ।
-अनलाइन खबर बाट

3155
Shares

ट्रेन्डिङ