सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बेथानचोक गाउँपालिकाले पर्यटकलाई फर्काए

बेथानचोक गाउँपालिकाले पर्यटकलाई फर्काए

8515
Shares
बेथानचोक गाउँपालिकाले पर्यटकलाई फर्काए
  • मछिन्द्र कुमार लामा

काभ्रे,जेष्ठ १ / कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई रोकथाम गर्न नेपाल सरकारले २०७६ चैत्र ११ देखी सुरु गरेको लकडाउनले आज ५१औं दिन पार गरेको छ । लकडाउनको अवधिमा अती आवश्यक काम बाहेकका घर बाहिर निस्कन निषेध गरिएको छ । जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेको एउटा मात्रै राम्रो काम हो । अघिल्लो एक साता लकडाउनलाई सरकारले केही खुकुलो गरेको थियो । जसका कारण काठमाडौं आफैं भयमा बाँच्न बाध्य भएको छ । विकास निर्माणका कार्यहरु, सरकारी अड्डा, बैंक तथा वित्तीय संस्थालगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू आंशिक खुला गर्ने निर्णय गरेको थियो । स्थानीय मठ, मन्दिर, सामुहिक पूजा–अर्चना, जात्रा सम्पूर्ण स्थगन गरिएको थियो । पछिल्लो समय कोभिड–१९ को संक्रमितको संख्या द्रुत गतिमा बढेपछि एकाएका सरकार अत्तालिएको छ । यो समाचार तयार गर्दा सम्म २४६ जनालाई संक्रमण भएको पुष्टि भैसकेको छ ।

नेपाल सरकारले जारी गरेको लकडाउन ३४ दिन पुग्दासम्म जम्मा संक्रमित संख्या ३४ थियो । निको हुनेको संख्या १९ थियो । यहि तथ्यांकको आधारमा नेपाल सरकारले केही खुकुलो पारेको हुनुपर्छ । काभ्रेपलाञ्चोक जिल्लामा पनि सीमाको प्रवेशद्वारहरूमा कडाई गरी जिल्लाभित्र आजाउका लागि लकडाउन केही खुकुलो गरिएको थियो । तर घोषित रूपमा थिएन । यस अवधिमा काभ्रे जिल्लामा धार्मिक तथा पर्यटकीय क्षेत्रमा थोरै घुमफिर गर्नेको संख्या बढेको थियो । एकै ठाउँमा बस्दा बस्दा आकुलब्याकुल भैरहेको मान्छेहरुमा लकडाउनको खुकुलोपनाले केही राहातको महशुस भएको पनि थियो । पछिल्लो एकै दिन ८३ जनामा संक्रमण पुष्टि भैसकेको थियो । यसले संघिय सरकारसहित स्थानीय सरकारहरुमा एक किसिमको अन्योलको स्थिति सिर्जना भयो ।

बैशाख ३१ गते काभ्रे, बनेपा आशपासका केही बौद्धिक, धार्मिक आस्थामा विश्वास गर्ने व्यक्तित्वहरू वेथानचोक नारायणस्थान (३ हजार १८ मिटरको उचाइमा रहेको) को मन्दिरको दर्शनका लागि वेथानचोक आउनु भएको रहेछ । आउने क्रममा पार्थली भन्ज्याङमा मर्निङवाकमा निस्किएका स्थानीय विनोद तिमल्सीना र दिपेन्द्र ढकालसँग उहाँहरुको भेटघाट भएको रहेछ । विनोद तिमल्सीना नेपाली कांग्रेस काभ्रेका कार्यालय सचिव भएकै कारणले भ्रमण दलका सदस्यहरुसँग उहाँको राम्रै जानपहिचान थियो, यो अत्यन्त स्वभाविक पनि हो । ढुंखर्कको चारदोवाटोमासँगै चियापान गर्ने भन्दै टोली पार्थली भन्ज्याङबाट छुट्टिएछ र विनोद तिमल्सीना र दिपेन्द्र ढकाल हिड्दै गेल्डुङ बजार फर्किनु भएछ ।

भ्रमण दलले पार्थली भन्ज्याङबाट स्थानीय शिक्षक साथीहरू सिताराम लामा र पद्मनारायण तिमल्सिनासँग पनि सम्पर्क गरेको बुझिन्छ । स्थानीय नवराज तिमल्सिना भने बनेपा आशपासबाट आएको मित्रहरुको टोलीसँगै यात्रामा हुनुहुन्थ्यो । सातवटा मोटरसाइकल सहित गेल्डुङको चार दोवाटोमा चिया चमेनाको लागि रोकिए साथीहरु । चिया चमेना सँगै गरे । स्थानियको भनाइ अनुसार गाउँपालिका प्रमुख, वडा नं ३ का वडा अध्यक्ष र वडा नं २ का वडा सदस्यहरुज्यूबाट भ्रमण टोलीको सन्दर्भमा चासो व्यक्त गर्ने काम भयो । केही स्थानीयले वेथानचोक नारायण दर्शनको लागि स्थानीय विनोद तिमल्सिनासँग समन्वय गरी आउनु भएको रहेछ भनेर झुटो सूचना दिने काम गरेछन्, यो कुरा हावाजसरी एकाएक ढुंखर्कमा मात्र होइन, बनेपा, पनौती, धुलीखेलसम्म फैलियो । कसैले प्रहरी चौकीमा उक्त टोलीलाई रोक्न टेलिफोनबाटै अनुरोध गरे । स्थानीय प्रहरीहरूले वेथानचोक नारायणस्थान जाने प्रवेशद्वारमै रोक लगाउने काम गरे ।

स्थानीय विनोद तिमल्सीनालाई लकडाउनको अवधिमा हुलकाहुल साथीहरूलाई बोलाएको भनी सार्वजनिक स्थानमा बेथानचोकका प्रमुखसहित वडा अध्यक्ष र सदश्यले झपारे, गाली गरे । जवकि विनोद तिमल्सिनाले उहाँहरुलाई बोलाएको थिएन । विनोद निर्दोष थिए । एकाएक वातावरण केही समय असामान्य नै बन्यो । उता भ्रमण टोली भने प्रहरी चौकीसँग समन्वय गरी दर्शनका लागि अगि बढिसकेको थियो । पुनः स्थानीय युवाहरूलाई परिचालन गरी भ्रमण टोलीलाई बनेपा नै फर्कन बाध्य पारियो । उहाँहरु बनेपा फर्किनु भयो । यही बिषयलाई अत्यन्त सरल र मिठासपूर्ण ढंगले उहाँहरुलाई सम्झाउन सकिन्थ्यो, देशमा पछिल्लो समय कोरोना संक्रमितको संख्याहरू बढेको, वेथानचोक गाउँपालिकाले सूचना टास, प्रेश विज्ञप्तिमार्फत मठ मन्दिर प्रवेशमा रोक लगाएको जस्ता कुरा गरेर उहाँहरुको पनि सुरक्षा लागि हामीले लिएको निर्णयबाट पर्न गएको अप्ठ्यारोप्रति माफी चाहन्छौं भन्दै अहिले गेल्डुङ बजारसम्म मात्र स्वागत गर्न सक्यौं, लकडाउन खुल्ने बितिक्कै हजुरहरुलाई फेरी स्वागत गर्छाैं भनेको भए कस्को के बिग्रन्थ्यो र ?

दुखद् बिषय के हो भने बिषयवस्तु, घटनाको प्रकृति, सत्यतथ्यबारे बुझ्दै नबुझी सार्वजनिक स्थानमा विनोद तिमल्सिनामाथि अपमान गर्ने काम भयो । यो काम निन्दनीय छ । यो असामाजिक र अराजनीति कामको जति भत्सर्ना गरे पनि कम नै हुन्छ । अरुबाट आप्mनो सम्मान खोज्नेले अर्काको अपमान गर्न पाइदैन । के इज्जत, मान, प्रतिष्ठा शक्तिमा हुनेहरुको मात्र हुन्छ त ? बाटोघाटोमै पद प्रतिष्ठाको दुरुपयोग गर्न मिल्छ त ? आप्mना हजार कमजोरी नदेख्नेहरुलाई मैले त के भन्न सक्छु र तर तिमीहरुको पनि भविष्य सुरक्षित छैन चाहिं भन्नै पर्ने हुन्छ । सडकसडकमा अरुको अपमान गर्दा अपमान गर्नेको इज्जत बढ्दैन, घट्छ । किन कि आउने समय नै बलवान छ । त्यती संयमता पनि अपनाउन नसक्नेहरूले टोपीको घेरा फाटेका जनतालाई के न्याय दिन सक्लान् ? के मुस्कान सहितको सेवा प्रदान गर्न सक्लान् ? भन्ने लागेर वेथानचोक निबासीको नाताले दुःखी हुदै यति कलम चलाएँ, बढी नै भावनामा बगेको लाग्यो भने माफी पाउँ है ।

8515
Shares

ट्रेन्डिङ