सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कसरी फिर्ता भयो गृहमन्त्री निधिको राजीनामा ?

कसरी फिर्ता भयो गृहमन्त्री निधिको राजीनामा ?

4570
Shares
कसरी फिर्ता भयो गृहमन्त्री निधिको राजीनामा ?

राजीनामा दिएको चार दिनमै गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा फिर्ता भएको छ। लामो छलफलपछि बिहीबार बिहान निधि उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिन तयार हुनुभएको हो। गृहमन्त्री निधिको राजीनामा फिर्ता गर्न सत्तारुढ दलका शीर्ष नेताबीच पटकपटक छलफल भएका छन्। सुरुमा निधिले यसरी भएका कुनै पनि छलफलमा सहभागी हुन अस्वीकार गर्नुभयो। शीर्ष नेताका बैठक अस्वीकार गर्दै आउनु भएका निधिलाई कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले बुधबार बिहान १० बजे मन्त्री निवासमै भेट्नुभयो।
साउद र निधिको भेट करिब दुई घन्टाको छलफलपछि टुंगिएको थियो। सोही भेटकै क्रममा साउदीले सभापति शेरबहादुर देउवासँग फोन वार्ता गराउनु भएको थियो। साउदको पहलमा देउवासँग फोनमा कुरा भएपछि मात्र निधि सभापतिसँग प्रत्यक्ष कुराकानी गर्न सहमत हुनुभएको थियो। साउदकै पहलमा बुधबार साँझ देउवा र निधिबीच एक घन्टासम्म गोप्य वार्ता भएको थियो। सानेपामा भएको उक्त गोप्य वार्तापछि मात्र निधि राजीनामा फिर्ता लिन सहमत हुनु भएको हो। सोही विषयमा बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभापति देउवा र निधिबीच त्रिपक्षीय छलफल भएपछि निधिले राजीनामा फिर्ता लिने विषयले औपचारिकता पाएको हो।
सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले निर्वाचनको १० दिनअघि मात्र नयाँ गृहमन्त्री ल्याउँदा कसैलाई पनि फाइदा नहुने र बाहिर राम्रो सन्देश पनि नजाने बताएपछि निधिले राजीनामा फिर्ता लिएको स्रोतको दाबी छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का बहुमत सांसदले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदको सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराए लगत्तै आइतबार साँझ गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउनु भएको थियो।

4570
Shares

ट्रेन्डिङ