सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • पनौतीको चामखरमा पर्यटकको चहलपहल

पनौतीको चामखरमा पर्यटकको चहलपहल

675
Shares
पनौतीको चामखरमा पर्यटकको चहलपहल

काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यू प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।


अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूलढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा) । वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्कनुभएका उहाँले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लाग्नुभएको हो ।

स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उहाँले बताउनुभयो । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सक्नुभएका उहाँले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताउनुभयो । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उहाँको भनाइ छ ।

विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उहाँले सुनाउनुभयो । करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँचजनालाई रोजगार दिनुभएको छ ।

थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाउनुभएका मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताउनुभयो । “गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,” उहाँले भन्नुभयो, “सुरुमा भनेजस्तो सेवासुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।” अहिले सो रिसोर्टमा उहाँसँगै अन्य चारजनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो ।

रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्नवस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उहाँले बताउनुभयो । पाँचवर्षे योजना बनाएर काम गरिरहेको बताउने उहाँले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाउनुभयो ।

उहाँ पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउनुहुन्छ । त्यहीँ पुगेर बस्न चाहनेका लागि चारवटा कोठा रहेका छन्भने सामूहिक रुपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उहाँले बताउनुभयो । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् ।

रासस

675
Shares

ट्रेन्डिङ