सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • काभ्रेको बनेपा नगरको प्रथम पटक शाखागत बार्षिक समीक्षा

काभ्रेको बनेपा नगरको प्रथम पटक शाखागत बार्षिक समीक्षा

1890
Shares
काभ्रेको बनेपा नगरको प्रथम पटक शाखागत बार्षिक समीक्षा

काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा पुरानो बनेपा नगरपालिकाले पहिलो पटक शाखागत बार्षिक समीक्षा सम्पन्न गरेको छ ।

२०३८ सालमा स्थापना भएको यो नगरपालिकाले पहिलो पटक आज यसरी शाखागत रुपमा आर्थिक वर्ष २०७९/८० को बार्षिक समीक्षा गरेको निकै लामो समय नगरपालिकामा काम गर्नुभएका कानून अधिकृत श्याम कृष्ण त्रिपाठीले बताउनुभयो ।

२०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनबाट मेयरमा निर्वाचित शान्ति रत्न शाक्य नेतृत्वको बनेपा सरकारले ल्याएको पहिलो बजेटको समीक्षाबाट शाखागत समीक्षाको थालिन गरिएको हो ।

यसरी शाखागत रुपमा पहिलो पटक समीक्षा गर्दा शाखा प्रमुखदेखि कर्मचारीसम्म अचम्मित परेका थिए । अधिकांश शाखा प्रमुखहरुले यसरी पहिलो पटक प्रगती प्रतिवेदन तयार पारेको बताए । आ–आफ्नो शाखाको प्रस्तुतीमा प्रमूख एवं शाखाका प्रतिनिधिले पहिलो पटक भएकाले कतै भुल भए माफि गर्न आग्रह गरे ।

यसअघिका वर्षहरुमा यस प्रकारको बार्षिक समीक्षा हुने गरेका थिएनन् । केही जनप्रतिनिधि र कर्मचारी मात्रै बसेर समीक्षा सकिन्थ्यो । यो पटक भने मेयर शान्तिरत्न शाक्यले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई नै आधिकारी रुपमा निमन्त्रण गरेर समीक्षाको नयाँ थिती बासाल्ने प्रयास गर्नुभएको छ ।

मेयर र उपप्रमुखलाई यसरी शाखागत रुपमा बार्षिक समीक्षा गर्दा प्रभावकारी हुन्छ भनेर उपाय दिने ब्यक्ति हुन् प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाई । चापागाईको यो उपाय यतिबेला नगरपालिकामा नयाँ थिती बनासल्ने आधार बनेको छ । चापागाईले नै नयाँ थिती बसाल्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।

‘मैले निर्वाचित भएर आएपछि सबै शाखाका प्रमुखहरुलाई तपाईहरुको प्रगति विवरण दिनुहोस् भनेको थिएँ । तर उहाँहरुले मानिरहनुभएको थिएन । म निर्वाचित भएर आएपछि यसअघि दुई जना प्रमुख प्रशासकीय अधिकृतसँग काम गरेँ । तर उहाँहरुले यसरी शाखागत प्रगति कहिल्यै खोज्नु भएन् ।’ मेयर शाक्यले भन्नुभयो ।

मेयर शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतीगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामी काभ्रे जिल्लाको पहिलो नगरपालिका हौँ ।

हामीले धेरै कुरा गर्नु छ । हामीलाई एउटा कुशल प्रशासक चालिएको थियो । अहिलेको प्रमुख प्रशासकीय अधिकृतबाट सुधारको सुरुवात भएको छ । नीतिगत रुपमा हामीले गर्नुपर्ने के–के हुन्, गर्न तयार छौँ । नगरपालिका सधै पहिलेकै जसरी चल्न सक्दैन । चल्न दिनु हुँदैन । किन भने हामी नयाँ ब्यक्ति आएका छौँ ।’ मेयर शाक्यको भनाई थियो ।

उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताउनुभयो ।

‘अहिले हामी नगरपालिकाको जिम्मेवार ठाउँमा छौँ । नगरबासीमा हामीले गर्ने सबै निर्णयको असर पर्छ । त्यसैले राम्रो कामका लागि गरिने सबै निर्णयहरुमा एकले अर्कोलाई साथ, सहयोग र समर्थन गर्दै अघि बढ्नुपर्छ । हामीले धेरै कुरा सुधार गर्न आवश्यक छ । साढे एक वर्ष बितिसक्यो, काम गर्ने दौरानमा कता के नमिले जस्तो आभाष भैरहेको छ ।’ उपप्रमुख सापकोटाले भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत चापागाईले कार्यक्रममा समस्या र समाधानका खाका प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार आज प्रस्तुत गरिएको शाखागत वार्षिक समीक्षाको एकीकृत प्रगति प्रतिवेदन सहित यही ३० गते सार्वजनिक सुनुवाईको आयोजना गरिनेछ ।

त्यो दिन नगरपालिकाको एकीकृत प्रगति प्रतिवेदन प्रस्तुत हुनेछ । ‘बढी भन्दा बढी नगरबासीको सहभागितामा हामी सार्वजनिक सुनुवाई गर्छौ । नगरबासीको सुझाव सुन्छौँ । कार्यान्वयनका लागि गर्नुपर्ने काम थालनी गर्छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत चापागाईको भनाई छ ।

वडा नम्बर १४ का वडा अध्यक्ष राम बहादुर कुँवरले बार्षिक समीक्षा अहिलेसम्म आफुले नसुनेको बताउनुभयो । ‘थुप्रै कार्यकारी प्रमुख फेरिएपनि यस्तो समिक्षा भएन । म दोस्रो कार्यकालका लागि निर्वाचित भएको हुँ । अहिलेसम्म यो खालको समीक्षा भएको जानकारीमा छैन् । अब चाहिँ सुधारको केही आशा पलाएको छ ।’ वडा अध्यक्ष कुँवरले भन्नुभयो ।

विषय गत समितिको बैठक समेत बजेट बन्नु भन्दा अघि मात्रै बस्ने गरेको वडा अध्यक्ष कुँवरको भनाई छ । उहाँले नगरपालिकाका शाखामा ब्यापक ढिला सुस्ती हुने गरेको भन्दै त्यसलाई तत्काल सुधार गर्न सुझाव दिनुभयो ।

बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५२ प्रतिशत मात्रै खर्च भएको छ । आगामी वर्ष पूँजीगत खर्चलाई बढाउन आवश्वक रणनीति र कार्यतालिका सहित काम गर्ने प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो ।

1890
Shares

ट्रेन्डिङ