सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुरक्षाकर्मी र विद्रोहीबीच झडप : १५ जनाको ज्यान गयो

सुरक्षाकर्मी र विद्रोहीबीच झडप : १५ जनाको ज्यान गयो

3340
Shares
सुरक्षाकर्मी र विद्रोहीबीच झडप : १५ जनाको ज्यान गयो

श्रीलंका / श्रीलंकाको पूर्वी तटीय क्षेत्रमा सुरक्षाकर्मी र ‘संदिग्ध’ विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको ज्यान गएको छ । शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको प्रहरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् । झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाका प्रवत्ताले दाबी गरेका छन् । विद्रोही समूह सम्भवतः इस्लामिक स्टेट (आईएस) हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।

यसअघि गएको आइतबार इस्टर पर्वको अवसरमा भएको सिलसिलाबद्ध बम विस्फोटमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने ४ सय ५० बढी घाइते भएका थिए । सिलसिलाबद्ध बम विस्फोटको ६ दिनपछि सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको हो । गएको आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । विद्राेही समूहका लडाकुहरु लुकेर बसेका छन् भने एक जना हवलदारको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा दोहोरो भिडन्त भएको हो ।

जब सुरक्षाकर्मी विद्राेही समूहका लडाकु लुकेर बसेको घरमा पसे, घरभित्रबाट फायरिङ भयो । प्रहरीका अनुसार एक आत्मघाती लडाकुले विस्फोट गराएका हुन् । छापा मार्ने काम अहिले पनि जारी छ र यो घटनामा सशस्त्र बलका कुनै पनि जवानको हताहत नभएको प्रहरीले बताएको छ । यसैबीच श्रीलंकाको क्याथोलिक चर्चले आइतबार हुने प्राथना अनिश्चितकालको लागि बन्द गरेको बीबीसीले जनाएको छ । फेरि पनि आक्रमणको चेतावनी आएकाले अनिश्चितकालको लागि प्राथना स्थगित गरिएको हो ।

3340
Shares

ट्रेन्डिङ