सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दुई वर्ष भित्र वीरगन्जलाई हेर्न लायक बनाउन सकिने

दुई वर्ष भित्र वीरगन्जलाई हेर्न लायक बनाउन सकिने

6045
Shares
दुई वर्ष भित्र वीरगन्जलाई हेर्न लायक बनाउन सकिने
  • सुनिल श्रेष्ठ

वीरगन्ज — नेपालको प्रमुख आर्थिक तथा व्यापारिक नगरी वीरगन्जलाई सुन्दर र व्यवस्थित बनाउने अभियान प्रारम्भ गरिने भएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घको सभा हलमा आज आयोजित कार्यक्रममा वीरगन्जलाई सुन्दर र व्यवस्थित बनाउने अभियान सुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो । वीरगन्ज उद्योग वाणिज्य सङ्घ, बैङ्कर्स एसोसिएसन, जबाफदेहीताका लागि हाम्रो अभियान, वीरगन्ज युवा समाज, सानो पाइला, भोलिन्टियर ग्रुप लगायत ४१ वटा सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू अभियानमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

अभियान अन्तरगत कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि विविध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्सामा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्ने समुदाय प्रहरी साझेदारीमा अभिवृद्धि गर्ने, सरोकारवालालाई नै जिम्मेवार बनाउने, अपराध अनुसन्धान, तथा रोकथाम नियन्त्रण गर्ने र आपराधिक गतिविधिको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन समुदायलाई नै जिम्मेवार बनाउने, महिला तथा बालबालिका एवं अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यक्रम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

अभियान अन्तरगत पहिलो चरणमा, वीरगन्जको फुटपाथ, सडक, फलफूल तथा तरकारी बजार व्यवस्थित गरिने, स्वास्थ्य तथा अन्य सुरक्षा सचेतनामूलक कार्यक्रम गर्ने, सिसिटिभी जडान र विस्तार गर्ने, लागू पदार्थको ओसारपसार, दुर्व्यसन नियन्त्रणका लागि आवश्यक कदमहरू चाल्ने लगायतका कामलाई प्राथमिकतामा राखिएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो । कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले आम नागरिक समाजको साथ पाए सुन्दर र व्यवस्थित वीरगन्ज अभियान सफल हुने र दुई वर्ष भित्र वीरगन्जलाई हेर्न लायक बनाउन सकिने दाबी गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले वीरगन्जको विकास र सौन्दर्यीकरणको लागि उद्योगी व्यवसायिहरुको सधैँ साथ र सहयोग रहने बताउँदै नगर क्षेत्रमा सिसिटिभी क्यामरा जडानका लागि उद्योग वाणिज्य महासङ्घ थप सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्जका प्रमुख कमलराज पण्डितले वीरगजको मुख्य समस्या मेन रोडमै गरिने अव्यवस्थित पार्किङ भएको हुँदा यस तर्फ महानगरपालिका, जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयास जारी रहेको र व्यवस्थित पार्किङको लागि ठाउँको छनोट समेत भई सकेको जानकारी दिनुभयो । कार्यक्रममा वीरगन्जका विभिन्न सामाजिक तथा गैर सरकारी सङ्घ संस्थाका प्रतिनिधिहरू, युवा,व्यवसायी, सञ्चार कर्मी लगायतको उपस्थिति रहेको थियो ।

6045
Shares

ट्रेन्डिङ