सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदैछ : ओली

संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदैछ : ओली

2725
Shares
संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र हुँदैछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानको आज कञ्चनपुरको भीमदत्तनगरमा समापन गर्दै नेता ओलीले कुनै पनि बहानामा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय एकता र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्दै अध्यक्ष ओलीले सङ्क्रमणकाल टुङ्गिन नदिन र विभिन्न जातीय, वर्गीय नाउँमा वैमनश्यता फैलाउन तत्वसमेत सक्रिय रहेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले सिमानामा भारतीयले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउँदै भन्नुभयो, “गोविन्द गौतमको हत्याको विषयमा भारतले माफी माग्नुपर्छ ।”
नेता माधवकुमार नेपालले तीन वटै तहको निर्वाचन नभए संवैधानिक सङ्कट आउने बताउनुभयो । निर्वाचन हारजितको विषय नौलो होइन भन्दै उहाँले लामो समयदेखि निर्वाचन नहुँदा विकास निर्माण प्रभावित हुनाका साथै स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेको बताउनुभयो । भारतीय एसएसबीले गौतमको हत्या गरेको विषयमा सरकारले कूटनीतिक पहल नगरेको आरोप पनि उहाँले लगाउनुभयो । ‘
महासचिव ईश्वर पोखरेलले संविधान संशोधन आवश्यक नरहेको धारणा राख्नुभयो । संविधान संशोधन गरेर कसको सेवा गर्न खोजिएको हो भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “यसको जवाफ सत्तारुढ नेपाली कांँग्रेस र नेकपा(माओवादी केन्द्र)ले दिनुपर्छ ।” संविधान कार्यान्वयन र निर्वाचन गर्न नदिन षड्यन्त्र भइरहेको जनाउँदै नेता पोखरेलले त्यसको खबरदारी एमालेले गर्ने बताउनुभयो ।
कार्यक्रममा एक साताअघि भारतीय सीमा सुरक्षा बल(एसएसबी) को गोली प्रहारबाट सहादत प्राप्त गर्नुभएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई एमालेले रु पाँच लाख सम्मानस्वरुप प्रदान गरेको छ ।
सम्बोधनका क्रममा सहिद गौतमको सम्मानस्वरुप नेता ओलीले रु पाँच लाखको चेक र गौतमका छोरीलाई एक थान ल्यापटपसमेत प्रदान गर्नुभयो । उक्त चेक र ल्यापटप एमाले जिल्ला अध्यक्ष तथा पुनर्वासका बासिन्दा तारा लामा तामाङलाई हस्तान्तरण गरिएको थियो । रासस

2725
Shares

ट्रेन्डिङ