सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • उपत्यकाका सांसदहरु आ’क्रोसित

उपत्यकाका सांसदहरु आ’क्रोसित

4860
Shares
उपत्यकाका सांसदहरु आ’क्रोसित

काठमाडौं, ११ भदाै । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आ’क्रोश पोखेका छन् ।

काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० सांसदले कोरोना महामारी नियन्त्रणका पक्षमा सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको भन्दै आ’क्रोश पोखेका हुन् ।

कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तव्रि रूपमा बढ्दै जाँदा समेत न्यूनीकरण र रोकथामको तयारीलाई तीव्रता दिन नसकेको र पटक पटक दिइएको सुझावलाई समेत बेवास्ता गरेको बताए । ‘संक्रमणको गति जुन रूपबाट तीव्र गतिमा अघि बढिरहेको छ, त्यो गतिमा सरकार पक्षको तयारी अघि बढेको देखिएको छैन, संक्रमित बढ्दै जाँदा सरकार झनै सुस्ताएको जस्तो देखिँदै छ,’ सांसद थापाले भने ।

उनले काठमाडौंमा कोरोनाबाट संक्रमित भएकाहरूका लागि राख्न तत्कालै १० हजार आइसोलेसन बेड तयार गर्नुपर्ने, संक्रमितहरूलाई छुट्टै राखिनुपर्ने, संक्रमितको सम्पर्कमा रहेकाहरूको ट्रेसिङ तत्काल गरिनुपर्नेलगायतका सुझाव सरकारलाई पटक पटक दिइएको भए पनि सुनुवाइ खासै नभएको बताए ।

नेकपा सांसद शशि श्रेष्ठले कोरोना महामारी नियन्त्रणतर्फ केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच ठीकसँग संयोजन नभएको बताइन् । ‘यो महामरीका बेला केन्द्र, प्रदेश र स्थानीय सरकारबीच जुन संयोजन आवश्यक थियो, त्यो देखिएन, महामारीमा सरकारलाई जिम्मेवार बनाउन अब संयुक्त दलीय संयन्त्र बनाउन दबाब दिनुपर्छ,’ सांसद श्रेष्ठले भनिन् ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले संक्रमितको संख्या बढ्दै गएको वर्तमान अवस्थामा निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाइनुपर्ने बताए । ‘निर्वाचन क्षेत्र विकास कोषको रकमबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउनेतर्फ सरकारको ध्यान जाओस्, सम्बन्धित क्षेत्रको सांसद त्यसको इनिसियसन लिन तयार रहौं,’ प्रधानले भने ।

नेकपा सांसद राजेन्द्रप्रसाद श्रेष्ठले महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा नसुनेको र प्रदेश सरकारलाई समेत केन्द्र सरकारले जिम्मेवारीविहीन अवस्थामा राखेको बताए । उनले तीनै तहको बीचमा जिम्मेवारी बाँडफाँट गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने बताए ।

‘महामारीको वर्तमान समयमा केन्द्र सरकारका मन्त्री र प्रधानमन्त्रीले सांसदको कुरा सुनेनन् र सुन्नेतर्फ ध्यान नै दिएनन्, प्रदेश सरकारलाई समेत केन्द्र सरकारले जिम्मेवारीविहीन अवस्थामा राख्यो,’ सांसद श्रेष्ठले भने ।

कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले सरकारले कोरोना महामारीका सन्दर्भमा आफ्नै दलका नेता, आफ्नै दलबाट निर्वाचित जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको बताए ।

‘यहाँ साथीहरूले धारणा राख्दै हुनुहुन्छ, सरकारले कोरोना महामारीका सन्दर्भमा आफ्नै दलका नेता, आफ्नै दलबाट निर्वाचित जनप्रतिनिधि र आफ्नै दलबाट प्रतिनिधित्व गर्ने संसदीय समितिको सभापतिको समेत कुरा नसुनेको अवस्था देखिँदै छ, यो गलत हो,’ उनले भने ।

नेकपा सांसद जीवनराम श्रेष्ठले संक्रमितलाई राख्न होम आइसोलेसन उपयुक्त नभएको भन्दै सरकारले नै संस्थागत रूपमा आइसोलेसन बेड तयार गर्नुपर्ने बताए । उनले समयमै रिपोर्ट नआउने अवस्थामा समेत सरकार जिम्मेवार बन्नुपर्ने र सोही कारण नै संक्रमितको संख्या झनै बढ्दो अवस्थामा गइरहेको बताए ।

कांग्रेस सांसद राजन केसीले सरकारले उपत्यकाका सांसदहरूको गुनासो तथा सुझाव नसुनेको भन्दै उपत्यकाका सांसदहरूको साझा फोरम बनाएर दबाब सिर्जना गर्नुपर्ने बताए । ‘सरकार अलमलमा प-यो, सरकारले सांसदको गुनासो र सुझावलाई सुन्न सकेन, उपत्यकाका सासदहरूको साझा फोरम बनाएर दबाब सिर्जना गरौं,’ सांसद केसीले भने ।

नेकपाकी सांसद रामकुमारी झाँक्रीले सरकारको मानसकिता नै नसुन्ने र सुने पनि व्यवहारमा लागू नगर्नेतर्फ केन्द्रित रहेको बताइन् । ‘मुलुक भयावह अवस्थातर्फ अघि बढ्दै छ, सरकार सुन्दैन, सुने पनि व्यवहारमा लागू गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म नै नसुन्ने प्रवृत्तिबाट अघि बढिरहेका छन्,’ झाँक्रीले भनिन् ।

कांग्रेस सांसद प्रधानको पहलमा भएको उपत्यकाका सांसदहरूको छलफलमा नेकपा सांसद कृष्ण राई, बिन्दा पाण्डेसहितले कोरोना महामारीका सन्दर्भमा उपत्यकामा सरकारी पक्षबाट भइरहेका कामका विषयमा आआफ्नो धारणा राखेका थिए ।

सांसदहरूबीचको छलफलपछि प्राप्त सुझावलाई एकीकृत गरी सरकारका मन्त्री, प्रधानमन्त्री र स्थानीय तहका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराइने सांसद प्रधानले जानकारी दिए ।

प्रधानले सुशील कोइराला प्रधानमन्त्री हुँदा समेत उपत्यकाका सांसदहरूको साझा संयन्त्र रहेको र सोही संयन्त्र ब्युँताएर उपत्यकाको समस्या समाधान गर्नेतर्फ सबै सांसद अब एकताबद्ध र एकीकृत भएर अघि बढ्ने समेत जानकारी दिए । महेश्वर गाैतमले राजधानी दैनिकमा खबर छापेकाे छन् ।

4860
Shares

ट्रेन्डिङ