सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको पनौतीमा विश्व मधुमेह दिवस मनाइयो

काभ्रेको पनौतीमा विश्व मधुमेह दिवस मनाइयो

5145
Shares
काभ्रेको पनौतीमा विश्व मधुमेह दिवस मनाइयो

काभ्रे : विश्व मधुमेह दिवसको अवसरमा आइतबार पनौतीमा निःशुल्क मधुमेह जाँच शिविर तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा रोटरी क्लब अफ पनौती र रोट्¥याक्ट क्लब अफ पनौतीको सह–आयोजना तथा उलक्स डाइट पाथको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

शिविरमा १ सय भन्दा बढी स्थानीयको ब्लड सुगर र रक्तचापको जाँच गरिएको रोट्¥याक्ट क्लब अफ पनौतीका अध्यक्ष आशुतोष केसीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘नोभेम्बर १४ तारिखका दिन संसारभर मनाइने यो दिवसलाई रोट्¥याक्ट क्लबले विगतदेखि नै मनाउँदै आएको छ । यो वर्ष त मधुमेहको उपचारमा प्रयोग हुँदै आएको इन्सुलिनको आविष्कार भएको १ सय वर्ष पुरा भएकोले पनि विशेष रहेको हो’, उहाँले थप्नु भयो ।

पनौतीका नगर प्रमुख भीम न्यौपानेले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पछिल्लो समय नसर्ने रोग हुँदाहुँदै पनि बदलिँदो रहनसहसन, जीवनशैली र खानपानले मधुमेह रोगले बिस्तारै युवावर्गलाई समेत गाँज्दै रहेको सन्दर्भमा नगरपालिकाको कार्यक्रमलाई रोटरी र रोट्¥याक्टजस्ता संस्थाहरुले सहकार्य गरेर जनस्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएको बताउनु भयो ।

रोटरी क्लब अफ पनौतीका अध्यक्ष इन्जिनियर सितु सैंजुले नेपालजस्ता विकासोन्मुख देशका नागरिकहरू नसर्ने रोगहरूमध्ये मधुमेह रोगबाट बढी प्रभावित हुन थालेकाले बेलैमा सचेत भएर खानपीनमा ध्यान दिने हो भने रोग लाग्नबाट बच्न सकिने बताउनु भयो ।

पछिल्ला वर्षहरूमा नसर्ने एवं खर्चिलो रोगका रूपमा मधुमेह देखा परिरहेको तथ्यलाई प्रकाश पार्दै पनौती नगरपालिका, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले भन्नु भयो, ‘पछिल्लो समय बिरामी संख्याका हिसाबले पनि नसर्ने रोगमध्ये मधुमेह बढ्दै रहेको प्रमाणित हुन थालेको छ । मधुमेहबारेमा जनचेतना वृद्धि गर्नुका साथै यसका बिरामीहरूलाई नियमित उपचारबारेमा जानकारीका लागि रोटरी र रोट्¥याक्ट क्लबसँग सहकार्य गरेका हौं’, उहाँले थप्नु भयो ।

पोषणविज्ञ एवं उलक्स डाइट पाथकी प्रबन्ध निर्देशक नमूना उलकले कार्यक्रममा मधुमेहबाट बच्नका लागि खानपीनमा दिनु पर्ने ध्यानबारे जानकारी दिनु भएको थियो । उहाँका अनुसार मधुमेह रोगभन्दा पनि खानपान र जीवनशैलीको उचित व्यवस्थापन नहुँदा निम्तने शारीरिक समस्या भएकाले यसबारेमा बेलैमा सोच्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य रामहरि सुवेदी, पनौती वडा नं ४ का वडाअध्यक्ष बुद्धसिंह थापा, वडा नं ९ का वडाध्यक्ष सहकुलकुमार हुमागाईं, केयु स्कूल अफ मेडिकल साइन्सेजका प्राध्यापक एवं स्त्री तथा प्रसूति विशेषज्ञ डा. सुमनराज ताम्राकार, रोटरी क्लब अफ पनौतीका निर्वाचित अध्यक्ष मधुसुधन गुरागाईं, इन्ट¥याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी पूर्व अध्यक्ष सदिश्मा केसी, निवर्तमान अध्यक्ष जया मग्रान्तीलगायत रोटरी, रोट्¥याक्ट र इन्ट¥याक्ट क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

5145
Shares

ट्रेन्डिङ