काभ्रे : नेपाली कांग्रेस काभ्रेले जेठ ६ गते जिल्ला सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेसको विधानमा भएको व्यवस्था अनुसार नै सम्मेलन गर्न लागिएको नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तिर्थ लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बनेपास्थित बनेपा पार्टी भेन्यूमा हुने सम्मेलनको उद्धघाटन नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले गर्नुहुनेछ । १ सय ३५ वटै वडाबाट निर्वाचित करिब २५ सय क्षेत्रीय प्रतिनिधी सम्मेलनमा सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
२ सत्रमा हुने कार्यक्रमको बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनका साथै आगामी बर्षको कार्ययोजना प्रस्तुत हुनेछ । सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले तयारीको लागि विभिन्न समिति गठन गरेर जिम्मेवारी समेत तोकेको छ ।
सम्मेलनमा करिब ५ हजार कांग्रेस नेता कार्यकर्ता, शुभेच्छुक उतार्ने कांग्रेसको तयारी छ । २५ सय क्षेत्रीय प्रतिनिधीका अलावा, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, कांग्रेस कृयाशिलका साथै लोकतन्त्रवादीहरुको सहभागिता रहने काभ्रे कांग्रेसले जनाएको छ ।
बैठकले बांकी रहेका वडा र स्थानीय तहको सम्मेलन तत्काल सम्पन्न गर्न पनि निर्देशन दिएको छ । नेपाली कांग्रेस काभ्रेको स्वास्थ्य शाखाले सोही कार्यक्रममा रक्तदान आयोजना गरेको छ ।