सबैको समाचार
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • प्राविधिक प्रतिवेदन अन्तिम चरणमा, डीपीआरको तयारी

प्राविधिक प्रतिवेदन अन्तिम चरणमा, डीपीआरको तयारी

6300
Shares
प्राविधिक प्रतिवेदन अन्तिम चरणमा, डीपीआरको तयारी

काठमाडौं, माघ २२ः अमलेखगन्ज–लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जनाएको छ । प्रतिवेदनका आधारमा थप काम अघि बढाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनलाई विस्तार गरी चितवनको लोथरसम्म ल्याइने छ ।

त्यहाँ भण्डारण पनि निर्माण गरिनेछ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे गरेको थियो । पाइप लाइन र जग्गाको सर्भे सकिएको छ । अब डीपीआर निर्माण प्रक्रियामा अघि बढ्ने निगमले जनाएको छ ।

निगमका अनुसार ६५ किलोमिटर लामो अमलेखगन्ज–लोथर पाइप लाइनको नक्साङ्कन गरिएको रुटको प्राविधिक अध्ययन गरिएको छ । नक्सा तथा लेआउटको काम सकिएको छ । डीपीआरलगायत आयोजनाको मोडालिटीबारे भारतसँग छलफल गरिने प्रवक्ता उपाध्यायले जानकारी दिए । लोथरमा एक लाख किलोलिटर पट्रोलियम पदार्थ भण्डारण गरिने छ ।

त्यस्तै, सिलगुढी–झापा पेट्रोलियम पाइप लाइन परियोजनाको प्राविधिक प्रतिवेदन पनि अन्तिम चरणमा रहेको छ । डिटेल इन्जिनियरिङ सर्भे सपन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन टोलीले सर्भे गरेको हो । सर्भेले झापाको चारआलीदेखि मेचीभन्सार हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइप लाइनको रुट पहिचान गरेको छ ।

पाइप लाइनबाट ल्याएको पेट्रोलियम पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । कुल ४१ हजार ६५० किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण निर्माण हुनेछ ।

१२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र १२ सय किलोलिटर हवाई इन्धन भण्डारण क्षमताको भण्डारण कक्ष निर्माण गरिने छ । यहाँ प्रदेश १ लाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थको भण्डारण हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

6300
Shares

ट्रेन्डिङ