सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ५० शय्याको गुल्मी जिल्ला अस्पतालमा ५ जना डाक्टर

५० शय्याको गुल्मी जिल्ला अस्पतालमा ५ जना डाक्टर

3515
Shares
५० शय्याको गुल्मी जिल्ला अस्पतालमा ५ जना डाक्टर

१३ भदौ, काठमाडौं । जिल्ला अस्पताल गुल्मीलाई स्तरबृद्धि गरी १५ बाट ५० शय्या बनाइएको छ । तीन वर्षअघि स्तरबृद्धि गरेर १६ जना चिकित्सकको दरबन्दी तोकिएको जिल्ला अस्पतालमा अहिले ५ जनामात्र डाक्टर कार्यरत छन् ।

विरामीको चाप बढ्दै जाने तर डाक्टरहरुको दरबन्दी नबढ्दा अस्पताल र सेवाग्राहीलाई समस्यामा परेको अस्पताल विकास समितिका अध्यक्ष बिनोद प्रसाद पाण्डेयले बताए ।

‘दरबन्दी र भौतिक पुर्वाधार सुविधा १५ शय्याकै छ, तर सरकारले ५० शय्या बनायो,’ उनले भने, ‘अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट ३० शय्याको बनाएको छ ।’

अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन । विशेषज्ञ डाक्टरको दरबन्दी पनि खाली छ । सरकारले जम्मा चार जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जन डाक्टर पठाएको चौधरीले बताए ।

लामो सयमदेखि निक साइमन इन्टिच्युट काठमाण्डौले पठाएका एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगरले सेवा दिइरहेका थिए । तर उनको पनि सरुवा भएको छ । तीन वर्ष अघि ५० शय्याको अस्पताल घोषणा भए पनि औषधि उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन चौधरीले बताए ।

जिल्ला अस्पताल तम्घासलाई राम्रो बनाउन धेरै प्रयास भैरहेको भएपनि सोचे जस्तो सफलता प्राप्त नभएको पुर्व अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापाले बताए । ‘जिल्ला अस्पताल तम्घासमा केन्द्रबाट डाक्टरहरु आउनै मान्दैनन्, आएपनि धेरै समय बस्दैनन’ उनले दुखेसो पोखे, ‘उनीहरुका लागि अरु अवसरहरु पनि कम छन् ।’

जिल्ला अस्पताल तम्घासलाई थप सुविधा सम्पन्न गराउँदै विशेषज्ञ सेवा प्रदान गर्ने गरि योजना बनाइएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । ‘मैले पहिलेदेखि नै अस्पतालको समस्या बुझेको छुु, अहिले काम गर्ने मौका जनताले दिए’, उनले भने, ‘जनताकै उपचार गर्ने अस्पताल बिगि्रन दिने छैन् ।’

साथै हरेक वार्डमा गर्भवती महिलाका लागि बर्थिङ सेन्टर स्थापना गर्दै भएका स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने पनि भुसालले बताए ।

जिल्ला अस्पतालमा छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका बिरामीसमेत उपचारका लागि आउँछन् । जसका कारण अस्पतालमा सेवाग्राहीको चाप निकै हुने गर्दछ । दैनिक दुई सय जना सम्म विरामीको स्वास्थ्य चेकजाँच हुने अस्पतालको रेकर्ड छ । गाउँबाट सामान्य चेकजाँच गर्न जिल्ला अस्पताल तम्घास आएपनि एक रात होटलमै बस्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । ‘१० बजे आएपछि दुई घण्टा लाइनमा कुर्नुपर्छ, चेक गर्दागर्दै दुई बज्छ,’ इस्मा गाउँपालिका ३ का केयरसिंह खड्काले भने,’ जिल्ला अस्पताल नामको मात्रै भयो ।’

जम्मा वार्षिक तीन लाखको भरमा चलेको त्यस अस्पतालमा गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधि पुर्‍याइएको सुपरिटेण्डेन्ट चौधरीले जानकारी दिए ।

विरामी मात्र होइन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढ्दो छ । गएको आर्थिक बर्षमा महिला पुरुष गरी करिव २५ हजारले ओपिडी सेवा लिएका छन् भने पाँच हजारले इमरजेन्सी तथा दुई हजारले इन्डोर सेवा लिएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

त्यस्तै सामान्य, जटिलयुक्त र शल्यक्रिया करिव आठ सय जनाले प्रसुति सेवा लिएका छन् । तीन सय जनाले नियमित गर्भवती परिक्षण गराएका छन् ।  अनलाईन खबर बाट

3515
Shares

ट्रेन्डिङ