सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कोरोनाभाइरस खोपः इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको खोप

कोरोनाभाइरस खोपः इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको खोप

5310
Shares
कोरोनाभाइरस खोपः इटलीले रोक्यो अस्ट्रेलिया पठाउन लागिएको खोप

बीबीसी । इटली सरकारले कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोप अस्ट्रेलिया पठाउन रोकि दिएको छ ।

उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ ।

युरोपेली सङ्घ (ईयू) को नयाँ नियम प्रयोग गर्दै कदम चाल्ने इटली पहिलो युरोपेली देश बनेको छ ।

उक्त नियममा यदि कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ ।

अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ ।

इटलीको कदममा युरोपेली आयोगको साथ रहेको समाचारहरूमा जनाइएको छ ।

आस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रहरूलाई उपलब्ध गराउने चरणमा छ ।

उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ ।

ज्यानुअरी महिनामा इटलीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको व्यापक आलोचना भइरहेको छ ।

गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो ।

इटलीको कदमबारे ईयू र आस्ट्राजेनेकाको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन ।

अस्ट्रेलियाले गत सातादेखि फाइजररबायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ ।

आस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो ।

अस्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ ।

त्यहाँका स्वास्थ्यमन्त्रीले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताएका छन् ।

आफूले चालेको कदम प्रकाश पार्ने क्रममा इटली सरकारले अस्ट्रेलिया जोखिममा रहेका देशमा नपर्ने बताउँदै ईयू र इटलीमा खोपको स्थायी अभाव रहेको जनाएको छ ।

5310
Shares

ट्रेन्डिङ