सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ठूला सवारीलार्इ चक्रपथ छिर्न रोक

ठूला सवारीलार्इ चक्रपथ छिर्न रोक

2585
Shares
ठूला सवारीलार्इ चक्रपथ छिर्न रोक

काठमाडौं, २८ असार । सवारीजामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो निर्णय गरेको छ । निर्णयलाई बुधबारदेखि कार्यान्वयन गरिने यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।
चक्रपथमै सवारी जामको उच्च समस्या भएकाले कलंकी, नारायणगोपाल चोक, गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्खो, सातदोबाटोलगायत क्षेत्रमा लामो समय जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले दिनचर्यामै प्रभाव परेको प्रवक्ता पाण्डेको भनाइ छ । चक्रपथभित्र ट्रक, टिप्पर र मिनिट्रक बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने व्यवस्था पनि कायमै राखिएको छ । ट्रक तथा टिप्पर व्यवसायी, यातायात व्यवसायीको सहमतिमै गरिएको निर्णय भएकाले कार्यान्वयनमा सहज हुने विश्वाससमेत विभागले लिएको छ ।
चक्रपथमा करिब ११ लाख सवारीसाधन गुड्दै आएको र यसमा करिव ३० प्रतिशत ट्रक र टिप्पर रहेको विभागको भनाइ छ । विभागको तथ्यांकअनुसार बाग्मती अञ्चलमा मात्र हालसम्म १९ हजार चार सय ४० ट्रक दर्ता भएका छन् भने दुई हजार नौ सय आठ ट्र्याक्टर र पावरटिलर दर्ता भएका छन् ।
बुधबारदेखि बिहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा चल्न रोक लगाएकाले सवारी जाममा सुधार हुने विभागको भनाइ छ ।
अब २९ दशमलव दुई किलोमिटरको चक्रपथमा बिहान कार्यालय समय र बेलुकी कार्यालयबाट फर्कने बेला ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने विभागले जानकारी दिएको छ । बुधबारदेखि चक्रपथमा तोकिएको समयमा यी गाडी भित्रिए या सञ्चालन भए ट्राफिक प्रहरीले कारबाही गर्ने जनाएको छ । यता, सवारी जामको मुख्य कारण बनेको लामो दूरी चल्ने बस कोटेश्वर हुँदै कलंकी घुम्ने गरेको पाइएको भन्दै १ साउनदेखि बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णयसमेत भएको छ । उपत्यकाको सवारी जामलाई व्यवस्थापनमा सुधार गर्न पुरानो बसपार्कबाट छुट्ने बस पनि सिधा आफ्नो रुटबाटै जानुपर्ने व्यवस्था सुरु गर्ने तयारी गरेको विभागको भनाइ छ ।

2585
Shares

ट्रेन्डिङ