सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पाँच विकेटले हार्‍यो नेपाल

पाँच विकेटले हार्‍यो नेपाल

470
Shares
पाँच विकेटले हार्‍यो नेपाल

काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो ।

टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने २५.२ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

बंगलादेशको जितमा ओपनर ब्याट्सम्यान सिजन आलमले अर्धशतकीय पाली खेले । उनले ५५ रन बनाए । उनले केवल ४३ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान अरिफुल इस्लामले पनि अविजित ५९ रनको योगदान गरे ।

आक्रामक रुपमा प्रस्तुत भएका अरिफुल इस्लामले ३८ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । नेपाली टोलीका बलर सुवाष भण्डारी एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा ४४ रन खर्चिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि विशालबिक्रम केसीले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । उनले एक सय बलको सामना गरी ६ चौका पनि हिर्काए । कप्तान देव खनालले पनि टोलीको खातामा ३५ रन थपे । उनले ६० बलको सामना गरी तीन चौका हिर्काएका थिए ।

सुवाष भण्डारी १८ रनमा अविजित रहे । ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४ रन बनाएका थिए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालले अतिरिक्त रुपमा पनि ३१ रन पाएको थियो ।

बंगलादेशी टोलीका बलर रोहान्त बोर्सनले चार विकेट लिए । उनले ८.५ ओभरमा दुई मेडन राख्दै १९ रन खर्चिएका थिए । शेख परवेज जिबोनले पनि तीन विकेट हात पारे । उनले १० ओभरमा दुई मेडन राख्दै ३४ रन खर्चिए ।

‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेश दुबैले आफ्नो पहिलो खेल खेलेका हुन् । बंगलादेशको सेमिफाइनलमा प्रवेश गर्ने सम्भावना जिवितै छ भने नेपाल ‘सुपर सिक्स’ चरणमा पहिलो खेल खेल्नुअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

‘सुपर सिक्स’ चरणको मंगलबार सम्पन्न खेलको नतिजापछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । मंगलबार खेलिएको खेलमा भारतले न्युजिल्यान्डलाई दुई सय १४ रन र पाकिस्तानले आयरल्यान्डलाई तीन विकेटले हराएका थिए । भारत, पाकिस्तान, बंगलादेश, न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड ‘सुपर सिक्स’ चरणको समूह ‘एक’ मा छन् ।

उक्त समूहबाट भारत, पाकिस्तान र बंगलादेशमध्ये दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । भारत ६ अंकसहित पहिलो, पाकिस्तान पनि ६ अंकसहित दोस्रो, बंगलादेश चार अंकसहित तेस्रो र न्युजिल्यान्ड दुई अंकसहित चौथो स्थानमा छन् । पाँचौँ स्थानमा आसिन नेपाल र छैटौँ स्थानमा आसिन आयरल्यान्डले खाता खोल्न सकेका छैनन् ।

न्युजिल्यान्ड, नेपाल र आयरल्यान्ड भने उपाधि होडबाट बाहिरिएका छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई–दुई खेल खेल्ने छन् । नेपालले दोस्रो खेल भारतसँग खेल्नेछ । आफ्नो दुबै खेलमा विजयी भए पनि नेपाली टोलीको चार अंकमात्र पुग्नेछ ।

470
Shares

ट्रेन्डिङ