सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

एमालेमा झनै तिक्तता

5700
Shares
एमालेमा झनै तिक्तता

चैत, ३ काठमाडौं । सत्तारूढ दल एमालेका नेताहरूबीच संवादहीनता तोडिए पनि आन्तरिक विवाद सहमतितर्फभन्दा विभाजनउन्मुख भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको संवाद तिक्त बन्यो ।

सहमतिका सूत्रभन्दा आ–आफ्ना अडान पेस गरेर दुवै पक्षका नेताहरूले विभाजनउन्मुख स्थितिलाई यथावत् राखेको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गर्दै एमाले वरिष्ठ नेता नेपालले राष्ट्रिय कार्यकर्ता भेला गर्ने पूर्वनिर्धारित कार्यक्रम नरोकिने र त्यसको तयारीमा लाग्न आफू पक्षका केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । नेपाल पक्षले चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

नेपाल पक्षीय नेताहरूले कार्यकर्ता भेलाको निर्णय गरेपछि ओलीले मंगलबार बालुवाटारमा केन्द्रीय कमिटी सदस्यहरूका लागि चियापानको कार्यक्रम गरिएको भन्दै सबै नेतालाई म्यासेज पठाएका थिए । तर नेपाल समूहले त्यो पनि बहिष्कार गर्ने बताएपछि ओलीले नेपाललाई भेट्न प्रस्ताव गर्दै सोमबार बिहान फोन गरेका थिए । नेपालले बालुवाटारमा एक्लै नभेट्ने बताएपछि ओली र नेपाल पक्षीय पदाधिकारीका बीच धुम्बाराहीमै संवाद भएको हो ।

छलफलपछि नेता नेपालले बैठकमा विभिन्न विषयमा छलफल भए पनि सकारात्मक हुन नसकेको बताए । ‘सुरुमा कुराकानी मीठो भयो, गुलिया कुराकानी भए, छुट्टिने बेलामा टर्रो भयो, हाम्रो भनाइ सर्वोच्च अदालतको फैसलापछि एमाले २०७५ जेठ २ अघिको अवस्थामा फर्कियो, पार्टीको संरचना यथावत् राखेर सबैले स्वीकार गर्न सकिने अवस्थामा जाऔं भन्ने रह्यो,’ उनले भने, ‘उहाँहरू मान्नुभएन । २८ गतेको उहाँहरूको गुटको भेलाबाट भएको भनिएको निर्णयमा कुरा मिलेन ।’

छलफलमा नेता नेपालले फागुन २८ मा प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षीय नेताहरूले गरेको भनिएको केन्द्रीय कमिटी बैठक र त्यसका निर्णय खारेज गर्नुपर्ने बताएका थिए । त्यसपछि ओलीले त्यो त बैठकको निर्णय हो, फिर्ता हुने कुरा हुँदैन, बरु तपाईंहरू बैठकमा किन आउनुभएन भनेर सोधेका थिए । नेपालले गुटको भेलामा आफूहरूलाई खबर नगरिएको बताएपछि ओलीले ‘ए लौ हो र ? खबर गएनछ ?’ भनेको बैठकमा सहभागी एक नेताले बताए ।

त्यसपछि ओलीले ७ गतेको केन्द्रीय कमिटी बैठकमा सहभागी भए २८ गतेको निर्णयबारे त्यहीं पुनर्विचार हुन सक्ने बताएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । ‘आज छलफल भयो, छलफल भयो भन्नेबाहेक अरू केही पनि भएन,’ नेम्वाङले कान्तिपुरसँग भने, ‘पार्टी एकता टुट्नु हुन्न, सबै मिलेर अघि बढ्नुपर्छ । सके त वामपन्थी नै एक हुनुपर्छ भन्ने सबैको कुरा रह्यो तर आ–आफ्नो अडान पनि यथावत् नै रह्यो ।’ विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।

5700
Shares

ट्रेन्डिङ